कनकाई हस्पिटलको एक वर्ष : ५५ हजार विरामीको सेवा, २९ लाख छुट
बिर्तामोड । कनकाई हस्पिटल बिर्तामोडले उपचारका लागि भारत जानुपर्ने बाध्यताको ‘चेनब्रेक’ गरेको बताइएको छ । आज बिर्तामोडस्थित सिद्वार्थ होटलमा सम्पन्न हस्पिटलको १७ औं वार्षिक साधारणसभामा बोल्ने अधिकांश वक्ताले सो कुरा बताएका हुन् ।
कनकाई हस्पिटल स्थापनाको समयमा झापासहित पूर्व नेपालका सामान्य विरामीहरु पनि उपचारका लागि भारत जानुपर्ने बाध्यता थियो । अस्पतालका अध्यक्ष डा. प्रेम बहादुर शाहीले भारत जानुपर्ने बाध्यतालाई कनकाई अस्पतालले बे्रक गरेको बताए । सुरुवातदेखि नै गुणस्तरीय सेवा प्रदान गर्दै आएको कनकाईले उपाचार सेवालाई थप विस्तार गर्दै गइरहेको डा.शाहीको भनाई छ । उनले कनकाईमा सबै प्रकारका उपचार सेवाहरुमा प्रदान गर्दै आएको बताए ।
कनकाई हस्पिटलले गत आर्थिक वर्ष ०७९-८० मा ५५ हजार ८ सय ३४ जनालाई ओपीडी सेवा प्रदान गरेको जनाएको छ । हस्पिटलका प्रवन्ध निर्देशक युवराज डाँगीले उपचार सेवासँगै विरामीको संख्या बढ्दै गइरहेको जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत हस्पिटलले ३९ हजार ८ सय ९२ जनालाई सेवा प्रदान गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै डाँगीले हस्पिटलले गत आर्थिक वर्ष करिव २९ लाख बराबरको निशुल्क सेवा प्रदान गरेको जानकारी गराएका छन् ।
०६३ असार १५ गतेबाट सुरु भएको कनकाई बिर्तामोडको तेस्रो निजी अस्पताल हो । यसले गत वर्ष मात्रै ४ लाख ९६ हजार विरामीको ल्याव टेस्ट गरेको जनाएको छ ।
वार्षिक साधारणसभामा बोल्दै प्रमुख अतिथि जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले सबैस्तरका नागरिकले कनकाईबाट उपचार सेवा पाइरहेको बताए । उनले भने – सबै वर्ग समूहका लागि कनकाई अस्पताल उपचारका लागि सहज पहुँच भएको छ ।
बाह्रकोटीले गुणस्तरी सेवा प्रदान गर्दै आगामी दिनमा सुविधासम्पन्न संरचना निर्माणका लागि सूझाव समेत दिए । उनले जनस्वास्थ्य सेवामा कनकाईले सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गरेका छन् ।
सञ्चालक महेन्द्र बहादुर राईले स्वागत गरेको कार्यक्रममा डा.सन्तोष कुमार मिश्र, डा.दिपेन्द्र यादव, कानुनी सल्लाहकार सोमबहादुर राई, मेट्रोन निशा विश्वकर्माले शुभकामना मन्तव्य राखेका थिए ।
हस्पिटलका सञ्चालक फडिन्द्र चापागाईका अनुसार यो साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।