Banner news

के हो वडाध्यक्ष कार्की र उपप्रमुखबीचको विवाद ?

के हो वडाध्यक्ष कार्की र उपप्रमुखबीचको विवाद ?


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा वडा नं. ८ का वडाध्यक्ष अजय कार्की र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाबीच आज झण्डै कुटाकुटा भएको छ । कुटाकुट हुन नदिएपछि भनाभन, गालीगलौच भएको भिडियो सार्वजनिक भएको छ ।

न्यायिक समितिको बैठक चलिरहेको बेला प्रवेश गरेर वडाध्यक्ष कार्कीले आफ्नो विरुद्ध फेसबुकमा के कमेन्ट गरेको भन्दै प्रस्तुत भएको प्रत्यक्षदर्शीहरुले बताए । केहि युवाहरुसहित पुगेका वडाध्यक्ष कार्की उपप्रमुख संग्रौला विरुद्ध आक्रामक ढंगले प्रस्तुत भएपछि दुवै जनाले भनाभन गरेका थिए ।

वडाध्यक्ष कार्कीका विरुद्ध उपप्रमुख संग्रौलाले एक स्टाटसको मुनी ‘नेपाली नागरिकता बेचेर खाने, जेल हाल्नु पर्ने मानिस अदालतले फैसला अड्काउने, पुनः निर्वाचन लड्न अवसर दिने, सोही मुद्दामा परेका मानिस जेल बस्नुपर्ने, राष्ट्रद्रोही मानिसलाई अझै पनि भोट हाल्नु पर्छ’ लेखेका थिए । सोही कमेन्टको विषयमा आक्रामक बनेका वडाध्यक्ष कार्की र उपप्रमुख संग्रौलाबीच विवाद भएको हो ।

स्टाटस लेख्ने व्यक्तिले बोर्ड बैठकमा वडा नं. ८ का जनप्रतिनिधिहरु किन देखिएका छैेनन् भन्दै प्रश्न उब्जाएका थिए । सो स्टाटसमा उपप्रमुख संग्रौलाले उक्त कमेन्ट गरेका थिए । स्टाटसमा किन असान्दर्भिक प्रतिक्रिया दिनुभएको भन्ने जिज्ञासामा संग्रौलाले भने – नागरिकताको विषय सर्वोच्च पुगेको छ । त्यो विषय नयाँ होइन । मलाई पनि भ्रष्टाचारको आरोप किन लगाएको त ?

आज भएको घटनाले दुई पक्षबीच नगरपालिकाका केहि विषयहरुमा अन्तरविरोध भएको बुझिएको छ । कुटाकुटको अवस्था बनेपछि नजिकै रहेका नगरका जनप्रतिनिधि र कर्मचारीहरुले माहोललाई साम्य बनाएका थिए ।
वडाध्यक्ष कार्कीले आफुलाई कुटपिट गर्ने उद्देश्यसहित नगरपालिका आएको उपप्रमुख संग्रौलाको दावी छ । उनले आफ्नो सुरक्षाका लागि सुरक्षा निकायलाई जानकारी दिएको बताए । वडाध्यक्ष कार्की युवाहरुसहित कार्यालय पुगेको विषय आलोचित भएको छ भने जनप्रतिनिधिहरुले कमेन्ट गर्दा ध्यान दिनुपर्ने चर्चा भइरहेको छ ।

शेयर गर्नुहोस :

9.6k
Shares