झापाको कनकाई नगरपालिका धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा स्थापित छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारमा अब्बल बन्दै गइरहेको कनकाईले कृषि क्षेत्रलाई उच्च प्राथमिकतमा राखेर काम गरिरहेको छ । कृषिमा पालिकाले उल्लेखनीय काम गर्दै आएको तथ्याङकमा पाइएको छ । अबको दुई वर्षभित्र कृषि जन्य वस्तुमा आत्मनिर्भर हुने कनकाईले लक्ष्य बनाएको छ ।
पछिल्लो तीन वर्ष यता कनकाईले सिचाइँमा विशेष प्राथमिकता दिएर काम गरिरहेको छ । कृषि क्षेत्रमा बिकास गर्न सबैभन्दा पहिले सिचाइँको आवश्यकता पर्ने भएकाले सिचाइँमा लगानी गरेको कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले बताएका छन् । सिचाइँको अभावमा वर्खामा धान खेती मात्र हुने र हिउँदे खेती नहुने भएकाले सिचाइँलाई पहिलो प्राथमिकता दिएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘जमिनमा सिचाइँको व्यवस्था गर्ने हो भने मात्र कृषि गर्न सकिन्छ । सिचाइँ कृषिको पहिलो आवश्यकता हो ।’ कनकाईले तीन वर्ष यता कृषि क्षेत्रमा सिचाइँको विकासको निम्ति चार सय वटा बोरिङ वितरण गरिसकेको कृषि शाखा प्रमुख उप्रेतीले बताए । यसै वर्ष पनि कनकाईले तीनसय वटा बोरिङ मोटर वितरण गर्न बजेट विनियोजन गरेको छ । सिचार्इँमा आत्मनिर्भर भए मात्र कृषिमा आत्मनिर्भर हुन सकिने उनीहरुको बुझाई छ ।
कनकाईले कृषिमा उत्पादकत्व बढाउने काममा पनि लागि परेको छ । धानमा राज्यको उत्पादकत्व ४ दशमलव ५ टन प्रति हेक्टर हुँदा मलको चरम अभावका बाबजुद कनकाईमा ४ दशमलव ९ टन प्रति हेक्टर रहेको कृषि शाखा प्रमुख उप्रेतीले जानकारी दिए ।
कनकाईमा धानको उत्पादकत्व राम्रो भएकोले पालिकाले धानको बिउ वितरणमा विशेष ध्यान पु¥याएको छ । राम्रो बिउ हुँदा मात्र राम्रो उत्पादन हुन्छ । पहिलो पुस्ताको बिउलाई उत्पादनको हिसाबले सबैभन्दा राम्रो मानिन्छ । भनिन्छ, पहिलो पुस्ताको बिउले अन्य बिउभन्दा २५ प्रतिशतसम्म बढि उत्पादन दिन्छ । त्यसैले कनकाईले ठूलो परिमाणमा धानको बिउ वितरण गर्ने गरेको छ । कनकाईले ५० प्रतिशत अनुदानमा नगरका सबै किसानहरुलाई धानको बिउ उपलब्ध गराउने गरेको कृषि शाखा प्रमुख उप्रेतीले दावी गरे । उनी भन्छन्, ‘नगरले टेण्डर प्रोसेसबाट बिउ खरिद गरेको हुन्छ । जसले गर्दा खुद्राभन्दा सस्तो पर्छ । त्यसको पनि आधा मात्र किसानले तिर्दा किसानलाई धेरै फाइदा भएको छ ।’
कनकाईले प्रत्येक वर्ष १५ देखि २० प्रतिशत धेरै धान उत्पादन गर्ने लक्ष्य समेत लिएको छ । यसका लागि आवश्यक पर्ने बिउ उत्पादनको निम्ति कनकाईले ५० बिघा जमिनमा बिउ उत्पादनको काम गरिरहेको छ । साथै कनकाई बिउ उत्पादनको काम प्रत्येक वर्ष बढाउँदै लाने तयारीमा छ ।
कनकाईले हाल तरकारीमा न्यून लगानी गरेको छ । कृषि शाखा प्रमुख उप्रेती भन्छन्, ‘हामीले तरकारी तिर खासै हतार गरेका छैनौं । तरकारी उत्पादन गर्न लगायो किसानले दाम पाउँदैन ।’, उनी भन्छन्, ‘तरकारीको उचित दाम माग गर्ने ठाउँ पनि छैन । त्यसैले हाम्रा किसानहरुले उत्पादन गरेको अर्गानिक तरकारीको बेग्लै बजार बनाएर मात्रै तरकारीमा ठूलो मार्जिनमा काम गर्ने हाम्रो उद्देश्य हो । हामीले त्यसको लागि वडा नम्बर ३ मा कृषिथोक बजार निर्माण गरिरहेका छौं । जसको काम अन्तिम चरणमा पुगेको छ ।’
कनकाईमा बर्खामा पनि तरकारी खेती हुने जमिन रहेको कृषि शाखा प्रमुख उप्रेतीले बताए । उनी भन्छन्, ‘हाम्रो भुगोल चुरेसँग जोडिएकाले हामीसँग बर्खामा पनि तरकारी उत्पादन गर्ने जमिन छ । सिजनल खेती गरेर किसानलाई खासै पोसाउँदैन । त्यसैले हामी किसानहरुलाई बेमौसमी तरकारी खेतीमा अग्रसर गराउँछौं र उहाँहरुलाई आम्दानी पनि गराउँछौं ।’, उनी भन्छन्, ‘हामी किसानहरुलाई असोज–कात्तिकमै बोडी, कोपी उत्पादन गर्ने वातावरण बनाउँछौं । त्यसका निम्ति बिउको व्यवस्थापन नै यसै अनुरुप गर्ने गरेका छौँ । हामी किसानहरुलाई बिउ वितरण गर्दै भदौ–असोजमा बोडी र असोज–कात्तिकमा काउली उत्पादन गर्ने गरी काग गर्दैछौँ ।’
तरकारीमा राम्रो मूल्य प्राप्त हुने भएकाले किसानहरु आकर्षित हुने कृषि शाखा प्रमुख उप्रेतीको दावी छ । उनी भन्छन्, ‘कनकाईमा उत्पादन हुने तरकारी स्वस्थ्य र अर्गानिक छ भनेर बजारमा लैजानलाई हामीले २०० जना माथि किसानहरुलाई समूहगत गरेका छौँ । उहाँहरुलाई हामी आइपिएम पद्धतिबाट तरकारी उत्पादन गर्ने तालिमहरु प्रदान गरिरहेका छौँ । हामी ठूलो काम गर्नभन्दा पनि सानो सानो कामबाटै रिजल्ट निकाल्न लागिरहेका छौं ।’

यद्यपि कनकाईले आउँदो दुई वर्षमा नगरलाई तरकारीमा आत्मनिर्भर गर्ने र तेस्रो वर्षबाट अन्य क्षेत्रमा पनि बेच्ने लक्ष्य राखेको छ । कनकाईमा हाल ४० बिघा जमिनमा सिजनल तरकारी खेती भइरहेकको छ । साथै, १५ वटा फार्महरुले वेमौसमी तरकारी उत्पादन गरिरहेको कृषि शाखा प्रमुख उप्रेतीले बताए । कनकाईले वार्षिक करीब २०० किसानलाई तरकारी खेती सम्बन्धि तालिम र प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ ।
कृषिमा प्रगति गर्नका निम्ति थुप्रो समस्या रहेको कृषि शाखा प्रमुख उप्रेतीले बताएका छन् । किसानहरुलाई व्यवसायिक खेतीमा लगाउँनै समस्या छ । उनीहरुलाई आवश्यक मात्रामा मल, बिउ र प्राविधिक सहयोग पु¥याउन नसकेका कारण उनीहरु व्यवसायिक कृषिमा खासै उत्प्रेरित हुँदैनन् । झन् प्राकृतिक प्रकोपले क्षति गरे त्यसको अनुगमन मात्र हुन्छ, राहत हुँदैन । खासमा किसानलाई बारीमा राखिराख्नै मुस्किल छ । अघिल्लो वर्ष धानमा ठूलो क्षति भयो । राज्यले अनुगमन मात्र गर्यो । राहत दिएन । कृषि पेशा गर्दा राज्यले हेर्ला सहयोग गर्ला भन्ने नै छैन, किसानहरुमा । किसानहरुलाई व्यवसायिक हुनुहोस् भन्ने आधार छैन । कृषि शाखा प्रमुख उप्रेती बताउँछन्, ‘यद्यपि हामीले हाम्रो ठाउँबाट कृषक उत्पादन गर्ने र व्यवसायमा टिकाउने प्रयत्न गरिरहेका छौँ ।’
किसानलाई विभिन्न सेवा उपलब्ध गराउने कुरामा पनि समस्या रहेको छ । किसानहरु खेतमै हुन्छन्, उनीहरु कागजात मिलाउन धाएर नगरपालिका आउन भ्याउँदैनन् । उनीहरुको बाली बीमादेखि लिएर के अनुदान चाहिएको छ बारीमै गएर अनुगमन गर्नुपर्छ । र, त्यसै अनुरुप वितरण गर्नुपर्छ । माटो मिलाउने किसानलाई कागज मिलाउने प्रोसेस निक्कै झन्झटिलो रहेको छ । किसानलाई यो झन्झटबाट निकाल्न कनकाई नगरले प्रयत्न गरिरहेको कृषि शाखा प्रमुख उप्रेतीले बताए ।
हामीले किसानहरुलाई बाली क्षति हुँदा आवश्यक क्षतिपूर्ती समेत दिन सकेका छैनौं । झापाबाट पोहोर ३७ करोडको क्षति भएको विवरण हामीले संघीय सरकारमा पठाएका थियौं । तर, ३७ रुपैयाँ पनि आएन । त्यस कारण किसानहरुलाई सरकारप्रति अविश्वास उत्पन्न भएको छ । देशका लागि किसान र किसानका लागि सरकार आवश्यक हुने कृषि शाखा प्रमुख उप्रेतीको भनाई छ । उनी भन्छन्, ‘केन्द्रले आफू त बदनाम भयो भयो हामीलाई पनि बदनाम बनाएको छ । अनुगमन गर्न हामी जान्छौं र किसानसँग पनि हामी नै जोडिने भएकाले किसानहरुले हामीसँग सिधा प्रश्न राख्नुहुन्छ । कहिलेकाहीँ त हामीले नै रकम लिएर खाए झैं गाली पनि गर्नु हुन्छ ।’
कृषि क्षेत्रमा किसानले जबसम्म अर्थोपार्जन गर्ने अवस्था बन्दैन तबसम्म आकर्षण नहुने कृषि शाखा प्रमुख उप्रेतीले बताएका छन् । उनी भन्छन्, ‘हामीले कृषि प्रदर्शनी, तालिम प्रदान गर्ने, किसानहरुको गुनासो सुन्ने र समाधान गर्ने कामहरु गरिरहेका छौँ । साथै हामीले किसानहरुलाई प्राविधिक सहयोग पनि दिरहेका छौं । तर, यि सबै कार्यक्रमबाट आकर्षण हुँदैन ।’, उनी भन्छन्, ‘हामीले किसानलाई अर्थोपाजनसँग जोड्ने किसिमको कार्यक्रमको पनि अध्ययन गरिरहेका छौँ । उहाँहरुलाई कृषिबाट आम्दानी हुन्छ भन्ने कुराको विश्वासको दिलाउने गरी हामीले काम गरिरहेका छौँ ।’
कनकाईको कृषिमा बिकासको निम्ति अन्य संस्थाहरुले पनि सहयोग गरिरहेका छन् । कनकाईमा कारितास नेपाल किसानहरुलाई आइपिएम तालिम दिने गरेको छ । कनकाईले कारिताससँग पञ्च वर्षीय योजना बनाएर काम गर्न लागेको कृषि शाखा प्रमुख उप्रेतीले बताएका छन् । त्यसैगरी बजारीकरणमा मद्दत गर्न सहज नेपालले समन्वय गरिरहेको छ । यसले बजार प्रबद्र्धन गर्ने काम गरिरहेको छ । कनकाईले संघ–संस्थासँग साथै प्रदेश र संघीय सरकारसँगको पनि सहकार्यमा उल्लोखनीय काम गरेको देखिन्छ । कनकाईमा कृषिमय वातावरण तय भइसकेको कृषि शाखा प्रमुख उप्रेतीको दावी छ ।
वि.सं. २०७४ सालमा स्थानीय निकाय हुनुपूर्व जिल्लाले नै सबै कुरा हेथ्र्यो । जिल्ला कृषि विकास कार्यालय थियो । ऊसँग एकदमै न्यून बजेट हुन्थ्यो । त्यही पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यता थियो । चन्द्रगडी गएर किसानहरुलाई सेवा लिन नै गाह्रो थियो । एउटा सानो कामको लागि जिल्ला धाउन पर्ने बाध्यता थियो । र्फाम दर्तादेखि समूह दर्तासम्म जिल्लामै हुन्थ्यो । किसानहरुलाई कागजात बोकेर धाउँनै कठिन थियो । जिल्लाको न्यून बजेटले केही पहुँचवालाहरुको मात्र काम सम्पन्न हुन्थ्यो । तर, हाल पालिकामा कृषि शाखा आएपछि किसानसम्म कृषि शाखा पुगेको छ । स्थानीय सरकार नहुँदासम्म किसानले कृषि क्षेत्रको बिकास अनुभव गर्न पाएकै थिएनन् । हाल कृषि सम्बन्धी प्रायः सम्पूर्ण काम पालिकाबाटै हुन्छ । अहिले पनि केही किसानहरु पाइन्छ जो नगरले अनुदान दिन्छ भन्दा छक्क पर्नुहुन्छ । किसानलाई सरकारले अनुदान, तालिम, बिउबिजन र प्राविधिक सेवा उपलब्ध गराउँछ भन्ने कुरामा स्थानीय तहले विश्वस्थ बनाएको कृषि शाखा प्रमुख उप्रेतीको भनाई छ ।
कृषि शाखा प्रमुख उप्रेती बताउँछन्, अहिले केही नभए पनि सबै पालिकाको कृषि शाखामा दुई जना कर्मचारीहरु रहेका छन् । जिल्लाभरीमा कम्तिमा ३० जना कर्मचारी छन् । पहिला जम्मा ८ देखि १० जनाले सम्पूर्ण जिल्ला भरीको कृषि हेर्दाभन्दा निक्कै बिकास भएको कृषि शाखा प्रमुख उप्रेतीको दावी छ ।
जिल्लामा भर्खर कृषि सुरुवात हुँदैछ । हामीले प्राथमिकतामा सिचाइँ, खाद्यान्नमा आत्मनिर्भरता र निर्यात रहेको छ । साथै तरकारीमा आत्मनिर्भरता र निर्यातसँगै कृषिमा यान्त्रीकरण हाम्रो मुख्य उद्देश्य हो । अबको पाँच वर्ष भित्र आफ्नो लक्ष्य पूरा गर्ने गरी हामी लागेका छौँ । खाद्यान्नमा कनकाई धानमा लगभग आत्मनिर्भरको चरणमा पुगिसकेको छ । साथै मकैमा पनि उत्पादन बढिरहेको कृषि शाखा प्रमुखले बताए । कनकाईले वडा नम्बर ५ मा मकैको पकेट क्षेत्र निर्माण गरेको छ । साथै सबै वडामा बेर्ना उत्पादन गर्ने गरेको छ । किसानहरुले त्यहाँबाट एकदमै न्यून शूल्कमा तरकारीको बेर्नाहरु खरिद गर्ने गर्दछन् ।
कनकाईले कृषिमा आधुनिकीकरणको निम्ति मकै रोप्ने मेसिन र स्प्रे टेङ्की लगायतको सामानहरु अनुदानमा वितरण गरिरहेको कृषि शाखा प्रमुख उप्रेतीले जानकारी दिए । कनकाईमा १७ वटा कृषि सहकारी र ६० वटा कृषि समुहहरु सक्रिय रहेका छन् । साथै २५ वटा कृषि र्फाम पनि सक्रिय रहेको छ ।
कनकाईले कृषि क्षेत्रमा ऐनगत कठिनाइ नहोस भनेर पहिले नै नगर कृषि ऐन बनाएको छ । कनकाईले संघ र प्रदेशको ऐनमा टेकेर कृषि ऐन बनाएको छ । साथै कनकाईले हरेक वडामा किसानहरुको प्रतिनिधित्व हुने गरि ‘कृषि बिकास प्रवद्र्धन उपसमिति’ निर्माण गरेको छ । कनकाईको कृषि शाखाले वर्ष भरी कृषि क्षेत्रमा के–के काम कसरी गर्ने भन्ने सम्पूर्ण निर्धारण यही समितिले गर्दछ । कृषि क्षेत्रको बिकासमा किसान आफैंले नीति निर्धारण गर्दा काम गर्न सजिलो र जनप्रिय काम हुने भएकाले यस समितिको निर्माण गरिएको कृषि शाखा प्रमुख उप्रेतीले बताएका छन् ।
यस वर्षको असिनासहितको हावापानीले कनकाईमा १० करोड बढिको मकै क्षति भएको र करीब करोडको तरकारी क्षति भएको कृषि शाखाले जनाएको छ ।
……….
‘व्यवसायिक कृषिले गुजरा चल्छ’
कनकाई नगरपालिका वडा नम्बर ४ निवासी डिल्ली सिटौलाले आफ्नो सम्पूर्ण जीवन कृषिमै व्यथित गरेका छन् । उनी आफ्नो तीन बिघा जमिनमा तरकारी खेती, मकै खेती र धान खेती गर्दै आएका छन् । उनले कृषि गरेरै आफ्ना दुई छोराहरुलाई उच्चशिक्षा दिलाए ।
जैविक तथा प्राङ्गारिक खेतीका अभियान्ता सिटौला व्यवसायिक रुपमा कृषि गर्दा जीवन गुजारा गर्न कठिन नहुने बताउँछन् । उनी भन्छन्, ‘योजनाबद्ध तरिकाले कृषि गर्ने हो भने जीवन चलाउन गाह्रो छैन । मैले पनि जोत्न कै निम्ति सडक विभागको जागिर छाडेको थिए । कृषिमा मनग्य आम्दानी छ । बस लगनशील चाहीँ हुन परो ।’
जैविक तथा प्राङ्गारिक खेती गर्दा लागत धेर हुने तर आम्दानी कम हुने उनको अनुभव रहेको छ । आम्दानी कम भए पनि यसरी उत्पादित खाद्यान्न तथा तरकारी खाएमा स्वास्थ्यमा खर्च कम हुने उनी बताउँछन् । उनी भन्छन्, ‘आइपिएम पद्धतिको सेमी अर्गानिक वा जैविक तथा प्राङ्गारिक खेती जुन किसिमको खेती गरे पनि कनकाई नगरपालिका किसानहरुप्रति उत्तरदायी छ । नगरले किसानहरुलाई आफ्नो स्रोत साधनले भ्याएसम्म सहयोग गरेको छ/गर्छ ।’
प्रस्तुति : गगन ढकाल







प्रतिक्रिया