Banner news

बिर्तामोडबाट बसाईसराई जानेको संख्या घट्यो

बिर्तामोडबाट बसाईसराई जानेको संख्या घट्यो


– प्रदीप परियार

बिर्तामोड । शिक्षा र स्वास्थ्यको हब बन्दै गइरहेको बिर्तामोड नगरपालिकाबाट बसाई सरेर जानेको संख्या घट्दै गइरहेको छ । आफ्नै पालिकाभित्र सेवा सुविधा बढेपछि बसाई सरेर जानेको संख्या घटेको बिर्तामोड नगरपालिकाका सूचना अधिकारी जय तिम्सिनाले जानकारी दिए ।

आर्थिक वर्ष ०७७-७८ मा ६८२ परिवारले बिर्तामोड छोडेर अन्यत्र गएको तथ्याङक छ । सो वर्ष ६८२ परिवारका २३ सय ९९ जनाले बिर्तामोड छोडेका थिए । आर्थिक वर्ष ०७८-७९ मा ४०२ परिवारका १२ सय ६९ जनाले बिर्तामोड छोडे ।

यस्तै, आर्थिक वर्ष ०७९-८० मा बसाई सरेर जानेको संख्या थप घटेको छ । गत आवमा ३६३ परिवार बसाई सरेर गएका छन् । बिर्तामोड नगरपालिकाको पञ्जिकरण शाखाले उपलब्ध गराएको सूचना अनुसार गत आ.व. मा ३६३ परिवारका ११ सय १६ जनाले बिर्तामोड छाडेर अन्यत्र बसाई सरेको पाइन्छ । वितेको तीन वर्षमा १४ सय ४७ परिवारले बिर्तामोड छोडेका छन् ।

बिर्तामोडमा बसाई सरेर जानेको संख्या घटे जस्तै आउनेको संख्या पनि तीन वर्षको अवधिमा घट्दै गएको देखिन्छ । ०७७-७८ मा १८ सय ८ परिवार बिर्तामोडमा बसाई गरेर आएको तथ्याङक छ । सो वर्ष ६२ सय ९७ जना बिर्तामोड आएका थिए । आ.व ०७८-७९ मा ११ सय ४४ परिवारका ३७ सय २९ जना आएका थिए । आ.व.०७९-८० मा ९३६ परिवार बसाई सरेर आएको पाइन्छ । उक्त वर्ष २९ सय ५ जना बिर्तामोड आएका छन् । तीन वर्षमा ३८ सय ८८ परिवार बसाई सरी बिर्तामोड आएका छन् । बसाई सरेर जानेभन्दा आउनेको संख्या झण्डै तेब्बर छ । संघीयताले गाउँमै सेवा सुविधा पाइन थालेपछि बसाई सराई घटेको हुन सक्ने सूचना अधिकारी तिम्सिनाको भनाई छ ।

घटना दर्ताको विवरण अनुसार तीव वर्षमा बिर्तामोडमा ५ हजार १५ बालबच्चाको जन्म भएको छ । त्यसमा २४ सय ५९ छोरी छन् भने २५ सय ५५ छोरा जन्मिएका छन् । ३ वर्षको जन्मदर हरेक वर्षको दर उस्ताउस्तै छ ।

यस्तै, ३ वर्षमा २५ सय ८२ जोडीले विवाह दर्ता गराएका छन् । यस्तै, वितेको ३ वर्षमा बिर्तामोडमा २७० जोडीले सम्बन्ध विच्छेद गरेको पञ्जिकरण शाखाले जनाएको छ । सम्बन्ध विच्छेद गर्नेको संख्या हरेक वर्ष बढ्दै गइरहेको तथ्याङकमा उल्लेख छ । ०७७-७८ मा ६५, आ.व. ०७८-७९ मा ८९, आ.व.०७९-८० मा ११६ जनाले सम्बन्ध विच्छेद गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares