बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले केन्द्रीय कार्यालय भवन निर्माणको लागि शिलान्यास गरेको छ । आज विहान एक कार्यक्रमका बिच भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।
बिर्तामोड – ४ स्थित हर्कलाल मार्गमा सिम्रिक सहकारीले ६ करोडको लागतमा बन्ने चार तले भवनको शिलान्यास गरेको हो । संस्थाका अध्यक्ष सुवास भट्टराई र कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले भवनको शिलान्यास गरेका हुन् ।

भवन निर्माणका लागि सहकारीले २ कठ्ठा १६ धुर जग्गा खरिद गरेको थियो । ७ वर्षअघि ७३ लाख रुपैयाँमा खरिद गरिएको जग्गामा सहकारीले बहुउद्देश्यीय प्रयोजनका लागि भवन निर्माण गर्न लागेको संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए । चार तले सुविधा सम्पन्न भवनमा लिफ्ट समेतको व्यवस्था रहने उनको भनाई छ ।
पहिलो तलमा व्यवसायिक प्रयोजनका लागि सुपरमार्केट, दोस्रो तलामा प्रशासनिक प्रयोजन, तेस्रो तलामा सञ्चालक समितिको कक्ष, विषयगत समितिका कक्ष लगायतको व्यवस्थापन गरिने छ भने चौथो तलामा बैठक हलको रुपमा प्रयोग गरिने जनाइएको छ ।
करिव ७२ हजार सदस्य रहेको सहकारीले भवन निर्माणका लागि कोष नै निर्माण गरेको थियो । भवन निर्माण कोषमा साढे ३ करोड रुपैयाँ जम्मा गरिएको थियो । सहकारी ऐन २०७४ अनुसार जगेडा कोषको ५० प्रतिशत रकम खर्च गर्न पाउने व्यवस्था अनुसार खर्च गरिने जनाइएको छ । भवन निर्माणका लागि निर्माण समितिले अत्यन्तै पारदर्शी रुुपमा काम गरिरहरेको उनको भनाई छ ।
४ जिल्लामा सेवा विस्तार गरेको सहकारीले ४४ मुल्य सेवा केन्द्र , ५२ सेवा केन्द्र मार्फत सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
भवन शिलान्यासमा संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख बस्नेत, संस्थाका पदाधिकारीहरु, कर्मचारीहरुको सहभागी रहेको थियो ।







प्रतिक्रिया