मुख्य समाचार

पाँच पाण्डव मन्दिरमा महायज्ञ शुरु

पाँच पाण्डव मन्दिरमा महायज्ञ शुरु


शनिश्चरे । अर्जुनधारा नगरपालिका – ५ पाण्डवपुरस्थित बागेश्वरी दुर्गा भगवती पाँच पाण्डव मन्दिरमा बुधबारदेखि श्रीमद भविष्य महापुराण एवं धान्याञ्चल नवाह महायज्ञ शुरु भएको छ ।

प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देन तामाङले पानसमा दिप प्रज्वलन गरेर महायज्ञको उद्घाटन गरेका हुन् । पिता चन्द्रलाल र माता दिव्याश्वरा ढुंगानाको नाममा क्यानडा निवासी भानुभक्त ढुंगानाबाट प्राप्त नगद ७ हजार ७ रुपैयाँ गोविन्द कार्कीले दानपेटिकामा राखेर उद्घाटन गरेका थिए भने सचिव बुढाथोकीले धान चढाएर धान्याञ्चल पर्वत उद्घाटन गरेका थिए ।

मन्दिरको बृहत्तर विकासका लागि चौथो वार्षिक अनुष्ठानको रुपमा महापुराण आयोजना गरिएको हो । पण्डित कृष्णप्रसाद न्यौपाने प्रमुख कथा वाचक र पण्डित दिपक सुवेदी उपवाचक रहने महापुराण १७ गते समापन बताइएको छ । उद्घाटन समारोहमा मन्दिर व्यवस्थापन समितिका सचिव देवराज बुढाथोकीले ऐतिहासिक पृष्ठभूमिसहित अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

इतिहास बोकेको पाँच पाण्डव मन्दिरलाई अगामी दश वर्षभित्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको अवधारणा पत्र उल्लेख छ । पुराण आयोजक समिति अध्यक्ष गणेश कार्कीको सभापतित्व र सचिव बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा पण्डित आषुतोश खनाल, पातञ्जल योग समिति कोशी प्रदेश उपाध्यक्ष जिपी तिवारी , स्थानीय भानु माविका प्रधानाध्यापक रुपक दाहाल लगायतले शुभकामना मन्तव्य राख्दै धार्मिक अनुष्ठानमा सहभागी भई पुराण श्रवण गर्नका लागि अनुरोध गरेका थिए ।

पुराण अवधिभर बिहान ४ः३० देखि ६ बजे पातञ्जल योग समितिद्वारा सर्वाङ्गिण विकासका निम्ति रोग अनुसार निःशुल्क योग विज्ञान शिविर सञ्चालन गरिने बताइएको छ । धर्मानुरागीहरुमा योग शिविरबाट फाइदा उठाउनका लागि आग्रह समेत गरिएको छ ।

शेयर गर्नुहोस :

324
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu