Banner news

बिर्तामोडको रिडर्स मिटमा लेखकलाई प्रश्नै प्रश्न

बिर्तामोडको रिडर्स मिटमा लेखकलाई प्रश्नै प्रश्न


एकराज प्रधान

बिर्तामोड । सामान्यतया साहित्यिक कार्यक्रम भन्ने बित्तिकै किताब विमोचन, पुरस्कार वितरण, कविता गोष्ठी भन्ने बुझ्न सकिन्छ । कतिपय औपचारिकताले साहित्यिक कार्यक्रमलाई बोझिलो बनाउने गरेको अवस्थामा बिर्तामोडमा बिहीबार आयोजित एक कार्यक्रमले नयाँपन दिएको महसुस गराएको छ ।

लेखक तथा साहित्यकारहरुले एकोहोरो बोलिरहने पट्यारलाग्दो परम्पराको अन्त्य गर्दै पहिलोपटक लेखकसँग पाठकहरुको प्रत्यक्ष अन्तर सम्वाद शैलीको कार्यक्रम आयोजना गरिएको छ । रिडर्स मिट नाम दिइएको कार्यक्रममा पाठकहरुले लेखकलाई जिज्ञासा राखेका थिए ।

पुस्तकहरुमा भूमिका किन लेखिन्छ ? यो प्रश्न लेखक समेत रहेका पत्रकार सन्तोष आचार्यले राख्दा कार्यक्रममा सहभागी लेखकहरु प्रकाश थाम्सुहाङ, अमृत क्षेत्री र चन्द्र गुरुङले भूमिका अनिवार्यन भएको घुमाउरो जवाफ दिएका थिए । यस्तै खाले अर्को प्रश्न थियो – पुस्तक कसरी लेख्ने ?

झापामा क्रियाशील वीरता रिडर्स र बिर्तामोड पुस्तकालयद्वारा आयोजित रिडर्स मिटमा लेखकहरु अमृत क्षेत्री, चन्द्र गुरुङ र प्रकाश थाम्सुहाङ उभिएकाथिए ।

‘यस्तो कार्यक्रम सम्भवतःपहिलो पटक नै भएको हुनुपर्छ’, वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले भने, ‘लेखक र पाठकहरुबीचको सम्वाद बिनाको लेखन परिपक्व हुन सक्दैन, यसर्थ यस्ता कार्यक्रमलाई निरन्तरता दिने पक्षमा छौँ ।’
कार्यक्रम भव्य हलमा गरिएको थिएन । बिर्तामोडको द स्यान्डविच पोइन्टको सामान्यमुडामा बसेर लेखकहरुले पाठकका प्रश्नहरुको सामना गरेका थिए । कतिपय सहभागीहरु यसलाई अनौठो मानिरहेका थिए । कार्यक्रम सञ्चालक सुनिता तामाङले प्रश्न शैलीमा लेखकलाई बोल्न दिँदा सहभागी लेखकहरुले स्वाद मानेको अनुभूति गर्न सकिन्थ्यो । लेखक अमृत क्षेत्रीले भने, ‘यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा अति खुशी लागेको छ, पाठकहरुको कुरा बुझ्ने मौका मिल्यो ।’

इलामे लेखक प्रकाश थाम्सुहाङद्वारा लिखित ‘शब्दथुम’ अहिले निकै चर्चित पुस्तकको रुपमा चिनिन्छ । यसो त लेखक चन्द्र गुरुङद्वारा लेखिएको ‘जब एउटा मान्छे हराउँछ’ पुस्तक हिन्दी संस्करणमा समेत प्रकाशित भइसकेको छ । त्यस्तै अमृत क्षेत्रीको ‘यादको कोलाज’ले नेपाली साहित्यिक बजारमा चर्चा बटुलिरहेको छ ।

समकालीन नेपाली साहित्यमा युवा पुस्ताको प्रतिनिधित्व गर्ने तिनै जना चर्चित लेखकहरुलाई एकै ठाउँमा उभ्याएर कार्यक्रम गरिनु एउटा संयोग मात्र होइन । अध्ययनमा रुची राख्ने राजेश दाहाल भन्छन्, ‘पाठकहरु के चाहन्छन् भन्ने कुरा बुझ्न पनि लेखकले बेला बेला अन्तरक्रिया गर्नु राम्रो हो ।’

शेयर गर्नुहोस :

0
Shares