ललितपुर । नेकपा (एमाले) निकट जनसङ्गठन मुक्ति समाज नेपालको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक २१ बुँदे समसामयिक राजनीतिक प्रस्ताव तथा सङ्कल्पहरू पारित गर्दै सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मङ्सिर ८ र ९ गते बसेको बैठकले वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक परिस्थितिको समीक्षा गर्दै दलित समुदायको अधिकार रक्षा र राज्यको विभेदकारी नीतिका विरुद्ध निर्णायक संघर्षमा उत्रने निर्णय गरेको हो ।
सरकारको रवैया र बजेट फ्रिजको कडा विरोध
बैठकले वर्तमान सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनका बेला जारी गरेको १०० बुँदे वाचापत्रको १ नम्बर बुँदामै दलित समुदायप्रति औपचारिक क्षमायाचना गर्ने र सुधारका विशेष कार्यक्रम घोषणा गर्ने प्रतिबद्धता जनाए पनि सत्तामा पुगेपछि त्यसलाई लत्याएको भन्दै भण्डाफोर गर्ने निर्णय गरेको छ ।

यसैगरी, तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले दलित समुदायको परम्परागत पेसा, कला र सीप आधुनिकीकरणका लागि ‘भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत विनियोजन गरेको ५० करोड रुपैयाँमध्ये करिब साढे ३ करोड मात्र खर्च भई साढे ४६ करोडभन्दा बढी रकम फ्रिज गरिएकोमा बैठकले घोर निन्दा गरेको छ । उक्त बजेटमा थप गरी अविलम्ब कार्यक्रम सञ्चालन गर्न तथा सुनचाँदीको आयातमा बढाइएको शतप्रतिशत भन्सार र पेसा प्रवद्र्धन शुल्क तत्काल फिर्ता लिन माग गरिएको छ ।
जातीय हिंसा, विस्थापन र न्यायिक छानबिनको माग
बैठकले सिन्धुलीका श्रीकृष्ण विश्वकर्माको प्रहरी हिरासतभित्र भएको रहस्यमय मृत्यु, राज्यको उत्पीडन सहन नसकी गणेश नेपालीले आत्मदाह गर्नुपरेको घटना लगायत देशभर भइरहेका जातीय हिंसाका दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । साथै, काठमाडौं उपत्यकाका खोला किनारमा बसोबास गर्दै आएका ३,००० भन्दा बढी विपन्न तथा ५०० भन्दा बढी दलित परिवारलाई वैकल्पिक व्यवस्था बिनै डोजर लगाएर विस्थापित गरिएको घटनाको भत्र्सना गर्दै तत्काल सुरक्षित आवासको व्यवस्था गर्न आग्रह गरिएको छ ।
त्यस्तै, भदौ २३ र २४ गते भएका आपराधिक घटनाहरूको सत्यतथ्य बाहिर ल्याउन न्यायिक छानबिन गर्नुपर्ने तथा ‘सरकार कोठा खाली छ ?’ भन्दै २२७ दिनदेखि माइतीघर मण्डलामा सत्याग्रह गरिरहेकी अभियन्ता दिपा नेपालीको आन्दोलनप्रति बैठकले ऐक्यबद्धता जनाएको छ ।
राष्ट्रिय स्वाधीनता र विपद् व्यवस्थापन
प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा भएका समझदारी, सहमति र द्विपक्षीय सम्झौताहरूको पूर्ण विवरण तत्काल सार्वभौम संसद् र नेपाली जनतासमक्ष सार्वजनिक गर्न बैठकले जोडदार माग गरेको छ । यसका साथै, जलवायु परिवर्तनका कारण रसुवा–भोटेकोशी तथा बूढीगण्डकी जलाधार क्षेत्रमा बाढीपहिरोबाट घरबारविहीन भएका पीडितलाई तत्काल राहत, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण सुरु गर्न ध्यानाकर्षण गराइएको छ ।
आगामी निर्वाचन र सङ्गठन सुदृढीकरण
बैठकले संविधानको धारा २४ र ४० ले सुनिश्चित गरेका दलित समुदायका मौलिक हक कार्यान्वयनका लागि एकीकृत कानुन निर्माण गर्न, भूमिहीन दलितलाई तत्काल जग्गाधनी पुर्जा वितरण गर्न तथा लघुवित्त, मिटरब्याज र सहकारी पीडितको बचत रकम फिर्ता गराउन माग गरेको छ ।
आगामी २०८४ सालमा हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा आरक्षित सिटमा मात्र नभई अन्य निर्वाचन क्षेत्रहरूमा पनि योग्य र लोकप्रिय दलित व्यक्तिहरूलाई उम्मेदवार बनाउन बैठकले मातृ पार्टी नेकपा (एमाले) लाई आग्रह गरेको छ । पार्टी महासचिव शंकर पोखरेल, सचिव भानुभक्त ढकाल, जनसङ्गठन समन्वय संयन्त्र प्रमुख विशाल भट्टराई र सङ्गठनका इन्चार्ज जितु गौतमको मार्गदर्शनमा सम्पन्न बैठकले आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न देशभर जनपुनर्जागरण अभियान चलाउने सङ्कल्प समेत गरेको छ ।







प्रतिक्रिया