मुख्य समाचार

दूधेमा कार्तिक १५ देखि महिला फुटबल प्रतियोगिता हुने

दूधेमा कार्तिक १५ देखि महिला फुटबल प्रतियोगिता हुने


झापा । नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता शिवसताक्षीको दुधेमा हुने भएको छ । शिवसताक्षीको दूधेस्थित नवनिर्मित दूधे रंगशालामा आगामी कार्तिक १५ देखि २२ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको हो ।

आयोजक झापा महिला गोल्ड कपका अध्यक्ष सन्तोष थोप्राले महिला फुटबलको विकास, प्रवद्र्धन र ग्रामीण क्षेत्रका महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । झापा जिल्लालाई महिला फुटबलको हबका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखी लगानी गरिएको उनको भनाई थियो ।

नेपालमै सर्वाधिक पुरस्कार राशीको तयारी
प्रतियोगिताको विजेता टिमलाई नेपालमै सर्वाधिक पुरस्कार राशी प्रदान गरिने आयोजकको तयारी छ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक तथा हरेक खेलको प्लेयर अफ दी म्याचलाई नगदसहित ट्रफी प्रदान गरिनेछ ।


प्रतियोगितामा आयोजकको एक टिमसहित नेपालका तीन विभागीय टिम (नेपाल आर्मी, नेपाल एपीएफ, नेपाल पुलिस), भारत र भुटानबाट एक–एक टिम तथा नेपालकै ए डिभिजनका दुई टिम गरी कुल आठ टिमको सहभागिता रहने आयोजनले जनाएको छ ।

यद्यपी अहिले पुरस्कार राशी कति हुने भन्ने खुलाइएको छैन । आयोजकको अनुसार नेपालमा सञ्चालित महिला गोल्डकपमा राखिने गरेको राशी भन्दा माथि हुने जनाएको छ । आयोजकले अब फेरि गरिने पत्रकार सम्मेलनमा पुरस्कार राशी खुलाइने जनाएको छ ।

दुधे रंगशालाको स्तरोन्नति, अत्याधुनिक प्याराफिट निर्माण र मैदान तयारीसहित प्रतियोगिता सञ्चालनमा करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनालाई भव्य र सफल बनाउन उद्योगी, व्यवसायी, व्यापारी महासंघ, पत्रकार तथा मिडिया हाउसहरूको सहकार्यको अपिल गरिएको छ ।

झापा गोल्ड कपलाई सामाजिक संस्था बनाउने दीर्घ योजना
झापा महिला गोल्डकपलाई सामाजिक तथा स्थानीय स्थायीय संस्थाको रूपमा विस्तार गरी आगामी दिनमा पनि महिला फुटबल र सामाजिक उत्तरदायित्वमा निरन्तर योगदान दिने लक्ष्य रहेको आयोजकले जनाएको छ । झापा महिला फुटबलको संरक्षकमा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा रहेका छन् ।

प्रतियोगिताको संयोजकमा झापा ११ स्पोर्टिङ क्लबका पूर्व अध्यक्ष जलकुमार गुरुङ्ग र सचिवालय प्रमुखमा पत्रकार हिमाल खरेल नियुक्त भएका छन् ।

आयोजकले प्रतियोगितालाई झापामा महिला फुटबलको ऐतिहासिक यात्रा सुरुआतको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

महिला गोल्डमै रंगशालाको उद्घाटन : नगरप्रमुख थोप्रा
झापा महिला गोल्ड कपको सुरुवातसँगै शिवसताक्षी नगरपालिकाले निर्माण गरेको दुधे रंगशालाको उद्घाटन गरिने भएको छ ।

२०७४ सालमा शिल्यान्यस गरेर सुरु गरिएको रंगशालाको घेराबारा यस अघि नै निर्माण भइसकेको छ, भने हाल प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रंगशाला निर्माणमा हालसम्म २ करोड माथि लगानी भइसकेको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । जसमा घेराबारा संघीय सरकार र प्रदेश सरकारबाट विनियोजित १ करोड १० लाख निर्माण भएको छ ।

खेल मैदान र प्याराफिट निर्माणमा २ करोड १८ लाख खर्च भइसकेको नगरप्रमुख थोप्राले बताए । त्यस्तै चालु आर्थिक वर्षका लागि संघीय सरकारबाट ३ करोड रकम विनियोजन भएको छ भने नगरपालिकाको तर्फबाट ५० लाख रकमले बाँकी संरचना निर्माण गर्ने तयारी रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शेयर गर्नुहोस :

270
Shares