शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाबाट नगरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, शिवसताक्षी नगरपालिका र करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरिएको हो । नगरपालिका कार्यालयबाट ४० जना अपाङ्गगता भएका व्यक्तिहरुलाई ह्वीलचियर, सिपी ह्वीलचियर र ट्राइसाइकल वितरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

सहायक सामग्री वितरणका क्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा सहजता प्रदान गर्न सहायक सामग्री वितरण गरिएको बताउनु भयो । उहाँले तपाईहरुलाई उपलब्ध गराइएका सामग्रीहरुले ठुलो सहयोग नपुगे पनि दैनिक जीवनका लागि महत्वपूर्ण भूमिका पुग्ने अपेक्षा गरिएको बताउनु भयो ।
नगरपालिकाले विभिन्न समय अपाङ्गता भएका व्यक्तिहरुले गर्न सक्ने सीप मुलक तालिमहरु पनि सञ्चालन गर्दै आएको उहाँको भनाई थियो ।
अपाङ्गता रोकथाम कार्यक्रम अन्तर्गत श्रावण महिनाभित्रमा २४० जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गर्ने करुणा फाउण्डेसनले जनाएको छ । कार्यक्रमका फोकल पर्सन सन्दिप निरौलाका अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई २२ लाख ६० हजार बराबरको सामग्री वितरण गर्न लागिएको हो ।
पालिका कोअर्डिनेटर सुरेन्द्र गिरीले ह्वीलचियर लगायतका सामाग्रीहरु प्रयोग गर्ने विधिको बारेमा जानकारी गराएका थिए । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख तथा अपाङ्गता रोकथाम कार्यक्रमकी संयोजक नरमाया कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिकाका प्रशासन प्रमुख डिल्ली नेपालले गरेका थिए ।







प्रतिक्रिया