बिर्तामोड । मंसिर १४ गते हुन गइरहेको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेसको एकाधिकार तोड्ने स्वतन्त्र समावेशी प्यानलले घोषणा गरेको छ ।
१७ बुँदे प्रतिवद्धता सार्वजनिक गर्न आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र समावेशी प्यानलले उपभोक्ताहरुलाई कांग्रेसको एकाधिकार तोड्न आग्रह गरेको हो ।

निर्वाचन परिचाल समितिका संयोजक हरिचरण शिवाकोटीले उक्त घोषणा गरेका हुन् । नेपाली कांग्रेसको एकाधिकार हुँदा खानेपानीका उपभोक्ताहरु मारमा परेको उनको धारणा थियो । खानेपानी संस्था सार्वजनिक निकाय भएको हुँदा त्यसमा कुनै पनि दलको एकाधिकार हुन नहुने उनको भनाई थियो । पत्रकार सम्मेलनमा बोल्दै शिवाकोटीले खानेपानी संस्थालाई सबैको साझा संस्था बनाउन सबैको सहभागिता अनिवार्य भएको बताए ।
स्वतन्त्र समावेशी प्यानलका निर्वाचन परिचालन समितिका सहसंयोजक हिमालय कन्दङ्वाले पत्रकार सम्मेलनमा १७ बुँदे प्रतिवद्धता घोषणा गरेका हुन् । उनले न्यूनतम यूनिट १० बाट २० पुराउने, अनलाईन सेवालाई प्रभावकारी बनाउने, मिटर जडान खर्च ५ हजारमा झोर्ने, विधान संशोधन गर्ने, अपांगता, गरिव, पिछडा, वर्गलाई सहुलीयतमा मिटर उपलब्ध गराउने, घरको माथिल्लो तलामा पानी नचढ्ने समस्या हल गर्ने, गणुस्तरी खानेपानीको नियमित व्यवस्था गर्ने, २ वर्षभित्र सबै ठाउँमा खानेपानीको सुविधा विस्तार गर्ने, स्थानीय जरुवा पानीलाई जलासयको रुपमा विकास गर्ने, फायर हाइड्रेन्टको व्यवस्था मिलाउने, मिटर जडान गर्ने अवस्था नरहेको ठाउँमा सार्वजनिक धाराहरु जडान गर्ने लगायतका प्रतिवद्धता घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा स्वतन्त्र समावेशी प्यानलका अध्यक्षका उम्मेदवार देवेन्द्र सिटौलाले बिर्तामोडको खानेपानी संस्थालाई सबैको साझा संस्था बनाउदैं स्वच्छ र गुणस्तरीय पानीको व्यवस्था मिलाउन आफ्नो उम्मेदवारी रहेको बताए ।
पत्रकार सम्मेलनमा स्वतन्त्र व्यवसायिक प्यानलमा रहेका चार दलका नेतृत्वको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया