आन्दोलनरत पक्षद्धारा लक्ष्मी माविमा तालाबन्धी

बिर्तामोड । विवादित अर्जुनधारा–६ स्थित लक्ष्मी माध्यमिक विधालयमा अनिश्चितकालिन तालावन्धी गरिएको छ । विधालयको वेथिती विरुद्ध गठित संघर्ष समिति र अनेरास्ववियू झापाले संयुक्त रुपमा तालावन्धी गरेको संघर्ष समितिका संयोजक भीष्म पौडेलले जानकारी दिए ।
प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ता र सहायक प्रधानाध्यापक घनश्याम डाँगीको कारण विधालयमा चरम वेथिति भएको भन्दै सुधारका लागि संघर्ष समिति आन्दोलनरत छ । उनीहरुले विधालयको प्रशासन र लेखा शाखामा तालान्वधी गरेका छन् ।
शिक्षक कर्मचारीमाथि विभेद गरेको, शिक्षकको कोषको पैसा समयमा जम्मा नगरेको, आर्थिक पारदर्शिता नभएको, परीक्षामा लापरवाही गरेको, व्यवस्थापन समिति नबनाएको, कृतिम अभिभावक सिर्जना गरेर व्यवस्थापन समिति बनाउन खोजेको, विधालय भवन निर्माणको बजेट ल्याएर काम नथालेको, थालेको काम मापदण्ड विपरित भएको,
योग्य शिक्षकलाई एसएलसीवाला शिक्षकबाट अमानित गराएको र श्रीमतिलाई बालशिक्षाको कर्मचारी विधि विपरित बनाएको आरोप प्रअ गुप्ता माथि लागेको छ । संघर्ष समितिमा सो विधालयलाई यहाँसम्म ल्याउने चन्दादाता, पूर्व विधार्थी, अभिभावक छन् ।