Banner news

निर्वाचनको तयारी थाल्न काँग्रेस सभापति देउवाको आग्रह

निर्वाचनको तयारी थाल्न काँग्रेस सभापति देउवाको आग्रह


लक्ष्मण पौडेल

भैरहवा। नेपाली कांग्रेसका सभापति सेरबहादुर देउवाले निर्वाचनको तयारीलाई अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोगले प्रभावकारी ढङ्गले चुनावको तयारी नथाल्दा आयोगप्रति शंका उत्पन्न भएको पनि उहाँले बताउनुभयो ।
नेपाली काँग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै देउवाले आगमी वैशाखमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले तयारी नगरेकोप्रति प्रश्न उठाउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि संवैधानिक व्यवस्था अनुसार त्यसको छ महिना भित्र निर्वाचन गराउनु पर्ने भए पनि त्यो अवस्थामा आयोग तयार नभएको भन्दै देउवाले शंका व्यक्त गर्नुभयो । प्रतिनिधिसभा विघटन संवैधानिक वा असंवैधानिक भन्नेबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भए पनि निर्वाचन आयोगको कामलाई अदालतले रोक नलगाएको बताउँदै उहाँले निर्वाचन आयोगलाई तयारी थाल्न आग्रह गर्नुभयो ।

“निर्वाचन आयोगले किन चुनाव गर्छु भन्दैन ? आयोगमाथि शंका गर्नुपर्ने भएको छ । किन तालिका सार्वजनिक गर्दैन ?” उहाँले भन्नुभयो–“चुनावको कार्यक्रम किन दिन सकेको छैन ?” देउवाले चुनाव नगराउने हो भने प्रष्ट भन्न आयोगलाई आग्रह गर्नुभयो ।

सभापति देउवाले ओली र प्रचण्डको झगडामा काँग्रेसको कुनै हात नभए पनि नेता कार्यकर्ताहरु दुइतिर विभाजित भएको उल्लेख गर्नुभयो । “यिनको झगडामा हाम्रो पार्टीको कुनै हात छैन । झगडामा हाम्रै पार्टीमा समस्या आएको छ । कसैले ओली ठीक भन्छन् कसैले प्रचण्ड ठीक भन्छन्”–उहाँले भन्नुभयो ।

देउवाले अदालतले चुनावमा जानुपर्छ भन्यो भने तयार हुनुपर्ने बताउनुभयो । उहाँले अदालतलाई विश्वास गर्न पनि आग्रह गर्नुभयो । “अदालतले चुनाव गराउँ भन्छ भने पनि ठीक छ । चुनाव भयो भने त्यो भन्दा ठूलो जनताको अदालतमा जाउँला । अदालतमा विचाराधीन मुद्दामा हामीले यस्तो गर उस्तो गर भन्न मिल्दैन”–देउवाले भन्नुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएसँगै चुनाव चिन्हका बारेमा दुबै समूहबाट दाबी भएको अवस्थामा यसको निर्णय निर्वाचन आयोगले समयमै गर्न नसकेकोप्रति देउवाले आलोचना गर्नुभयो ।

सभालाई संबोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले काँग्रेस सधै निर्वाचनको पक्षमा रहे पनि प्रतिनिधिसभा विघटनको भने विरोधमा रहेको बताउनुभयो । “हामी चुनावबाट भाग्दैनौ, तर सरकारले समयअगावै प्रतिनिधिसभा विघटन गरेर संविधानको उल्लंघन गरेको छ”–उहाँले भन्नुभयो । नेता खाणले सरकारका काम सन्तोषजनक नभएको पनि दावी गर्नुभयो । कम्युनिष्ट सरकारले तीन वर्षको अबधिमा जनताले महशुुुुस गर्ने गरी कुनैपनि काम नगरेको खाणले दावी गर्नुभयो । विरोधसभा अघि काँग्रेसले ¥याली निकालेको थियो । Gorkhapatra

शेयर गर्नुहोस :

0
Shares