नेपाली माछा मिठो र स्वादिलो : शर्मा
बिर्तामोड । बिर्तामोड नगरपालिकाका मेयर धु्रव कुमार शिवाकोटीले कृषिथोक बजारलाई नगरको मातहतमा ल्याउन पहल भइरहेको बताएका छन् । उनले स्थानीय सरकारको मातहतमा ल्याएर कृषि बजारलाई घुम्नयोग्य बनाइने बताए ।
माछा पालन सम्बन्धी तीन दिने तालिम समापनको अवसरमा मेयर शिवाकोटीले बजारलाई स्थानीय तहको मातहतमा ल्याएर किसानमैत्री बजार बनाइने बताए । उनले आफु निर्वाचित भएपछि केन्द्र सरकारसँग कृषिथोक बजारलाई स्थानीय तहमा ल्याउन पहल गरिरहेको बताएका छन् । माछा किसानले कृषिथोक बजारमा स्थानीय माछा विक्रि वितरणमा समस्या भएको बताएपछि मेयर शिवाकोटीले बजारलाई नगरको मातहतमा ल्याएर त्यहाँभित्रका सबै समस्या समाधान गरिने बताएका हुन् । नगरको मातहतमा ल्याउन रोक्ने काम पनि भइरहेको सुनिरहेको छु, त्यो गलत भइरहेको छ – मेयरले भने । उनले स्थानीय सरकारको मातहतमा बजार ल्याउन सकेमा बजारको स्वरुप नै बदलिने दावी गरेका छन् ।
तालिमका मुख्य प्रशिक्षक मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्र जनकपुरधामका प्रमुख रविलाल शर्माले नेपाली पानी चिसो भएका कारण यहाँको माछा मिठो र स्वादिलो हुने बताए । उनले बजारीकरणका लागि गुणस्तरीय उत्पादन जरुरी हुने बताएका छन् । शर्माले पछिल्लो समय भारतबाट माछा आयात घट्दै गएको बताउँदै नेपालमा माछा उत्पादक किसान बढ्दै गएको जानकारी दिए ।
विर्तामोड क्षेत्रका माछा किसानले बजारीकरणमा समस्या भइरहेको जिकिर गरेका छन् । उनीहरुले भारतीय माछालाई मात्रै व्यापारी प्राथमिकता दिएको गुनासो गरे । किसानले नगरलाई बजार व्यवस्थापनमा सहयोगको अपेक्षा गरेका छन् । तालिम समापनमा किसानले नगरपालिकाले तत्कालै माछा परीक्षण ल्याव आवश्यक भएको बताएका छन् ।







प्रतिक्रिया