बिर्तामोड । झापाको अर्जुनधारा धाममा अब पैसावाला र कामकाजी भक्तजनहरुबीच फरक छुट्टिने भएको छ । अर्जुनधारा जलेश्वर धामको नयाँ नियमले भक्तजनहरुलाई छुट्टाउने भएको हो ।
अर्जुनधारा जलेश्वर धामले साउने सोमवारलाई लक्षित गरेर शिघ्र दर्शनका नाममा २ सय रुपैँया शुल्क लिन थालेपछि घण्टौंदेखि लाइनमा बस्नेहरुलाई थप दुख हुने निश्चित भएको छ । भगवानको दर्शन गर्न आउने भक्तजनहरुबीच पैसा लिएर लाइनमा नराखी दर्शन गराउने कार्यको भक्तजनहरुबाटै विरोध भइरहेको छ ।
सबैको काम हुन्छ र हतार पनि हुन्छ, पैसा तिर्ने भक्तजनलाई प्राथमिकतमा दिएर दर्शन गराउनु वर्गीय विभेद हो, कतिपय भक्तजनले भनेका छन् । भगवानका लागि सबै भक्तजन बराबर हुन्, तर धाम समितिले फरक–फरक हुन् भन्ने बनाइदियो, अर्का भक्तजनले प्रतिक्रिया दिए ।
गत सोमवारदेखि अर्जुनधारा जलेश्वर धामले भिड नियन्त्रणको नाममा शिघ्र दर्शन गराएर भक्तालुसँग दुई सय देखि ५ सयसम्म लिन थालेको छ । उक्त निर्णयको चौतर्फी विरोध भइरहे पनि धामले फेरि विज्ञप्ति सार्वजनिक गरेर अशक्त असहाय, वृद्धवृद्धालाई निशुल्क दर्शन गराइने स्पष्ट बनाएको छ । यता, शिघ्र दर्शनका लागि अन्यको हकमा दुई सय रुपैयाँ लिने निर्णय भएको जनाएको छ । अब धाममा शिघ्र दर्शन गर्ने, लाइनमा बस्न नचाहने भक्तालुले २ सय तिरेपछि घण्टौंसम्म लाइनमा बस्नेहरुको अगाडि तुरुन्तै दर्शन गरेर फर्कन पाउनेछन् । एक भक्तालु भन्छन्, एकै पटक १ सय जनाले शिघ्र दर्शनका लागि २ सय बुझाए भने उनीहरु चै लाइनमा बस्नुपर्छ कि पर्दैन ?
व्यापार व्यवसाय भएका, जागिरेहरुका लागि लक्षित गरेर शिघ्र दर्शनको व्यवस्था मिलाइएको धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । उनका अनुसार सबैलाई दर्शन निशुल्क गरिएको छ । तर, लाइनमा नबसी सिधैं दर्शन गर्न चहानेहरुले २ सय रुपैयाँ बुझाए हुनेछ । सोही विधिबाट धामले गत सोमवार ३१ हजार रुपैयाँ उठाएको कोषाध्यक्ष जोशीले बताए । जोशीका अनुसार धामले टेण्ट, पानी, खानासम्मको व्यवस्था मिलाएको छ ।
शिघ्र दर्शनका लागि धामले १ जना बराबर २ सय र पाँच जनाको सदस्य भएको परिवारले पाँच सय बुझाए हुनेछ । सो व्यवस्थापछि आस्थाको केन्द्र मन्दिरमा भक्तजनहरुमा पक्षपात गरिएको प्रतिक्रिया आइरहेका छन् । धाममा भिडभाड हुने समय सधैं उक्त नियम लागु हुने जोशीको भनाई छ । उनले भने – भीडलाई नियन्त्रण गर्न मात्रै यो निर्णय गरेका हौं, पैसा उठाउने नियत होइन ।
धाममा ३ वटा द्वारबाट मन्दिर प्रवेश गरेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ । निशुल्क र सशुल्कका लागि अलग्गै द्वार व्यवस्था नहुँदा घण्टौंसम्म लाइनमा बस्ने भक्तजन फेरि मारमा पर्न सक्नेछन् ।
यसै सन्दर्भमा नेपाली कांग्रेसका अर्जुनधारा सभापति हेमराज खरेलले मन्दिर समितिको उक्त निर्णय प्रति विरोध जनाएका छन् । उनले धाम समिति व्यापारिक दृष्टिकोणले अघि बढेको भन्दै विरोध जनाए । नेता खरेलले पूर्वको पशुपति नाथको रुपमा परिचित धामलाई व्यापारिक रुपमा अघि बढाउन नहुने भन्दै ध्यानाकर्षण गराएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा नारायण घिमिरेले गोजी रित्तो भएकाले नजिकैको शिवलाई दर्शन गरेर फर्किएको स्पष्ट बनाएका छन् । अर्जुनधारा धाम दर्शन गएको इन्ट्री फी २०० लेखेर छिर्नै नदिएको उल्लेख गरेका छन् । उनले गोजी रित्तो भएकाले नजिकै शिवलाई विन्ति बिसाएर चित्त बुझाएको जनाए ।
धामका गुरु आचार्य हेमन्त भण्डारीले भक्तजनको सुविधाका लागि शिघ्र दर्शनको व्यवस्था मिलाएको जानकारी दिएका छन् । उनले एक भिडियो सन्देश मार्फत भक्तजनको दानकै कारण धामको दिनको दुई गुणा, रातको चौगुणा उन्नती भइरहेको बताएका छन् ।







प्रतिक्रिया