बिर्तामोड । झापाको विर्तामोडमा शनिवारदेखि ‘फुड फेस्टिबल’ शुरु भएको छ । बिर्तामोडको नयाँ मार्केट सिटि सेन्टरमा ग्राहकको चहलपहल बढाउने उदेश्यले फेस्टिबल शुरु गरिएको हो ।
स्थानीय परिकारका साथै विभिन्न संघसंस्था र व्यवसायीले सिटि सेन्टरमा आयोजित फेस्टिवलमा आफ्नो स्टल राखेर खाद्य परिकार विक्रि गरेका छन् । तीन दिनसम्म सञ्चलान हुने फेस्टिवलमा सेल रोटी, तारेको माछा , भाक्का, कोदोको रोटी, बनारसी पान र विभिन्न प्रकारका मःम लगायतका स्टलहरु राखिएका छन् ।

फेस्टिवलमा आउनेहरुका लागि सिटि सेन्टरका सबै व्यवसायीले छुट अफर ल्याएका छन् । सबै प्रकारका सामग्री खरिद्मा निश्चित छुटको व्यवस्था गरिएको छ । फेस्टिबलवको उद्घाटन विर्तामोडका नगर प्रमुख धु्रव कुमार शिवाकोटीले गरेका छन् ।
फेस्टिवलको पहिलो दिन चर्चित व्यक्ति रमेश प्रसाईले आफ्नो प्रस्तुती राखेका छन् । उनले प्रस्तुती राख्नुभन्दा अघि मन्तव्य रोखेका थिए । मन्तव्यका क्रममा उनले देश विकास गर्न व्यवसायिक क्षेत्रको योगदान हुने बताए । जापान, कोरिया र चिन समेत उधोग व्यवसायीकै कारण विकास भएको बताए । देश बन्नका लागि उत्कृष्ट व्यापार चाहिने उनको भनाई थियो । गफाडिहरुबाट देश बन्दैन, प्रसाईले भने – तपाईहरु जस्ता व्यापारी सुध्रिनु भयो भने देश विकास हुन्छ । एक प्रसंगमा प्रसाईले सुनाए, एउटा क्यान्सर रोगीको अगाडि गफाडिले सहयोग संकलन गर्न सक्छ, तर व्यवसायीले चाहेमा अस्पताल बन्न सक्छ ।
फेस्टिबलका मुख्य आकर्षक प्रसाईले सिलिगुडी र जोगमनी जस्ता कयौं भारतीय बजार नेपालीले उँभो लगाएको धारणा राखेका छन् । देश बाहिरका बजार उँभो लगाउने नेपाली उपभोक्ताले आफ्नै बजारलाई उँभो लगाउन सक्ने दावी गरे । देशमा सबैभन्दा धेरै कर तिर्ने करदाता व्यापारी भए पनि व्यापारीको हितमा राष्ट्रको नीति नभएको प्रसाईको भनाई थियो । उनले कोरोना महामारीले व्यवसायको क्षेत्रमा ठुलो असर गरेको बताए । कोरोना महामारीबाट पीडित व्यवसायीको किस्ता २÷३ महिना पर धकेल्न राज्यले सहयोग गनुपर्ने थियो, प्रसाईले भने – नेताहरुलाई कुर्सीबाट एकअर्कालाई धकेल्नै फुर्सद नभएको टिप्पणी गरेका छन् ।
कोरोनाले व्यापार व्यवसाय चौपट बनाइरहेको र सर्वसाधरणमा तनाव पनि बढ्दै गइरहेकोले मनोरञ्जनात्मक कार्यक्रम सहित फेस्टिबल आयोजना गरिएको छ । उनले व्यवसायीलाई हतारो नगर्न र चिन्तित नहुन आग्रह समेत गरेका छन् । प्रसाईले सानै देखि बाहिरी कुरा सिक्दै आएकाले ठुलो भएर पनि बाहिर कै बजारप्रति आकर्षण भएको उदाहरण दिएका छन् ।
फ्लोरेन्स नाइटिङ्गेल सानैमा पढाइयो तर सति प्रथाको विरोधमा खोलामा हाम्फाल्ने योगमायाको जीवनी नपढाइएको भन्दै प्रसाईले अहिलेका बालबालिका सानैलेखि पिज्जा र बर्गरतिर लागेको प्रसंग सुनाए । उनले भने, हाम्रा नानीहरुले ‘आइलभ भाक्का’ भन्नुपर्नेमा ‘आइलभ पिज्जा’ भनिरहेका छन् । आफ्ना मौलिक खाना चिनाउन नसकेको उनको तर्क छ ।
सिलिगुडीलाई छोडेर अब बिर्तामोडका बजारमा किनमेल गर्नुपर्ने भन्दै उनले व्यवसायीलाई समेत सम्झाएका छन् । स्थानीय बजारको प्रवद्र्धनमा नेपाली उपभोक्ताकै सहयोग जरुरी रहेको उनको भनाई छ । उनले व्यवसायीको व्यवहार अनुसार व्यापार हुने बताए । उचित मुल्य र ग्राहकप्रतिको व्यवहार राम्रो भएमा मात्र व्यवसाय बढ्ने प्रसाईले सुझाव दिए । उनले भने, ग्राहकलाई नमज्जाले ढुट्याउने व्यापारीसँग त्यो ग्राहक फर्केर जाँदैन । पर्स नै रित्याउने मनसाय बोकेका व्यापारी कहाँ ग्राहक सात जुनी फर्केर आउँदैनन् । उनले ग्राहकलाई सुलभ मुल्य , सन्तुष्टि र मिठो बोलीको जरुरी भएको बताएका छन् ।







प्रतिक्रिया