Banner news

संस्कृत शिक्षामा विभेद तोड्दै सताक्षी गुरुकुल 

संस्कृत शिक्षामा विभेद तोड्दै सताक्षी गुरुकुल 


विनोद सापकोटा
झापा, भदौ १ । झापाको शिवसताक्षी नगरपालिका–११ मा रहेको श्री सताक्षी गुरुकुलले नेपालमा दलित समुदायका विद्यार्थीलाई संस्कृत शिक्षा दिने काम गरिरहेको छ । हाल गुरुकुलमा ३९ जना बटुक अध्ययनरत छन् । जसमा दुई जना दलित समुदायका छन् भने बाँकी ३७ अन्य समुदायका विद्यार्थी हुन् ।

ब्राम्हण समुदायले मात्रै संस्कृत शिक्षा अध्ययन गरिरहे पनि सताक्षी धाममा २०७२ सालमा गोलोक गोवर्धन गौशाला स्थापना भएपछि २०७६ सालमा कानुनी मान्यता पाएर सञ्चालनमा आएको गुरुकुलले जातीय विभेदलाई तोड्ने काम गरेको छ ।

१३ वर्षीय प्रधुम्न शरण रसाइली लामगादे गुरुकुलमा अध्ययनरत गरिरहेका छन् । इलामको सिद्धिथुम्काबाट आएका उनी दुई वर्षदेखि यहाँ संस्कृत अध्ययन गर्दैछन् । ‘गुरुकुलमा कुनै पनि प्रकारको विभेद छैन । ब्राह्मण समुदायका साथीहरूसँगै बसेर खान्छु, सुत्छु र पढ्छु । सुरुमा मलाई डर थियो । तर गुरुकुल त आकाशमुनिको ठूलो घर रहेछ । यहाँ धनी–गरिब, होचो—उच्चो वा जातको आधारमा भेदभाव हुँदैन,’ उनले सुनाए ।

प्रधुम्नले संस्कृत व्याकरण, काव्य, पुराणदेखि कर्मकाण्डसम्म गुरुकुलमा अध्ययन गर्दैछन् । अब उनी तिथि, तर्पण, श्राद्धजस्ता पूजापाठ गर्न सक्ने भएका छन् । ‘हाम्रो समुदायमा गुरु–पुरोहित कमै छन् । संस्कृत नपढ्दा हामी पछि पर्छौँ । तर अहिले म पूजापाठ गर्न सक्ने भएको छु । भविष्यमा यसले मलाई ठूलो आशीर्वाद दिनेछ,’ उनले थपे ।
झापाकै बाहुन्डाँगीका अर्का विद्यार्थी ऋषिकेश लोहार पनि सताक्षी गुरुकुलमा अध्ययनरत छन् । उनले तीन वर्षदेखि अन्य बटुक सरह शिक्षा लिइरहेका छन् । गुरुकुलका प्राचार्य मदनमोहन अधिकारी भन्छन्, ‘यी बटुकहरूले प्रायः सबै कर्मकाण्ड गर्न सक्ने भएका छन् । अरुले जे खान्छन्, त्यही खान्छन् । साथीहरू जहाँ सुत्छन्, उनीहरू पनि त्यही सुत्छन् । जातीय भेदभावको स्थान यहाँ छैन ।’

गौशालाका प्रमुख आचार्य नन्दकिशोरजी महाराजका अनुसार गुरुकुलको मूल मन्त्र नै जातीय विभेदको अन्त्य हो । उनले भने, ‘हाम्रो दृष्टिमा जात दुईवटा मात्रै छन । एउटा पुरुष र अर्को महिला । बाँकी विभेद हाम्रो गुरुकुलमा स्वीकार्य छैन । वेद पढेको, धर्म बुझेको, संस्कृत जानेको र आचरणमा बसेको व्यक्ति नै सच्चा ब्राह्मण हो ।’

यस गुरुकुलमा अध्ययन गर्ने बटुकहरूले कर्मकाण्ड गर्न, पुराण वाचन गर्न, ज्योतिषीय कुण्डली बनाउनसक्ने सीप सिकेका छन् । ‘अहिलेसम्म १५ भन्दा बढी दलित बटुक यजमानका घरमा गएर पूजा–पाठ गरेर जीविकोपार्जन गरिरहेका छन् । यसले हामिलाई आनन्द प्राप्त भएको छ,’ प्राचार्य अधिकारीले भने ।

शिवसताक्षीका स्थानीय नारायण प्रसाद अधिकारी भन्छन्, ‘सताक्षी गुरुकुलले जातीय भेदभाव भत्काउने ऐतिहासिक काम गरेको छ । हाम्रो समाजमा दलित समुदायलाई संस्कृत पढ्न नदिने गलत परम्परा थियो । तर यो गुरुकुलले सबैलाई समान अवसर दिएको छ, जसले समाजलाई सकारात्मक दिशा दिएको छ ।’

समाजशास्त्रका प्राध्यापक डा. घनश्याम गौतमका अनुसार यो पहल सामाजिक न्याय र समानताप्रति ठूलो योगदान हो । उनले भने, ‘दलित समुदायलाई संस्कृत शिक्षा दिनु केवल शैक्षिक कदम मात्र होइन, सामाजिक न्यायको अभियान पनि हो ।’ ‘यसले सदियौँदेखि जरा गाडेर बसेको जातीय विभेदलाई चुनौती दिएको छ । विभेदरहित शिक्षाले मात्र समावेशी समाज सम्भव हुन्छ,’ प्राडा गौतमले भने ।

झापाको मेचीनगरमा रहेको महेश्वर शुरेश्वर मातृ छायाँ गुरुकुलमा समेतमा १३ दलित विद्यार्थीहरू अध्ययनरत छन् । त्यहाँ ३१ प्रतिशत बटुक दलित समुदायका छन् भने बाँकी अन्य समुदायका विद्यार्थी अध्ययनरत रहेको प्राचार्य चन्द्र भण्डारीले बताए । यी दुई गुरुकुलको उदाहरणले जातीय विभेद रहित संस्कृत शिक्षा सम्भव छ र यसले समाजमा नयाँ चेतना फैलाएको देखाएको छ ।

सताक्षी गुरुकुलको जस्तै नियम त्यहाँपनि छ । महेश्वर शुरेश्वर मातृ छायाँ गुरुकुलमा व्रतबन्ध गरिएका र नगरिएकालाई अलग अलग समुहमा राखिन्छ । प्राचार्य भण्डारी भन्छन्, ‘यहाँ दुई जना दलित विद्यार्थीको व्रतबन्ध गरिएको छ । उनिहरु व्रतबन्ध गरिएका विद्यार्थीको समुहमा गएर अरु समानका काम र व्यवहार गर्छन् ।’

सताक्षी र महेश्वर शुरेश्वर मातृ छायाँ गुरुकुलका विद्यार्थीहरूले पाएको शिक्षा र सीपले उनीहरूलाई मात्र होइन, सम्पूर्ण समाजलाई परिवर्तन गर्ने संकेत दिएको छ । प्राचार्य भण्डारी भन्छन्, ‘गुरुकुलबाट निस्केका विद्यार्थीहरूले अहिले पूजा–पाठ गरेर घर–परिवार पालिरहेका छन् । यसले उनीहरूलाई आत्मनिर्भर बनाएको छ ।’

दलित विद्यार्थी प्रधुम्न शरणले भनेजस्तै, ‘गौशालाका गाईहरू जसरी खुला चौरमा चरन गर्छन्, हामी बटुकहरू पनि गुरुकुलमा त्यसरी नै स्वतन्त्रतापूर्वक पढ्छौँ, बस्छौँ र काम गर्छौँ ।

जातीय विभेदको गहिरो चपेटामा परेको नेपाली समाजमा सताक्षी गुरुकुल र छायाँ गुरुकुलले देखाएको बाटो साँच्चिकै ऐतिहासिक रहेको दलित अधिकारबादी नेताले बताएका छन् । यी गुरुकुलहरूले देखाएका उदाहरणहरूले भविष्यमा अझ धेरै शिक्षालयलाई प्रेरणा दिने निश्चित रहेको नेपाल भारत हिन्दु महासंघका प्रवक्ता घनस्याम खनाल शास्त्रीले बताए ।

शेयर गर्नुहोस :

2.2k
Shares