बिर्तामोड

‘ पीडित पक्षले न्याय पाओस्, निर्दोष नफसोस्, दोषी नउम्किायोस् ’

‘ पीडित पक्षले न्याय पाओस्, निर्दोष नफसोस्, दोषी नउम्किायोस् ’


पथरी । गत पौष १४ गते बिहान पथरी शनिश्चरे नपा वडा नं. १० आदर्शटोलस्थित नेकपा, नेता युवराज बास्कोटाको घरमा मृतअवस्थामा भेटिएका सञ्जीव भण्डारीको विषय अहिले फेरि एकाएक चर्चामा आएको छ । छिमेकी नगरपालिकाको उर्लाबारीमा गत पौष ०५ गते घटेको नितान्त भिन्न प्रकृतिको एउटा घटनालाई लिएर ईलाका प्रहरी कार्यालय, उर्लाबारी घेराउ गरिएको लगत्तैपछि पथरीमा पनि सोही प्रकृतिको घेराउ गर्ने प्रयत्न भएको बुझिएको छ । 

पुलिस प्रशासनद्वारा घटनासम्बन्धी आवश्यक सम्पूर्ण विषयवस्तुउपर गहिरो अध्ययन अनुसन्धान भइरहँदा यस्तो खालको दवाव सिर्जना गर्ने, परस्पर एकले अर्कोलाई मानमर्दन गर्ने, अनुचित् टिकाटिप्पणी गर्ने, राज्यको कानुन र कानुन कार्यान्वयन गर्ने निकायप्रति अविश्वास गर्ने वा बढाउने खालका व्यवहारले घटनाको निष्कर्ष निकाल्ने कुरामा सहयोग गर्छ कि परिस्थितिमाझ भूमरी सिर्जना गर्छ ? विषयवस्तु किन यसरी तन्किरहेको छ ? सचेत मानिसले अनापेक्षित ढंगले सोच्ने गरेको छ । पथरी शनिश्चरे नपा वडा नं. १० कै जिरिखिम्ती निवासी दिवंगत सञ्जीव भण्डारी केही समययता बास्कोटाकै घरमा आउने र अबेर हुनासाथ यहिँ बस्ने गर्दथे ।

दुबैजना एउटै वडाबासी र एउटै पार्टीका नेता–कार्यकर्ता हुनुले सम्बन्ध बढेको थियो । अचानक यो घटना घटेपछि अहिले विषयवस्तुलाई अलिक अतिरञ्जनापूर्ण ढंगले अघि ल्याइएको स्थानीय जानकारहरू बताउने गर्छन् । १३ गते सँगसँगै बेलुकाको खाना खाएर सुतेका भण्डारी १४ गते बिहान करीब ७ बजे मृतअवस्थामा फेला परेका थिए । बिहानबिहानै आफ्नै घरमा मृत अवस्थामा देखिएका भण्डारीको सन्दर्भलाई बास्कोटाले ईलाका प्रहरी प्रमुख– प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीलाई खबर गरेका थिए । खबर गर्दा– मेरो घरमा एउटा यस्तो अप्रिय घटना घट्यो । धुकधुकी छ कि ! बचाउन सकिन्छ कि ! सकेसम्म एउटा उम्दा डाक्टर उपलब्ध गराइदिनुस् न डीएसपी साहब ! भनेर आफूलाई फोनमार्फत बास्कोटाले आग्रह गरेको समेत हाल नवलपरासीमा कार्यरत प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरी स्मरण गर्छन् ।  म राजनीतिक कार्यकर्ता, राजनीतिक कामले जिल्लाबाहिर जानुपर्ने थियो ।

ईलाका प्रहरी प्रमुख– प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीको सल्लाहानुसार म कहिँ गइनँ । हुन पनि जुनकुनै कारणले होस् ! मेरो घरमा यस्तो अप्रिय घटना घटेको छ । यसको सुक्ष्म अध्ययन अनुसन्धान हुनुपर्छ भन्ने लागेको छ । यसबीचमा घटनासम्बन्धी पुलिस प्रशासनलाई अध्ययन अनुसन्धानमा सहयोग गर्दै आएको छु । पुलिसको प्रारम्भिक प्रकृति अध्ययन प्रतिवेदन, स्थानीय सर्जिमन, विधिविज्ञान प्रयोगशालाको निष्कर्षहरू स्वीकार्य हुन्छन् नै । योबाहिर कोही पनि छैन-हुँदैन । मलाई पनि यही लागू हुन्छ– यसबीचमा विभिन्न माध्यमबाट निरपेक्ष ढंगले एकोहोरो दोष सहँदै आएका बास्कोटाले भने । पीडित पक्षले न्याय पाओस्, निर्दोष नफसोस्, दोषी नउम्किायोस् भन्ने मूल ध्येयका साथ विषयवस्तुको गहिरो अध्ययन अनुसन्धान गरिरहेका छौं । कुनै राजनीतिक दवाव र स्वार्थबाट प्रेरित हुनुपर्ने केही छैन । यस्तो सह्य र मान्य हुँदैन । यस्ता विषयमा कुनै पनि खालको प्रतिशोधले खास केही अर्थ राख्दैन– घटनाक्रमसँग उठेका केही जिज्ञासाहरू मेट्दै ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख– प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताए ।

शेयर गर्नुहोस :

0
Shares