मुख्य समाचार

‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार उद्वव पुरीलाई

‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार उद्वव पुरीलाई


बिर्तामोड । प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार उद्दव पुरीलाई प्रदान गरेको छ ।

झापाको बिर्तामोडमा बुधबार आयोजना गरेको पुरस्कार वितरण समारोहबीच दुई दशक यता कृयाशिल पत्रकार पुरीलाई पुरस्कार वितरण गरिएको हो । पुरी हाल शब्दपत्र अनलाइनका प्रकाशक–सम्पादक हुन् ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् झापा जिल्ला इन्चार्ज रन्जित तामाङले नगद ४२ हजार र सम्मान पत्र प्रदान गरेर पुरस्कृत गरेका थिए । प्रेस सेन्टर नेपालका पूर्व अध्यक्ष तारामणि सापकोटाले एक दशकअघि पाँच हजार राशीबाट सुरु गरेको पत्रकारिता पुरस्कारको राशी क्रमश : बढाएर गएको वर्षदेखि नगद ४२ हजार पुर्याएको हो ।

प्रेस सेन्टर नेपालले यसअघि अग्रज पत्रकारहरु चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लीला बराल, बिमल लामिछाने, जिएन शर्मा, केशव भट्टराई, दिपिन राई, राजु पाठक, दिपक अधिकारी, लीलाराज झापाली, डिकेश लामा र झुलन रेग्मीलाई पुरस्कार वितरण गरिसकेको छ ।

त्यस्तै यसै वर्षदेखि सुरु गरेको डि कौडिन्य पत्रकारिता स्मृति पुरस्कार अक्षयकोषमा आर्थिक सहयोग पुर्याउने दाताहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा प्रेस सेन्टरका प्रदेश सदस्य आइपि भट्टराई, माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियालाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज रन्जित तामाङ, माओवादी केन्द्र कोशी प्रदेशका उपाध्यक्ष बिजय साम्पाङ, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपिन राई, देवकुमार आचार्य, डि कौडिन्यको धर्मपत्नी यमुना आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, जनवादी पत्रकार मन्च झापा संयोजक प्रविण अधिकारी, मिडिया नेपालका झापा अध्यक्ष रन्जित प्रसाईंलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रेस सेन्टरका केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठकले डि कौडिन्यको जीवनीमाथी चर्चा गरेका थिए । प्रेस सेन्टर नेपालका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेका थिए भने प्रकाश उप्रेती र राजन साम्पाङले संचालन गरेका थिए ।

शेयर गर्नुहोस :

135
Shares