बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघको निर्वाचन आज विहान ८ बजेदेखि शुरु हुँदैछ । बेलुका साँझ ५ बजेसम्म अग्रसेन भवनमा मतदान हुने निर्वाचन समितिले जनाएको छ । अग्रसेनमा मतदान हुन्छ भने अतिथि सदनमा गणना हुनेछ ।
धेरै दिनदेखिको व्यवसायीको पर्खाइ आजबाट अन्त्य हुदैछ । जिल्लाकै ठुलो बजार बिर्तामोडको वाणिज्य संघको निर्वाचनले सबैको ध्यान तानेको छ । आज हुने निर्वाचनमा नेकपा, राप्रपाको संयुक्त व्यवसायिक प्यानल र नेपाली कांग्रेसको लोकतान्त्रिक व्यवसायिक प्यानल चुनावी मैदानमा उत्रिएको छ । संयुक्तबाट सुवास भट्टराईले नेतृत्व गरेका छन् भने लोकतान्त्रिकबाट प्रकाश शिवाकोटीले नेतृत्व गरिरहेका छन् ।

कांग्रेसको गढ भत्काउने दाउमा रहेको संयुक्त व्यवसायिक प्यानलले यो निर्वाचनमा आफुहरुको जनमत बलियो देखिएको जनाएको छ । यता, कांग्रेसको प्यानलले पनि आफुहरु कमजोर नरहेको दावी गर्दै आएका छन् ।
संघको १९ सदस्यीय कार्यसमितिमा ३९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । त्यसमध्ये आवश्यक प्रक्रिया नपुगेको ४ जनाको उम्मेद्वारी रद्द गरिएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत शेखर प्रसाद ढकालले जानकारी दिए । १ जना जनसम्पर्क उपाध्यक्ष , २ खुल्ला सदस्य र १ महिला सदस्यको उम्मेद्वारी रद्द गरिएको ढकालले जानकारी दिए । संघमा ११ जना पूर्व अध्यक्ष सहित ४५ सय ५० जना मतदाता रहेको बताइएको छ ।
‘फेक’ मतको जोखिम
फागुन १६ गते हुने बिर्तामोड उधोग वाणिज्य संघको निर्वाचनमा ‘फेक’ मतको जोखिम बढेको छ । यसअघिका निर्वाचनमा ‘फेक’ मतले निर्वाचनको परिणाम नै उल्टाएको बिर्तामोडका व्यवसायी बताउँछन् ।
आज हुने निर्वाचनमा मत हाल्नका लागि चाहिने कार्ड अझैसम्म व्यवसायीको हातमा नपुगेपछि जोखिम बढेको केहि उम्मेद्वार बताउँछन् । संयुक्त प्यानलका एक उम्मेद्वारले भने, अहिले पनि मतदाताको हातसम्म कार्ड पुगेको छैन, वाणिज्य संघले ठुलो षडयन्त्र गरिरहेको छ । उनका अनुसार सबैका कार्ड आफै बोक्ने र आफ्नै मान्छे पठाएर आफैलाई मत हाल्न लगाउन सक्ने जोखिम बढेको छ ।
स्वच्छ निर्वाचनका लागि मतदाताले आफ्नो मत आफै हाल्न पाउनुपर्छ, ती उम्मेद्वार भन्छन् – ‘मतदानमा धाँदली हुन सक्ने भएकाले बेलैमा सबैलाई सचेत हुन भनिएको छ ।’ विगतमा जस्तो अरुको कार्ड राखेर आफै भोट हाल्ने प्रवृति अन्त्य हुनुपर्छ, उनले थपे । वाणिज्य संघले करिव १ हजार कार्ड व्यवसायीको हातसम्म पुग्न नदिएको दावी गरे । संघका अध्यक्ष कुमार भट्टराईले ९९ प्रतिशत व्यवसायीले कार्ड बुझिसकेको दावी गरे ।
रुजुमा कडाई
वाणिज्य संघको निर्वाचनमा मत हाल्ने व्यक्तिको पूर्ण निगरानी हुने भएको छ । त्यसका लागि सीसी क्यामेरा जडान गरिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनसहित मतगणनामा समेत सीसी क्यामेरा जडान गरिने बताइएको छ ।
फेक मतदाता रोक्नका लागि मतदातालाई सरकारी परिचय पत्र अनिवार्य गरिएको छ । शनिवार निर्वाचन समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा वाणिज्य संघले दिएको कार्डको सिरियल नम्बर र पान नम्बर हालेर सफ्टवेयर मार्फत जाँच गरेर मात्रै मतदान गर्न दिने जानकारी दिइएको छ । एक पटक मत हालेपछि दोस्रो पटक त्यहि कार्डबाट मतदान गर्न नमिल्ने सफ्टवेयर बनाइएको समितिले जनाएको छ ।







प्रतिक्रिया