महिलामाथि महाअन्याय : ऋण गरेर किनेको जग्गामा बाटो
बिर्तामोड । झापा शिवसताक्षी नगरपालिका – ५ श्यालमारा कि फुलोदेवि शाह न्यायका लागि स्थानीय सरकार धाएको दुई महिना भयो ।

न्यायिक समितिले पनि उनलाई न्याय दिलाउन सकिरहेको छैन । जेठ ३ गते देखि शुरु भएको उनको समस्या सुल्झाउन धेरै पहल गर्दा पनि समाधान हुन नसकेको न्यायिक समिति प्रमुख भोजकुमारी नेपालले जानकारी दिइन् ।
६ वर्षअघि शाहले ऋणपान गरेर स्थानीय हेम भण्डारीको जग्गा खरिद गरेकी थिइन् । भण्डारीको भाई गोविन्दसँग उनले प्रति कठ्ठा १ लाखका दरले ९ कठ्ठा १० धुर जग्गा लिएको इजलाससँगको कुराकानीमा बताएकी छन् ।
गत जेठ महिनामा स्थानीय पञ्चानन् राजवंशीले आफ्नो जग्गामा बाटो पु¥याउन शाहको जग्गाबाट सडक बनाइदिए । बिहान बेलुकाको मेसो टार्ने जग्गा मै बाटो बनेपछि शाह परिवार न्यायको लागि दौडधुप गर्दै आएका छन् ।
साना किसान सहकारी संस्था लिमिटेडबाट ऋण गरेर खरिद गरेको जग्गाको अहिलेसम्म चुक्ता गर्न नसकेको फुलोदेवीको भनाई छ । उनको श्रीमान भारतमा मजदुरी गर्छन् । श्रीमान एउटा आँखा देख्दैनन् ।
जग्गामा काम गर्न नसकेपछि शाह सन्थाल जातिलाई व्याजमरनीमा जग्गा कमाउन दिएको फुलोदेवीले जानकारी दिएकी छन् । उनले १ लाख ७५ हजारमा जग्गा राखेकी थिइन् । साना किसान र सन्थालसँग लिएको ऋण नै तिर्न गाह्रो भइरहेको बेला स्थानीय जग्गा धनीले बाटो खनेपछि शाह परिवार विल्लिवाठ हुने अवस्थामा पुगेका छन् ।
चार जना सन्तानको रेखदेख समेत गर्नुपर्ने जिम्मेवारी छोडेर जग्गा फिर्ता गराइदिन स्थानीय सरकारसँग माग गर्दै आएकी फुलोदेवीलाई अदालत जानुपर्ने परिस्थिति आएको छ ।
नगरले दुवै पक्षलाई मेलमिलाप गराउन नसकेपछि अदालत जान सुझाएको उपप्रमुख नेपालले जानकारी दिईन् । शाहलाई अदालतमा जाने आउने खर्चको समेत अभाव रहेको सुनाइन् । कित्ता नम्बर ९९१ को जग्गा खरिद गर्ने शाह परिवार चौथो व्यक्ति हुन् ।
जग्गाधनीले ४ लाख तत्काल बुझेका थिए । बाँकी रकम विस्तारै दिनेलिने सहमति भएको शाहको भनाई छ । खरिद गर्दा नक्सामा कित्ता देखाए पनि ०२१ सालको जग्गामा बाटो भएको बुझिएको छ । सोहि आधारमा अहिले बाटो खनिएको दावी गरिएको छ भने खरिद गर्ने शाहले जग्गाको नक्सा देखाएकोले आफुले खरिद गरेको बताएकी छन् ।
जग्गा विक्रि गर्ने भण्डारीले केहि व्यक्तिको स्वार्थको कारण जग्गामा विवाद भएको जानकारी दिए । उनले कागजमा कुनै समस्या नभएको प्रतिक्रिया दिएका छन् । व्यक्तिगत स्वार्थका कारण विवाद आयो, गोविन्दले भने – कानुनी रुपमा हामी कमजोर छैनौं ।