बैशाख १६, २०८१ आईतबार

मोहनमायामा हरेक दिन विधार्थीको उपस्थिति संकलन

बिर्तामोड । झापा बिर्तामोडमा रहेको मोहनमाया माविले हरेक दिन विधार्थीको उपस्थितिलाई महत्वका साथ संकलन गर्दै आएको जनाएको छ । विधार्थीको उपस्थिति छ-छैन हरेक दिन १२ बजेभित्र चेकजाँच हुन्छ ।

सामुदायिक विधालयमा पनि सबैको रोजाईमा परेको मोहनमायाले गरेका धेरै काम अन्य शैक्षिक संस्थाका लागि सिकाई बन्ने गरेको छ । जिल्लाकै नमूना विधालयको पहिचान बनाउन सफल मोहनमायाले विधार्थी नियमित तीन दिन अनुपस्थित भएमा अभिभावकलाई सम्पर्क गर्ने गरिएको प्रधानाध्यपक शेरबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार कक्षागत विधार्थीको उपस्थिति संकलन पश्चात तीन दिनसम्म अनुपस्थित विधार्थीको परिवारमा कक्षा शिक्षकले सिधैं सम्पर्क गरेर सोधीखोजी गर्नुहुन्छ । विधार्थी किन विधालय आइरहेका छैनन् भनेर चासो राख्नुलाई हामीले आफ्नो जिम्मेवारी सम्झिएका छौं, प्रअ श्रेष्ठले भने – नियमित अनुपस्थित हुनुको मुख्य कारण विरामी हुँदा बाहेक देखिएको छैन । अन्य दिन नियमित विधार्थीको उपस्थिति हुने गरेको छ ।

नर्सरी देखि कक्षा १० सम्म विधार्थीको उपस्थिति विवरण हेर्दा राम्रो पाइएको छ, श्रेष्ठले भने – अहिले चिसोका कारण विधार्थीको संख्या थोरै घटबढ हुन्छ । प्रायः विधार्थीको उपस्थितिमा कहिल्यै समस्या छैन । नियमित उपस्थिति र पठनपाठन भइरहेको छ ।

मोहनमायाका प्रअ श्रेष्ठले मंगलवार मंसिर २५ देखि २८ सम्मको विवरण देखाउँदै विधार्थीको उपस्थितिलाई उल्लेख्य रहेको सुनाए । जम्मा ९४१ विधार्थीमा मंसिर २५ गते ८२७, २६ गते ८४३ र २७ गते मंगलवार ८४४ जना विधार्थी उपस्थित भएको श्रेष्ठले जानकारी दिए । सहभागी भएका विधार्थीहरुको विवरण संकलन गर्ने जिम्मा गिता पुरीलाई दिइएको छ । हरेक दिन कक्षा सुरु भएपछि पुरीले कक्षा–कक्षा पुगेर उपस्थितिको विवरण संकलन गर्ने बताइन् । उनका अनुसार विधार्थीको उपस्थिति ९३ प्रतिशत सरदर हुने गरेको छ । बालबालिकाको दिवा खाजाका कारण उपस्थिति घटेको छैन । बालबालिकालाई विधालयमा आकर्षण गर्न दिवा खाजा पनि अर्को सरकारी प्रयास भएको छ ।

मोहनमायाले कक्षा ६ सम्मका विधार्थीलाई आफै खाजा बनाएर खुवाउने गरेको छ । बिर्तामोड नगरपालिकाको शिक्षा शाखालाई बुझाएको विवरण अनुसार आइतवार जाउलो, सोमबार चना मुरै, मंगलवार चाम्रे, बुधबार खीर, बिहीवार मटर छोला मुरै र शुक्रवार चाम्रे वा दुध विस्कुट खुवाउने तालिका छ । प्रअ श्रेष्ठका अनुसार एउटा विधार्थीको भागमा करिव १५ रुपैयाँ हुन्छ । ठुलो संख्या हुँदा पुराउन असजिलो हुदैन ।

हरेक कक्षामा सीसी क्यामेरा
मोहनमायाले सबै कक्षा देखिने गरी सीसी क्यामेराको व्यवस्था गरेको छ । कार्यालयबाटै कक्षाकोठाको अवलोकन गर्न सकिने गरी सीसी क्यामेराको व्यवस्था मिलाइएको छ । विधार्थी र शिक्षकलाई सिधैं कार्यालयबाट अवलोकन गर्न सकिन्छ, श्रेष्ठले भने – विधार्थीहरुको रेखदेखकै लागि सीसी क्यामेरा राखिएको हो । शिक्षकहरु समयमा पुग्नुभएको ,नभएको पनि हेर्न सकिन्छ – उनले थपे ।

सूचना प्रवाहका लागि बेल सिस्टम
विधालयमा सबै कक्षाकोठामा वेलको व्यवस्था मिलाएको छ । त्यसका लागि सबै कक्षाको वेल स्वीच कार्यालयमा राखिएको छ । कुनै सूचना गर्नुपर्यो, कुनै विधार्थी बोलाउनु पर्यो भने कक्षामै पुग्नुपदैन । कार्यालयबाटै बोलाउन सकिन्छ । शिक्षा मन्त्रालयले जी टु परियोजना मार्फत सीसी क्यामेरा र वेल जडान गरिदिएको हो । भूकम्प गइहाल्यो भने एकैपटक सबै कक्षामा सूचना प्रवाह गरेर विधार्थीलाई सुरक्षित रहनका लागि सचेत गराउन सकिन्छ । प्रअ श्रेष्ठले भने – कुनैकुनै विदा ढिलो थाहा पाइन्छ, त्यसलाई पनि तत्कालै सुनाउनु परेमा वेल नै प्रयोग गर्ने गरिएको छ ।

प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार  ११ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]