‘निःशुल्क १० हजार लिटर खानेपानी’ उपलब्ध गराउन एमाले हल्दिवारीको माग
झापा । झापाको हल्दिवारी गाउँपालिकाले गत आर्थिक वर्षको नीति कार्यक्रममा जनतालाई १० हजार लिटर खानेपानी निःशुल्क वितरण गर्ने लोकप्रिय कार्यक्रम पारित गरेको थियो । उक्त कार्यक्रम घोषणापछि राष्ट्रियस्तरमा चर्चा समेत पायो । खानेपानीको कार्यक्रमले चर्चा पाए पनि जलथलका उपभोक्ताले निःशुल्क पानी पाउन सकेनन् ।
त्यसको एक वर्षपछि नेकपा एमालेले उक्त कार्यक्रम कार्यान्वयनका लागि ध्यानाकर्षण गराउनु परेको छ । आइतवार गाउँपालिकालाई ध्यानाकर्षण गराउदै नेकपा एमाले हल्दिवारीले नीति तथा कार्यक्रमबाट पारित निशुल्क खानेपानी वितरण कार्यक्रम तत्काल कार्यान्वयन गर्न माग गरेको हो ।
गाउँपालिकाले गत वर्षको नीति कार्यक्रममा १० हजार लिटर शुद्ध खानेपानी निशुल्क वितरण गर्ने कार्यक्रम प्रचार मात्रै गरेर हल्दिवारीबासीमाथि भ्रम छरेको एमालेको आरोप छ । ‘लोकप्रिय कार्यक्रम बनाउने, जनताको ध्यान खिच्ने तर काम नगर्ने गाउँपालिकाको चरित्र सुधार हुनुपर्छ ’ एमालेले ध्यानाकर्षण गराउदै भन्यो – अघिल्लो वर्षको नीति कार्यक्रममा उल्लेख भए बमोजिम जनताले निशुल्क १० हजार लिटर खानेपानी पाउनुपर्छ ।
गाउँपालिकाले १५ औं गाउँसभाको सबैभन्दा महत्वपूर्ण कार्यक्रमको रुपमा लिएको खानेपानी वितरणमा फेल भएको एमालेले जनाएको छ । एमाले नेता मोहनचन्द्र रेग्मीले यो व्यवस्था नै मन नपराउनेहरु जनताको सेवामा आएको बताएका छन् । गाउँपालिकाले राम्रो काम गर्छ भन्दै धैर्यता गरेका थियौं, उनले भने – हल्दिवारीबासीले गरेको भरोसामाथि कुठाराघात भएको छ । हल्दिवारी गाउँपालिका विरुद्ध जनताको वितृष्णा बढेको छ ।
गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई ध्यानाकर्षण पत्र बुझाए पश्चात आयोजित कोणसभामा बोल्दै नेता रेग्मीले जनप्रतिनिधिहरु तत्काल लयमा आउनुपर्ने बताए । उनले लयमा नआए सत्ताच्यूत गरिदिने चेतावनी दिएका छन् । जनतालाई पेलेर काम नगर्न उनको आग्रह गरेका छन् ।
कोणसभामा नेकपा एमाले हल्दिवारीका अध्यक्ष त्रिलोचन सापकोटा, जिल्ला कमिटी सदस्य हरि गौतम लगायतले सम्बोधन गरेका थिए । उनीहरुले नीति कार्यक्रम बमोजिम हल्दिवारीका नागरिकलाई निशुल्क १० हजार लिटर खानेपानी वितरण गर्न माग गरेका छन् ।
यता, गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जलथल खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सम्झौता गर्न नआएपछि सो क्षेत्रका उपभोक्ता निशुल्क खानेपानीबाट बञ्चित भएको बताएका छन् । उनले गाउँपालिकाको नीति कार्यक्रम बमोजिम सम्झौता गर्न खानेपानी संस्था नआएको अध्यक्ष लिङदेनको भनाई छ । निशुल्क गरे वापत कर्मचारी र विद्युत महसुल गाउँपालिकाले व्यहोर्ने भनिएको थियो, अध्यक्ष लिङदेनले भने – त्यसबाहेक पनि संस्थालाई मोटरसाइकल खरिद र पाइप विस्तारमा सहयोग गरेकै छौं । उनका अनुसार सम्झौता गरेका खानेपानी संस्था हल्दिवारी र गोल्धापमा भने कार्यक्रम बमोजिम निःशुल्क पानी वितरण भइरहेको छ ।
गाउँपालिकाभित्र जलथल, हल्दिवारी र गोल्धापमा खानेपानी आयोजना सञ्चालित रहेका छन् । जलथल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष केदार उप्रेतीले निशुल्क खानेपानी कार्यक्रम सञ्चालन नभएको जानकारी दिए ।
उनले गाउँपालिकाले भुक्तानी गर्ने कुनै सुनिश्चितता नभएपछि गाउँपालिकाको खानेपानी निशुल्क कार्यक्रम सफल नभएको प्रतिक्रिया दिएका छन् । गाउँपालिकाले निशुल्क पानी वितरण गर्न खानेपानी संस्थालाई त्यसवापतको भुक्तानी गर्नुपर्छ । तर, गाउँपालिका पानीको भुक्तानी गर्न तयार भएन, उप्रेतीले भने । खानेपानी संस्थालाई पेलेर निशुल्क पानी दिलाउन सकिदैन, त्यस वापत पानीको खपत अनुसार भुक्तानी गर्नुपर्छ ।