लक्ष्मी उप्रेती
मेचीनगर । मेचीनगर नगरपालिकाले नगरका विभिन्न स्थान र सडकभरि जथाभावी लत्रिएर दुर्घटनाका कारण बन्दै आएको केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका तारहरु व्यवस्थापन गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । तार र पोलको व्यवस्थापन गर्न सरोकारवालालाई नगरपालिकाले निर्देशन समेत दिएको छ ।
मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सरोकारवाला निकायबीच विहीबार भएको छलफलमा कुनै पनि बहानामा केबुल टिभी तथा इन्टरनेट प्रदायक कम्पनीले पन्छिन नपाउने भन्दै सडकमा लत्रिएका तार केबुल टिभी र ईन्टरनेट कम्पनीले व्यबस्थापन गर्नुपर्ने बताउँनुभयो ।
उहाँले गल्ती निजी कम्पनीले गर्ने अनि त्यसको दोष स्थानीय सरकारलाई दिने प्रवृत्ति बढेकाले तत्काल तार व्यवस्थापन गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । नगरका विभिन्न ठाउँ र सडकमा अव्यस्थित रुपमा गुजुल्टो बनाएर लतारिएका नेपाल टेलिकम, विद्युत, केबुल टिभी, तथा विभिन्न इन्टरनेट प्रदायक कम्पनीका तारहरुले दैनिक दुर्घटना बढाएको भन्दैं स्थानीयले त्यसको व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गरिदिन नगरपालिकालाई आग्रह गरेका थिए ।

नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले अव्यवस्थित पोल, तार तथा पाइपका कारण मेचीनगर कुरुप बन्दै गएको र बजार क्षेत्रमा विस्तार गरिएको टेलिफोन, इन्टरनेट तथा विभिन्न केबल, खानेपानीको पाईप र पोलका कारण मेचीनगरक्षेत्र कुरुप बन्दै गएका कारण यसको उचित व्यवस्थापन र सौन्दर्यकरणका लागि सरोकार निकाय तत्काल लाग्नुपर्ने बताउँनुभयो । उहाँले एउटा पोलले कति भारसम्म थाम्न सक्ने वा पोलको भार क्षमता कति हो स्पष्ट हुनुपर्ने बताउँनुभयो ।
बजार क्षेत्रको घर÷घर हुँदै टागिएका टेलिफोन तथा इन्टरनेटको तार र खानेपानीको पाईपका कारण बजारको सौन्दर्यतामा नै असर परेको उहाँको भनाई थियो । अब हरेक त्यस्ता कम्पनि स्थानीय सरकार मेचीनगगरमा सूचीकृत हुनुपर्ने, नियम अनुसार राजस्व बुझाउनुपर्ने समेत स्पष्ट पार्नुभयो । मेचीनगर नगरपालिका क्षेत्रमै पर्ने इटाभट्टा, धुलावारी धाइजन चारहआलीबजार क्षेत्रको भित्री सडकमा गाडिएका ठुला÷ठुला पोल तथा अव्यवस्थित तारका कारण सवारी दुर्घटनाको जोखिम समेत बढाएको उहाँको भनाई थियो । पोलको क्षमताभन्दा बढी तार टागिएका कारण पोल ढल्किने, लड्ने जीर्णहुने उहाँको भनाई छ ।
अनुमति र सम्झौतासमेत नगरी नियम विपरीत इन्टरनेट प्रदायक कम्पनी र केबुल टिभीले विद्युत तथा नेपाल टेलिकमको खम्बामा जथाभावी तार राखेको नेपाल टेलिकमका काजीमान विश्वकर्माले छलफलमा जानकारी गराउनुभयो । उहाँले केही केही कम्पनिले मात्रै सम्झौता गरे पनि अन्यले जथाभावी तार राख्ने र पटक पटक पत्राचार गर्दा पनि सम्झौता र रोयल्टी तिर्न अटेर गरेको बताउनुभयो । पोल प्रयोग गरे वापत नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई वार्षिकरुपमा १८ करोड रुपैयाँभन्दा बढी रकम तिरेको स्पष्ट पार्नुभयो । कसैले पनि बिना अनुमती कसैको पोल प्रयोग गर्न नपाईने उहाँको भनाई छ ।
नेपाल टेलिकमको पोल प्रयोग गरेवापत प्रतिपोल ३ सय ५० रुपैयाँ र त्यसको १३ प्रतिशत भ्याट समेत तिर्नपर्ने उहाँको भनाई छ । तर, नेपाल टेलिकमसँग धेरैले सम्झौता गरे पनि सम्झौता अनुसार काम नगरेका कारण अब कारवाही गर्ने बताउनुभयो ।
वेवसर्भर नेपालका विशाल काफ्लेले स्थानीय सरकारले यस विषयमा कानुन बनाउनु पर्ने र सोहि अनुसार आफुहरु चल्ने बताउनुभयो । केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीले नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणका पोलमा तार टागेर आफ्नो व्यवसाय गर्ने पछि ‘ड्रपवयर’ जताभावीरुपमा छाड्ने गरेका कारण यस्तो समस्या आएको काफ्लेले गुनासो गर्नुभयो । प्रयोग गर्न सक्ने राउटरलगायत अन्य सामान खोलेर लैजाने अनि काम नलाग्ने सामान जताभावीरुपमा छाड्दा सानादेखि ठुलासम्म दुर्घटना हुने उहाँको भनाई छ ।
यसका लागि ठोस नियम कानुन कार्यविधि बनाएर नगरपालिकाले कम्पनिसँग समन्वय र सम्झौता गर्नुपर्ने आवश्यकता उहाँले औल्याउँनुभयो । हाल बिजुलीको पोलमा प्रयोगमा नभएको ८० प्रतिशत हाराहारी इन्टरनेटको तार रहेको र त्यसका कारण शहर कुरुप भएको उहाँले बताउँनुभयो । अव्यवस्थित तारलाई हटाउन वा ब्यवस्थापन गर्नमा नगरपालिकाले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।
पुराना तार हटाएर नयाँ तार राखेपछि प्रयोग नहुने इन्टरनेटको तार पोलमा नराख्न पनि इन्टरनेट प्रदायकलाई मेचीनगर नगरपालिकाले भनेको छ । सडकमा टायल हालेर राम्रो पार्ने तर सडकमाथि विजुलीको पोलमा तारको गुजुल्टोले शहर कुरुप देखिएको भन्दैं नगर प्रमुख बुढाथोकीले तार व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।
कहिले काँह िसडक मर्मत तथा समभार र स्तोरन्नती गर्ने क्रममा सडकको बीचमा रहेको विद्युत् र टेलिकमको खम्बा खानेपानीका पाइपले निकै समस्या आएको नगरप्रमुख बुढाथोकीको भनाई छ । मेचीनगरको ऐतिहासिक र धार्मिक क्षेत्र अनि महत्वपूर्ण बजार कुरुप भएपछि उचित व्यवस्थापन नभए इन्टरनेटको तार हटाउने काम समेत सुरु गरिने भएको छ । छलफलमा मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य चित्रकुमार धिमाल, मेचीनगर विद्युत शाखाका प्राविधिक रिसव आचार्य, नेपाल टेलिकम काँकरभिट्टाका निर्मल राउत, ब्रोडलिंक नेटवर्क प्रालिका विक्रम दाहाल, स्काई ब्रोडबेन्ड प्रालिका अमर मेचे, नेपाल टेलिकमका प्राविधिक प्रमुख अच्युत गौतम, नेपाल टेलिकम विर्तामोडका कार्यालय प्रमुख सुमोदनन्द चौधरीलगायतको सहभागिता थियो ।







प्रतिक्रिया