Banner news

झापाका वनभोजस्थल अझै सुनसान

झापाका वनभोजस्थल अझै सुनसान

A suspension bridge is seen over the Jamunkhadi Simsar area in Jhapa district on Tuesday, January 26, 2016. Photo: RSS

झापा । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण यहाँका पर्यटकीय क्षेत्रमा बनेका वनभोजस्थल सुनसान छन् ।

प्रायः मंसिर, पुस र माघ महिनामा इलाम, मोरङ, सुनसरीदेखि छिमेकी मुलुक भारतको दार्जिलिङ, सिलगुढी, पानीट्याङ्कीलगायतका स्थानबाट सयौंको संख्यामा वनभोज खानका लागि जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटक कोडिभ–१९ का कारण नआउँदा सुनसान बनेका हुन् ।

जिल्लामा विशेषगरी सामुदायिक वनहरुले २० देखि २०० सम्म बनभोजस्थल बनाएका छन् । शुरुमा जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिले पर्यापर्यटनका क्षेत्रमा पर्यटकलाई आकर्षण गर्न बनाइएका विभिन्न संरचनासँगै वनभोजस्थलसमेत निर्माण गरेपछि अन्य सामुदायिक वनले पनि वनभोजस्थल निर्माण गरेका थिए ।

कनकाई नगरपालिकामा रहेको जामनुखाडी, शिवसतासी नगरपालिकामा रहेको दोमुखा धार्मिक तथा पर्यटकीयस्थल, मेचीनगरका बाँसबारी सिमसार क्षेत्र, कालिका, थोप्लेविरान सामुदायिक वन, भद्रपुर नगरपालिका क्षेत्रमा रहेको किच्चकबध धार्मिक तथा पर्यटकीयस्थल वनभोजका लागि प्रमुख आकर्षणका स्थान हुन् ।

गत वर्षको मंसिरमा वनभोजस्थलबाट मात्र रु १८ लाख बढी सङ्कलन गर्न सफल भएको जामुनखाडीमा यतिबेला सुनसान जस्तै छ । जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खेम सिटौलाले सरकारले पर्यापर्यटन क्षेत्र खुलाएसँगै फाट्टफुट्ट आन्तरिक पर्यटकले आउन शुरु गरेको बताए ।

दुई सय बढी वनभोजस्थल रहेको वनमा गत वर्षको पुस महिनामा एकै दिन १८६ टोली समेत वनभोज खानका लागि आएको उनले जानकारी दिए । ‘विगतमा वनभोजकै लागि आउनेको भीड नियन्त्रण गर्न र सुरक्षा प्रदान गर्न भ्याइनभ्याई हुन्थ्यो’, उनले भने, ‘कोभिडका कारण यतिबेला वनभोजकै लागि भनेर कहिलेकाहीं एक–दुई टोली मात्र आउँछन्, आन्तरिक आम्दानीमा समेत धक्का पुग्यो ।’

गत वर्ष यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक दुई लाख बढी आएका उनको भनाइ छ । जसमा टिकट बिक्रीबाट मात्रै वनले रु एक करोड ५० लाख आम्दानी गरेको थियो । उनले कोभिड–१९ को प्रत्यक्ष असर पर्यापर्यटनमा पुगेको बताए ।

दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समितिका सचिव धनकुमार ढकालले बहुसांस्कृतिक उद्यानमा अलि–अलि आन्तरिक पर्यटक घुम्नका लागि आउन थाले पनि वनभोजकै लागि भनेर हालसम्म कोही पनि नआएको बताए ।

गत वर्ष वनभोजस्थलमा आएका पर्यटकबाट मात्र रु सात लाख आम्दानी गर्न सफल दोमुखामा यस वर्ष भने सुनसान रहेको उनले बताए । उनका अनुसार विगतमा सो स्थानमा रु ५०० देखि रु तीन हजारसम्म तिरेर वनभोज खानेको भीड लाग्ने गरेको थियो ।

वनभोजसँगै विभिन्न जीवजन्तुको अवलोकन गर्न सकिने मेचीनगरको बाँसबारी सामुदायिक पनि सुनसान प्रायः छ । जाडो मौसममा वनभोजसँगै घुम्न मासिक १० हजार पर्यटक आउने यस सामुदायिक सिमसार क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण शुरु भएसँगै पर्यटक नआउँदा सुनसानझै बनेको वन समितिका अध्यक्ष तकदिर प्रसाईले बताए ।

पर्यटकीयस्थलसँगै सो क्षेत्र आसपासमा खोलिएका ठुल्ठूला होटल रेस्टुरेन्ट समेत सञ्चालनमा समस्या भइरहेको उनले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares