ललितपुर – बाबुआमासँग नभएका बालबालिकाको वास्तविक अवस्था पत्ता लागेमा उनीहरुको संरक्षणमा ठुलो योगदान हुने बताइएको छ । बाल स्याहार केन्द्रमा रहेका बालबालिकाको तथ्यांक जानकारीमा आए पनि त्यस भन्दा बाहिर रहेका हजारौं बालबालिका राज्यको जानकारीमा समेत नरहेकोले उनीहरुको वास्तविक अवस्था थाहा पाउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 
राष्ट्रिय तथ्यांक कार्यलय र युनिसेफले बुधबार ललितपुरमा आयोजना गरेको बालबालिका र बैकल्पिक हेरचाह सम्बन्धी क्रियाकलापको अन्तराष्ट्रिय वर्गिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले हरेक बालबालिकालाई जहाँ बसेपनि बालसुलभ वातावरण उपलब्ध गराउनु पर्ने बताएकी छिन् । ‘सुरक्षित र पारिवारिक वातावरणमा हुर्कन पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । यसका संरक्षण गर्नु केवल मानवीय संवेदना मात्र होइन’ मन्त्री वादीले भनिन् ‘यो न्यायपूर्ण, समानतामुलक र समृद्धि समाज निर्माणको अनिवार्य आधारशिला हो ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य डा.रेशु अर्याल ढुंगानाले बाबुआमाको संरक्षणमा नभएका बालबालिकाको तथ्यांक केवल केन्द्रमा मात्र होइन हरेक स्थानीय तहमा संकलन हुनुपर्ने बताइन् । नेपालले बालबालिका सम्बन्धी विभिन्न अन्तरािष्ट्रय अभिसन्धीमा हस्ताक्षर समेत गरेकोले ति अभिसन्धीका आधारमा बालबालिकाको तथ्यांक र वर्गिकरण गर्नुपर्ने बताइन् । ‘हामीले बालबालिकाको तथ्यांकमा मात्र होइन उनीहरुको सुरक्षामा समेत ध्यान दिनुपर्ने हुन्छ’ उनले भनिन् ‘बैकल्पिक हेरचाहका बालबालिकाकाको विस्तृत तथ्यांक संकलन गर्ने र वर्गिकरण गर्ने कुरा महत्वपूर्ण छ । ’
राष्ट्रिय तथ्यांक कार्यलयका निर्देशक पृथ्वीविजय सिजापतीले बैकल्पिक हेरचाह र यसका अन्तरािष्ट्रय अभ्यासका विषयमा एक कार्यपत्र प्रष्तुत गरेका थिए । सिजापतीले प्रष्तुत गरे अनुसार बैकल्पिक हेरचाहको नौ वटा वर्गिकरण रहेको उल्लेख गरे । नेपालमा यस वर्गिकरण अनुसार तथ्यांक नभएकोले बैकल्पिक हेरचाहको अवस्था पत्ता लगाउन मुस्किल भएको सिजापतीले बताए । ‘अब हामीले बैकल्पिक हेरचाहका लागि अन्तराष्ट्रिय रुपमा प्रचलनमा रहेका नौ वटै वर्ग अनुसार तथ्यांक संकलन गरेर अन्तराष्ट्रिय रुपमै तुलना योग्न बनाउन लागिएको छ’ सिजापतीले भने ।
कार्यलयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेले बैकल्पिक हेरचाहका बालबालिकाको तथ्यांक संकलन गर्ने काम तथ्यांक प्रणालीमा कोशेढुंगा सावित हुने बताए । राष्ट्रिय जनगणनाले करिब साढे ३ लाख बालबालिका बैकल्पिक हेरचाहमा रहेको तर उनीहरुको अवश्था के छ भन्ने कुरा स्पष्ट नभएकोले तथ्यांकलाई नयाँ ढंगले कोडिङ गर्न लागिएको बताए ।
युनिसेफकी नेपालकी उपप्रतिनिधि जी ह्यु रहले प्रत्येक बालबालिकालाई तथ्यांकीय प्रणालीमा समेट्ने र उनीहरुको अवश्थालाई पहिचान गर्ने राष्ट्रिय तथ्यांक प्रणाली निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा राष्ट्रिय तथ्यांक कार्यलयमा धन्यवाद दिएकी छिन् । उनले वैकल्पिक हेरचाह सम्बन्धी अन्तराष्ट्रिय वर्गीकरण प्रणालीलाई चरणवद्ध रुपमा राष्ट्रिय तथ्यांक र प्रशासनिक सुचना प्रणालीमा समावेश गर्ने महत्वपूर्ण राष्ट्रिय यात्राको सुरुवात भएको भनेकी छिन् ।
गत मार्चमा संयुक्त राष्ट्र संघीय तथ्यांक आयोगले बालबालिकाको वैकल्पिक हेरचाह (आइकेयर)लाई अन्तराष्ट्रिय तथ्यांकीय मापदण्डका रुपमा अनुमोदन गरेको थियो । यससँगै नेपाल सहित विश्वका विभिन्न देशहरुले अभिभावकीय हेरचाह बाहिर रहेका वा वैकल्पिक हेरचाहमा रहेका बालबालिका सम्बन्धी अवधारणा,परिभाषा र वर्गिकरणको साझा अन्तराष्ट्रिय आधार प्राप्त गरेका छन् ।
कार्यक्रमलाई समापन गर्दै प्रमुख तथ्यांक अधिकारी (सचिव) लक्ष्मी बस्नेतले वैकल्पिक हेरचाहको तुलनात्मक तथ्यांकीय प्रणाली विकास भएपछि कुन क्षेत्रका बालबालिकालाई अझ बढी हेरचाह आवश्यक छ भनेर तुलना गर्न सकिने तथ्यांक प्राप्त हुने बताइन् । उनले बालबालिका हेरचाहको मुख्य काम महिला मन्त्रालयको भए पनि तथ्यांकलाई अद्यावधिक गर्ने कामचाँही राष्ट्रिय तथ्यांक कार्यालयले गरेको स्पष्ट पारिन् ।
कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नहरुको प्रमुख तथ्यांक अधिकारी बस्नेत,उपप्रमुख तथ्यांक अधिकारी लामिछाने र युनिसेफका रामप्रसाद गौतमले जवाफ दिएका थिए ।







प्रतिक्रिया