बिर्तामोड । झापा बिर्तामोडका मत्स्य किसानले बजारमा विचौलियाका कारण उचित मुल्य पाउन नसकेको गुनासो गरेका छन् । बिर्तामोड नगरपालिकाले आयोजना गरेको तीन दिने तालिममा सहभागी किसानले विचौलियाको कारण उचित मुल्य नपाएको र व्यवसायीले भारतीय माछालाई प्राथमिकता दिएको गुनासो गरेका छन् ।

मेची माछा व्यवसायी संघका अध्यक्ष लक्ष्मी शिवाकोटीले स्थानीय किसानलाई बजारको समेत समस्या भइरहेको बताए । उनले बिर्तामोडका व्यापारीले भारतीय माछालाई धेरै प्राथमिकता दिएका कारण स्थानीय किसान मारमा परेको बताए । उनले बिर्तामोडस्थित कृषि थोक बजारमा किसानको माछा विक्रि वितरणमा ठुलो चुनौति रहेको बताए । शिवाकोटीले भने, कृषिथोकमा भारतीय माछाको विगविगी छ । दुःखका साथ भन्नुपर्दा ‘ इन्डियन कृषिथोक बजार भन्दा हुन्छ । ’ उनले स्थानीय किसानको माछा २÷४ केजी राखेर मन मात्रै राखिदिएको बताएका छन् । भारतीय माछालाई पूर्ण रुपमा निषेध गरेर स्थानीय माछालाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ । कृषिथोकमा किसानले माछा लिएर जाँदा बस्न दिइदैन, शिवाकोटीले भने – अब किसान एकजुट भएर बजारमा स्थानीय माछा विक्रि गर्नुपर्छ ।
मत्स्य पालक किसानलाई तीन दिने प्राविधिक तालिम दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख धु्रव शिवाकोटीले स्थानीय किसानले माछा उत्पादन बढाएर भारतीय माछा विस्थापित गर्नुपर्ने बताए । उनले भारतबाट विषादी भएको माछा आयात भइरहेको बताएका छन् । प्रमुख शिवाकोटीले नगरको योजनामा विषादीयुक्त माछाको आयात घटाएको जानकारी दिए । उनले भारतीय माछाको आयात रोक्न गरेको निर्णयलाई गलत प्रचार गरेकोमा दुःख व्यक्त गरे । ‘ स्थानीय माछाले बजार नपाइरहेको अवस्थामा विषादीवाला माछा रोक्न खोज्दा उल्टो खेदियो’ उनले भने – किसानमा एकता हुन जरुरी छ । अर्गानिक माछा उत्पादन गरेर बजारमा लैजान कुनै समसया नहुने भन्दै निर्धक्क माछा उत्पादनमा लाग्न आग्रह गरेका छन् ।
उपमेयर पवित्रा महतराले किसानलाई प्राविधिक ज्ञान नहुँदा धेरै समस्या भएकाले तालिमको आयोजना गरिएको बताइन् । उनले ज्ञान , सिप भएमा काम गर्न सहज हुने र जोखिम घट्ने बताएकी छन् । प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले माछाका लागि बजार अभाव नहुने बताए । उनले भारतबाट ठुलो परिमाणमा माछा आयात भइरहेको बताउँदै अर्गानिक माछा खपतमा समस्या नहुने किसानलाई विश्वास दिलाएका छन् । उनले नगरको तर्फबाट किसानलाई प्रोत्साहनको लागि केहि बजेट विनियोजन गरेर काम गर्दै आएको बताए । किसानकै सहयोगका लागि तालिमको आयोजना गरिएको उनको भनाई छ ।
पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले किसानलाई दक्ष बनाउन तालिमको आयोजना गरिएको बताइन् । उनले किसानलाई तालिमबाट मनग्ये ज्ञान हासिल गर्न आग्रह गरिन् । तालिममा मत्स्य संसाधन विकास तथा प्रविधि परिक्षण केन्द्र जनकपुरधामका वरिष्ठ मत्स्य अधिकृत रविलाल शर्मा सहजीकरण गर्नेछन् ।







प्रतिक्रिया