Banner news

मानवसेवा आश्रममा रहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि पठाइयो

मानवसेवा आश्रममा रहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि पठाइयो


वीरगञ्ज(पर्सा), १३ कात्तिकः मानवसेवा आश्रममा आश्रय लिदै आइरहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि भारत पठाइएको छ ।

मानवसेवा आश्रम वीरगञ्जमा एक कार्यक्रम गरी २७ जना भारतीय नागरिकलाई रेलमार्फत आआफ्नो घरमा पुनःमिलनको लागि पठाइएको हो । भारतीय महावाणिज्य दूतावास वीरगञ्जका एएसओ मनोज मिश्र, मानवसेवा आश्रमका सचिव समुन बर्ताैला, मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक हरि गौतम, सहसंयोजक प्रकाश थारुलगायतले बिदाइ गर्नुभएको थियो ।

मानवसेवा आश्रमका सचिव बर्तौलाले विभिन्न सेवाकेन्द्रमा रहेका २७ जना भारतीय नागरिकलाई पारिवारिक पुनःमिलनका लागि पठाइएको जानकारी दिनुभयो । “भारतका आधा दर्जनभन्दा धेरै राज्य तथा प्रदेशका भारतीय नागरिकलाई स्वदेश फर्काउन लागेका हौँ”, उहाँले भन्नुभयो, “पारिवारिक पुनर्मिलन गराउन लागेकामध्ये २१ जना पुरुष र छ जना महिला छन् ।”

पारिवारिक पुनःमिलनका लागि पठाइएका भारतीय नागरिकको स्थायी ठेगाना भने विहार, उत्तरप्रदेश, आन्द्रप्रदेश, उडिसा, महाराष्ट्र, तेलगंना रहेको छ । भारतीय महावाणिज्य दूतावास वीरगञ्जका एएसओ मिश्रले मानवसेवा आश्रमले भारतीय नागरिकलाई आआफ्नो घरमा पुनर्मिलन गराउन लागेको कार्य निकै सराहनीय रहेको बताउनुभयो । “भारतीय नागरिकको उद्धार गरेर पारिवारिक मिलन गराउन लागेकामा मानवसेवा आश्रमलाई धन्यवाद व्यक्त गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक गौतमले भारतीय दूतावासबाट सडकमा आश्रित भारतीय नागरिकको लागि आवश्यक सहयोग र साथको आवश्यकता रहेको बताउनुभयो ।

“सडकमा आश्रित नेपाली नागरिकको लागि त हामीले काम गरिरहेका छौँ, भारतीय नागरिकका लागि दूतावासबाट आवश्यक व्यवस्थापनको काम भइदिए सहज हुने थियो”, उहाँको भनाइ थियो । मानव सेवा आश्रमले हालसम्म एक हजारभन्दा धेरै भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलन गराइसकेको त्यस अवसरमा जानकारी दिइएको थियो ।

शेयर गर्नुहोस :

0
Shares