Banner news

कमजोर छ मनसुनः पानी कम पर्न सक्छ !

कमजोर छ मनसुनः पानी कम पर्न सक्छ !

epa03760821 A group of Nepalese farmers return home carrying their belongings after planting rice in a field at the beginning of the monsoon season in Jitpur village, on the outskirts of capital Kathmandu, Nepal, 26 June 2013. Nepal will be celebrating National Paddy Day on 29 June 2013. On this day, known as Asar Pandra, farmers begin the annual rice planting season and mark the day with various festivities such as preparing rice meals with muddy water, mud being a symbol for a prosperous season. The agricultural sector contributes about 60 per cent to Nepal’s gross domestic product. EPA/NARENDRA SHRESTHA

विनय बञ्जारा

यस वर्षको मनसुनमा पानी कम पर्न सक्ने अनुमानका कारण कृषि उत्पादन र पानीका स्रोतहरूमा असर पर्ने देखिएको छ ।

विगतको सामान्य प्रवृत्ति अनुसार २७ जेठबाट नेपालमा मनसुनी वर्षा शुरू हुनुपर्ने थियो । पछिल्ला ३० वर्षको इतिहासमा सामान्यतया अंग्रेजी महीना जूनको १० तारिखबाट मनसुन नेपाल छिर्ने गरेको छ । तर अघिल्ला केही वर्षमा जस्तै यस वर्ष पनि मनसुनी बादल नेपाली आकाशमा आइपुगेन ।


३० जेठको बेलुकासम्म पनि यो वर्षको मनसुन कहिले आइपुग्छ भन्ने यकिन हुन नसकेको जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेल बताउँछिन् । अहिले पनि बङ्गालको खाडीमा नयाँ चक्रवात तयार भएको छ, उनी भन्छिन्, हाम्रो आकाशमा केही मौसमी फेरबदल भएन भने यसले अझै केही दिन ढिला गराइदिन सक्छ ।


मौसमविद्हरूले मनसुन शुरू हुन सामान्य अवस्थाभन्दा कम्तीमा एक साता ढिलाइ हुने संकेतहरू देखिएको बताएका छन् । यो वर्ष मनसुन ढिला शुरू हुने मात्र होइन, पानी पनि कम पर्ने आकलन गरिएको छ । खासगरी पूर्वी र मध्य नेपालमा सरदरभन्दा कम पानी पर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्ग बताउँछन् ।


जलवायु तथा मौसम सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष निकाय ‘वल्र्ड मेटेरोलोजिकल अर्गनाइजेशन’ ले दक्षिण एशियाली क्षेत्रमा सरदर मनसुन हुने भए पनि नेपालमा पानी कम पर्न सक्ने सहितको पूर्वानुमान १३ वैशाखमै सार्वजनिक गरेको थियो । मौसमविद् पोखरेल पनि मनसुन शुरू भइसकेपछि पनि एक–दुई दिन पानी पर्ने र त्यसपछि केही दिन सुक्खा हुने जस्तो संकेत देखिएको बताउँछिन् ।


गएको वर्ष नेपालमा औसत भन्दा बढी पानी परेको थियो । एक दशकभन्दा लामो समयदेखि हराइसकेको ‘झरी’ पोहोर फर्केको थियो”, मौसम विज्ञान विभागमा यसअघि महानिर्देशक रहिसकेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सह–सचिव ऋषिराम शर्मा भन्छन् ।
पछिल्लो एक दशकमा मुसलधारे पानी पर्ने प्रवृत्ति बढ्दो छ । एकै पटक धेरै पानी पर्ने र निकै दिनसम्म खडेरी पर्ने अस्वाभाविक प्रवृत्ति देखिने गरेको अवस्थामा गएको वर्ष झरी फर्किंदा मौसम विज्ञानका जानकारहरूसँगै किसान पनि रमाएका थिए ।


तर यो वर्षको वर्षातमा पोहोर जस्तै झरी लम्बिएला वा अघिल्ला वर्षहरूकै नियति दोहोरिएला भन्नेमा अहिले नै पूर्वानुमान गर्न नसकिने सह–सचिव शर्मा बताउँछन् । समयमा पानी नपर्ने र चाहिनेभन्दा कम पानी पर्ने अवस्थाले यो साल बर्खे बालीको उत्पादन घट्ने आकलन गर्न सकिन्छ । जसको असर राष्ट्रिय अर्थतन्त्रमा पर्दै सरकारको सफलतासँग पनि दाँजिन पुग्छ ।
गएको वर्ष ३ प्रतिशतभन्दा कम रहेको कृषि तथा वन क्षेत्रको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर यो वर्ष ५.२ प्रतिशत पुग्ने आकलन गर्नुको पछाडि अघिल्लो वर्षात् परेको पानी मुख्य कारण थियो ।

जीवनाधारः बालीदेखि बिजुलीसम्म
दक्षिण एशिया र दक्षिणपूर्वी एशियामा बसोबास गर्ने पृथ्वीको झण्डै आधा जनसंख्याको प्राण धान्ने वायुमण्डलीय प्रणाली हो, मनसुन । यस क्षेत्रका डेढ दर्जन मुलुकमा २ अर्ब ५० करोड मानिसको आवादी छ, जहाँ संसारकै सबैभन्दा बढी धान उत्पादन हुन्छ ।


यसका साथै कोदो, मकै जस्ता अन्नबाली र चिया लगायतको नगदेबालीको उत्पादनमा पनि मनसुनी वर्षाको ठूलो योगदान हुन्छ । नेपालमै पनि धान, कोदो, मकै, बर्खे तरकारी र दलहन जस्ता मनसुनी समयमा उब्जाउ हुने बालीले करीब रु.३४ खर्ब ६४ अर्बको अर्थतन्त्रमा झण्डै २० प्रतिशतको हाराहारी योगदान गर्ने केन्द्रीय तथ्यांक विभागका तथ्यांक अधिकृत नन्दलाल सापकोटा बताउँछन् ।


अहिले देशमा खेती हुने जमीनमध्ये तीन भागको एक भागमा मात्रै सिंचाइ सुविधा उपलब्ध छ । बाँकी केही भू–भागमा आंशिक सिंचाइ सुविधा भए पनि ठूलो क्षेत्रमा खेतीका लागि आकाशे पानीकै भर पर्नुपर्छ ।
वर्षातले घाँस उत्पादनमा सहयोग गर्ने भएकाले संसारको दोस्रो ठूलो दूध उत्पादक भारत मात्र होइन, दक्षिणएशियाका सबै मुलुकमा पशुपालन फस्टाउनमा यसले योगदान गरेको हुन्छ । बहुवर्षे फलफूल खेतीका लागि हामीले सामान्यतया अलग्गै सिंचाइको व्यवस्था गर्नुपरेको छैन ।


आर्थिक सँगै हामीले मनसुनको बहुआयामिक लाभ पाइरहेका छौं । हाम्रो खानेपानीको स्रोत वर्षातले धानिदिएको छ । बत्ती बाल्न लगायत अन्य प्रयोजनमा उपयोग गर्ने बिजुली समेत वर्षात्कै पानीमा बढी निर्भर छ । जलस्रोतबारे जानकारहरूका अनुसार हामीसँग मूलको पानीको ठूलो स्रोत हुनुको मुख्य कारण वर्षात् हो । ३० जेठमा खिचिएको भू–उपग्रह तस्वीरमा नेपाल सहित दक्षिण एशियाको आकाशमा बादल बढ्न थालेको देखिएको छ ।

तस्वीरः मौसम पूर्वानुमान महाशाखा

माडागास्करमा जन्मन्छ, मनसुन
मनसुनी वर्षातबाट दक्षिण र दक्षिणपूर्वी एशियाका मुलुकले पाइरहेको लाभ संसारका अरू थुप्रै मुलुकले पाउँदैनन् । तर, यसको उत्पत्ति अफ्रिकाको पूर्वी तटतिरबाट हुन्छ ।


दक्षिणी अफ्रिका नजिकैको टापु राष्ट्र माडागास्कर छेउछाउ हरेक वर्ष यही समयमा हावा चिसिंदै गएर आपसमा खाँदिन्छ र त्यसको चाप बढ्छ, जसलाई ‘उच्च चापीय प्रणाली’ भनिन्छ ।


हिन्द महासागरको दक्षिण–पश्चिम किनारातिरको आकाशमा हावा चिसिएर उच्च चापीय प्रणाली (जसलाई ‘मास्केरियन हाइ’ भनिन्छ) तयार हुँदा उत्तरी भागमा पर्ने अरब सागर र बङ्गालको खाडीमा भने गर्मी चढिसक्छ । जसले हावा तातो भएर माथितिर उँचाइ लिन थाल्छ । फराकिलो क्षेत्रबाट हावा बाहिर निस्किन थालेपछि यस भेकमा हावाको चाप घट्न थाल्छ, जसलाई न्यून चापीय प्रणाली भनिन्छ ।


हिन्द महासागरको दक्षिणतिर हावाको चाप निकै बढ्ने र उत्तरतिर त्यही समयमा चाप घट्ने अवस्था आएपछि दक्षिणको चिसो हावा उत्तरतिर बहन थाल्छ । दक्षिणी ध्रुव नजिकै बन्ने ‘मास्केरियन हाइ’ बाट शुरू भएको हावाको वेग हजारौं माइल पार गरेर भूमध्ये रेखा नाघ्दै अरब सागरमा आइपुग्छ ।


त्यतिञ्जेल अरब सागरको आकाशमा घामको तातोले पानीको बाफ भरिइसकेको हुन्छ । दक्षिणबाट आएको हावा त्यो बाफ समेत बोकेर पूर्व्तिर मोडिन्छ । त्यसमध्ये केही हावा उत्तर–पूर्वतिर लागेर अफगानिस्तान, पाकिस्तान र पूर्वी भारतको जमीनमा पानी पार्न पुग्छ । त्यही हावा पश्चिम नेपालसम्म पनि पानीको बाफ बोकेर आइपुग्छ ।


तर उक्त विशाल मौसमी प्रणालीको मूल हिस्सा चाहिं पूरै भारतीय उपमहाद्वीपको आकाशमा फैलिएर पूर्व्तिर अघि बढ्दै बङ्गालको खाडी पुग्छ । त्यहाँ पनि पानीको बाफको मात्रा (आद्रता) थपिन्छ र जलवाष्पयुक्त हावा दुई वटा शाखामा विभाजित हुन्छ ।


त्यसको एउटा शाखा भारतको कोलकातादेखि चिनियाँ प्रान्त युनान र बर्माको सीमा क्षेत्रबाट शुरू हुने हिमालय शृंखलासम्मको फराकिलो बाटो लिएर पश्चिम मोडिन्छ । नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान सहितका दक्षिण एशियाली मुलुकमा भारी वर्षा गराउने मनसुनी प्रणाली यही हो ।
अर्को शाखा भने बर्मादेखि दक्षिणतिरको समुद्री आकाशबाट पूर्व लाग्छ र दक्षिणपूर्वी एशियामा पुग्छ । यही शाखा दक्षिण चीन सागर हुँदै पूर्वी चीन र साइबेरियन द्वीपसम्म पुग्छ ।
हिउँदभरि पश्चिमबाट पूर्वतिर हावा बहने भए पनि वर्षातको चार महीना हावा विपरीत दिशामा बहने प्रणालीलाई मनसुन भन्ने गरिएको हो ।


मनसुन प्रणाली विकास हुनुमा हावा र समुद्री बाफ मात्र होइन, संसारकै उच्च हाम्रो हिमालय शृंखलाको पनि निकै ठूलो भूमिका हुने वायुमण्डलका अध्येताहरू बताउँछन् । हिन्द महासागरबाट ठूलो परिमाणमा पानीको बाफ बोकेको हावा हाम्रो आकाशमा आएपछि बादलको रूप लिन्छ ।

जसले हाम्रो पारिस्थितिकीय प्रणाली चलायमान राख्न वर्षभरिलाई हुने पानीको स्रोत खन्याउँछ ।
पृथ्वीको अन्य भागमा हुने मौसमी घटनाहरूको असर पनि हामीले भोग्नुपर्छ । जस्तो कि, यो वर्ष प्रशान्त महासागरमा ‘एल–निनो’ भनिने मौसमी प्रणाली विकास भएको छ । ल्याटिन अमेरिकी मुलुक पेरुदेखि पश्चिमतिरको समुद्री सतहको पानी औसतभन्दा बढी तातिने र एशियाली मुलुक इण्डोनेसिया तथा फिलिपिन्स छेउछाउको भागमा भने पानी चिसिने अवस्थाले प्रशान्त महासागरमा हावाको गतिलाई बदलिदिन्छ ।


मूलतः अमेरिकी महाद्वीपको मौसमलाई प्रभावित पार्ने यो प्रणालीले पूरै पृथ्वीको मौसमी प्रणालीलाई उथलपुथल पारिदिन सक्छ । यसले बेलाबखत नेपाल लगायत दक्षिणएशियासम्म आफ्नो प्रभाव फैलाउँछ, यो समाचार हिमाल खवरले प्रकाशित गरेको छ ।
यही कारण पनि यस वर्ष नेपालको पूर्वी भागमा भन्दा पश्चिममा बढी पानी पर्न सक्ने आकलन गरिएको छ । तर पछिल्लो ३० वर्षको औसतभन्दा बढी पानी पर्ने संभावना भने कमजोर रहेको मौसमविद्हरूको अनुमान छ ।

शेयर गर्नुहोस :

0
Shares