सांसद लिङदेनलाई ज्यान मार्ने धम्की
बिर्तामोड । झापा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले ज्यान मार्ने धम्की आएको खुलासा गरेका छन् । उनले आफ्नो ट्वीट मार्फत खुलासा गरेका हुन् ।

केहि समयदेखि तनावमा रहेका लिङदेनले करिब एक साताको मौनतापछि ‘कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ?’ भन्दै ट्वीट गरेपछि कतिपयले उनको तनावको पूर्वमान लगाए । तर, धेरै गम्भीर रुपमा लिएनन् किनभने उनले कतै उजुरबाजुर गरेका थिएनन् ।
उनले भने, दुई सातादेखि धम्की मिश्रित फोन आइरहेको छ । ‘तँलाई मार्न ५० लाख रकम दिइसकेको छु । अब बाँच्दैनस्’ भन्दै कहिले ह्वाट्स एप त कहिले मोबाइलमा फोन गरेर आउने गरेको छ । ‘एउटा आवाजबाट मलाई धम्की दिइन्थ्यो भने अर्को आवाजबाट मलाई मार्न पैसा दिएकाले सचेत हुन भनिन्थ्यो’, लिङ्देनले भन्छन् ।
उनका अनुसार काठमाडौंमै भएका वेला त्यो फोन आएपछि उच्च प्रहरी अधिकारीसँग छलफल पनि गरेका रहेछन् । यद्यपि, लिखित उजुरी भने दिएनन् । प्रहरीले सुक्ष्म अनुसन्धान थाल्यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले तिलक पराजुलीलाई मंगलबार पक्राउ गरेको छ । लिङदेनसँग पैसा माग्दै उनले धम्काएका थिए ।
उनले अन्य दुई महिलालाई समेत धम्काएको खुलेको छ । उनी मेनपावर एजेन्ट भएको खुलेको छ । १६ लाख रुपैयाँ डुबेपछि उनले पैसा कमाउन विभिन्न व्यक्तिलाई धम्काएको सिआईबीको अनुसन्धानमा खुलेको छ ।
दुई जनाको स्वरमा फोन गरिए पनि दुवै व्यक्ति एकै भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनामा अन्यको पनि संलग्नता हुने आशंकामा अनुसन्धान भइरहेको छ । अन्य व्यक्ति पक्राउ परेपछि मात्रै लिङ्देनलाई दिइएको धम्कीबारे थप खुल्ने प्रहरीले जनाएको छ ।