झापा । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सञ्चालन गरेको १६ दिने व्यक्तिगत घटना दर्ता अभियानका क्रममा ४२ हजार ३७० घटना दर्ता भएका छन् ।
विभागले वैशाख १ देखि १६ गतेसम्म मुलुकभर जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइसम्बन्धी व्यक्तिगत घटना दर्ता अभियान सुरु गरेको थियो । पञ्जीकरण निर्देशक युवराज कट्टेलले कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण अभियान अपेक्षाअनुरूप सफल नभएको बताउनुभयो । उहाँले १६ दिनमा जन्म दर्ता २८ हजार ८१२, मृत्यु चार हजार ४४९, विवाह पाँच हजार ५०८, सम्बन्ध विच्छेद २१२ र बसाइँ सराइसम्बन्धी तीन हजार ३९० घटना दर्ता भएको जानकारी पनि दिनुभयो ।

विभागका अनुसार प्रदेश १ को १४ जिल्लाको ५९ स्थानीय तह, प्रदेश २ को सात जिल्लाको २९ स्थानीय तह, बागमतीको १० जिल्लाको ४० स्थानीय तह, गण्डकीको १० जिल्लाको १९ स्थानीय तह, लुम्बिनीको ११ जिल्लाको ३३ स्थानीय तह, कर्णालीको सात जिल्लाको १७ स्थानीय तह र सुदूरपश्चिमको आठ जिल्लाको २६ स्थानीय तहमा घटना दर्ता अभियान सञ्चालन भएको थियो ।
प्रदेश २ को पर्सा, बागमतीको भक्तपुर, ललितपुर, नुवाकोट, गण्डकीको पर्वत, लुम्बिनीको रुकुम पूर्व, कर्णालीको डोल्पा, हुम्ला र मुगु जिल्लामा विभिन्न कारण जनाउँदै यो अभियान सञ्चालन हुन सकेन । पञ्जीकरण निर्देशक कट्टेलले सुदूरपश्चिमको डडेल्धुरामा त्यसअघि सम्पन्न भएको जानकारी दिनुभयो ।
अघिल्लो वर्ष जन्म दर्ता नौ लाख २५ हजार, मृत्यु एक लाख ७० हजार छ सय, विवाह दुई लाख ७३ हजार नौ सय, सम्बन्ध विच्छेद पाँच हजार ८४६ र बसाइँ सराइ ९२ हजार दुई सय घटना दर्ता भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन लागू भएपछि घटना दर्ता
अनिवार्य भएको छ ।
त्यस्तै मुलुकको ७७ जिल्लाको ७५३ पालिकाको छ हजार ७७३ वडा कार्यालयहरूबाट व्यक्तिगत घटना दर्ता गर्न सकिन्छ । तीमध्ये दुई हजार ८३० वडा कार्यालयहरूबाट अनलाइनमार्फत घटना दर्ता व्यवस्था रहेको छ ।
विभागले व्यक्तिगत घटना दर्ता विकास निर्माण र योजनाको आधार बन्ने भएकाले कम्तीमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । हालसम्म दुई करोड ५४ लाख १७ हजार ४६८ वटा घटना दर्ता भएका छन् ।







प्रतिक्रिया