झापा । कांग्रेसले देशभरका ७५३ वटै पालिकामा १५ दिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
आउँदो स्थानीय चुनावमा लक्षित गर्दै केन्द्रीय नेताहरूलाई पालिकाहरूमा पठाइने र हरेक पालिकाले सामाजिक परियोजना अघि बढाउने जानकारी सभापति गगन थापाले दिएका हुन् ।
अहिलेका लागि तय गरिएको १५ दिने अभियानमा ७५३ वटै पालिकामा पार्टीका केन्द्रीय सदस्यहरू खटिनेछन् । अभियानमा केन्द्रीय समितिका वर्तमान साथीहरू, पूर्व तथा निवर्तमान केन्द्रीय समितिका साथीहरू, पूर्व केन्द्रीय सदस्यहरू र अरू योग्य साथीहरूलाई मिलाएर पठाइनेछ ।
अभियानमा खटिने नेताहरू पालिकामै पुगेर बस्ने र स्थानीय तहमा विभिन्न विषयबारे जानकारी गराउनुपर्नेछ ।
थापाले भने, ‘७५३ पालिकामा हाम्रो पार्टीका केन्द्रीय सदस्यहरू जानुहुन्छ । सबै साथीलाई मिलाएर हामी ७५३ पालिकामा अहिलेको लागि हाम्रो यो अभियान १५ दिनको अभियान हुन्छ । अभियानमा साथीहरू जानुहुन्छ, पालिकामा गएर बस्नुहुन्छ ।’ नेताहरुले राष्ट्रिय शक्तिको जिम्मेवारी निर्वाह गर्न र प्रतिपक्षको भूमिका निर्वाह गर्न तयार रहेको, पार्टीको अधिवेशनमा पारित भएको दस्तावेजबारे पनि पालिकास्तरमा जानकारी गराउनेछन् । सामाजिक अभियानसँग जोडेर अघि बढाइने यस कार्यक्रमअन्तर्गत ७५३ वटै पालिकाले प्रत्येक पालिकाले एउटा सामाजिक परियोजना १५ दिनको अभियानकै क्रममा घोषणा गर्ने र चार महिनाभित्र त्यो अभियानलाई सम्पन्न गर्ने योजना रहेको छ ।







प्रतिक्रिया