छुवाछूत सामाजिक कलंक हो : प्रमुख द्धारिकलाल
इटहरी । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले छुवाछूत सामाजिक कलंक भएकाले यसलाई हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

इटहरी उपमहानगर वडा नम्वर– ४ ले आयोजना गरेको सहभोज कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले छुवाछूत,भेदभाव जस्तो सडेगलेको सोच सुन्दर समाज भित्रको कलंक भएकाले त्यस्तो सोच हटाउनुपर्नेमा जोड दिनुभयो । संविधानसभाकी सभासद अनिता परियारले जातीय छुवाछूत जस्तो जघन्य अपराध हटाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले त्यस्तो कुप्रथा हटाउन सवै एकजुट हुन आग्रह गर्नुभयो ।
इटहरी ४ का वडाध्यक्ष चन्द्र भट्टराईले छुवाछूत जस्तो कुप्रथा हटाएर सद्भाव र भाइचारा अभिवृद्धि गर्न सहभोज कार्यक्रम आयोजना गरिएको बताउनुभयो । अभियानकर्मी डिवि शाहशंकरले छुवाछूत मनोरोग भएकाले यस्तो रोग हटाउन सामाजिक अभियान अपरिहार्य रहेकोमा जोड दिनुभयो । इटहरी १७ का वडाध्यक्ष भगवान लाल शाहले छुवाछूत समाजले नै सृजना गरेकाले समाजलेनै हटाउनुपर्छ भन्नुभयो । नागरिक समाजका इटहरीका अध्यक्ष दिनेश रसाइलीले इटहरी मै पनि अझै दलित समूदायका एक ब्यक्तिले कोठा नपाएर समस्यामा परेको वास्तविकता सुनाउनु भएको छ ।
उहाँले नागपञ्चमीको दिन अरु घरमा टास्दैआएर आफ्नो घर भने छुटाएको भन्दै दु ख ब्यक्त गर्नुभयो । मनकामना मन्दिर इटहरीमा आयोजित सहभोज कार्यक्रमको अध्यक्षता इटहरी ४ की दलित महिला सदस्य पार्वता वराइलीले गर्नुभएको थियो ।