Banner news

छिट्टै ढल्दैछ मुक्तिचोकको स्तम्भ

छिट्टै ढल्दैछ मुक्तिचोकको स्तम्भ


प्रदीप परियार

बिर्तामोड । झापा बिर्तामोडको एउटा चिनारी मुक्तिचोकको स्तम्भ छिट्टै भत्किदैछ । एसियन हाइवे निर्माणका लागि मुक्तिचोक स्तम्भ भत्काइने भएको हो । २०६६ साल बैशाख ६ गते स्तम्भको उद्घाटन गरिएको थियो ।

स्तम्भ भएकै ठाउँमाथि एसियन हाइवेको ओभरपास निर्माण गरिने काँकरभिट्टा–लौकही सडक पूर्वी खण्ड आयोजनाका प्रतिनिधिहरुले जानकारी दिएका छन् । १६ वर्षअघि उद्घाटन गरिएको स्तम्भ एसियन हाइवेको ओभरपास निर्माणसँगै हटाइने भएको छ ।

झापाका लेखक तीर्थ सिग्देलले मुक्ति स्तम्भको संरक्षण हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले उपयुक्त ठाउँमा स्तम्भको स्थान्तरण हुनुपर्ने बताका छन् ।

एसियन हाइवेको संरचना निर्माण गर्दा मुक्तिचोकको स्तम्भ हटाउनुपर्ने आयोजनाले सार्वजनिक गरेको नक्सामा उल्लेख छ । एसियन हाइवेको काँकरभिट्टा–लौकही सडक पूर्वी खण्डका प्रतिनिधिहरुले बिर्तामोडमा बन्ने संरचना बारे स्थानीय व्यवसायी र सरोकारवालाई जानकारी गराइसकेका छन् ।

आयोजनाका प्रमुख सुनिलबाबु पन्तले चारपानेमा अबको डेढ, दुई हप्तापछि ओभरपासको काम सुरु हुने र त्यसपछि बिर्तामोडको काम थालिने जानकारी दिएका छन् । मुक्तिचोकबाट पश्चिममा ३९० मिटर र पूर्व तर्फ २०० मिटर ओभरपास बन्नेछ । यहाँका नगरवासी र व्यवसायीले फ्लाईओभर बन्ने अपेक्षा गरेका थिए । अब उक्त संरचना परिवर्तन नहुने परियोजनाका प्रतिनिधिहरुले बताईसकेका छन् ।

कसरी बन्यो मुक्ति चोक र स्तम्भ ?
अहिलेको मुक्तिचोकको नाम त्यसअघि राजमार्ग चोक, ट्राफिक चोक हुँदै मुक्तिचोक भएको लेखक तीर्थ सिग्देलको भनाई छ । तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले ०६६ बैशाख ६ गते स्तम्भको उद्घाटन गर्नुभएको हो । लोकतन्त्र प्राप्तिको आन्दोलनमा लडिरहने वीर नेपाली जनता एवम् जनआन्दोलनका क्रममा शहादत प्राप्त गर्नुहुने वीर शहीदहरुको सम्झनामा गोपालकुमार बस्नेतको अध्यक्षतामा जनआन्दोलन स्मृति प्रतिष्ठानद्वारा निर्मित उक्त स्तम्भको कोइरालाले उद्घाटन गरेका थिए । त्यहि स्तम्भ अबको केही दिनभित्रै भत्किदैछ ।

२०४६ साल चैत १४ गते हत्या गरिएका सहिद राम थापाको स्मृति सभा गरेर फर्किने क्रममा बिर्तामोडको केन्द्रभागमा रहेको चौबाटोको मध्य भागमा उभिएर वरिष्ठ अधिवक्ता लीला उदासीले ०४६ चैतको अन्तिम साता “मुक्तिचोक” भनी नामाकरण गरेका थिए । पछि कृष्णप्रसाद भट्टराईको अन्तरिम मन्त्रिमण्डलमा कृषिमन्त्री रहेका झलनाथ खनालले एउटा “मुक्तिचोक” लेखिएको बोर्ड राखेर यसलाई औपचारिकता प्रदान गरिएको इतिहास छ, लेखक तीर्थ सिग्देलद्वारा लिखित बिर्तामोड नामक पुस्तकमा उल्लेख छ ।

तत्कालिन अगुवाहरु द्रोणाचार्य क्षेत्री, लिला उदासी, भवानी घिमिरे, कृष्ण सिटौला लगायतका नेताहरुको नेतृत्वमा बिर्तामोड क्षेत्र कब्जा गरिएको थियो । त्यसबेलाका जल्दोबल्दो नेता उदासीले त्यहाँ रहेको ‘आइलेण्ड’ माथि चढेर तानाशाहीहरुको पञ्जाबाट मुक्त भएको घोषणा गर्दै मुक्तिचोक नाम घोषणा गरेको बताइन्छ ।

सो स्थानमा त्यसपछि जनआन्दोलनको सम्झनाका लागि स्तम्भ बनाउने कुरा चलेको थियो । जिल्लाका अगुवा नेताहरु गोपाल कुमार बस्नेत, हरिचरण शिवाकोटी, सुधिर शिवाकोटी लगायतको नेतृत्वमा जनआन्दोलन स्मृति प्रतिष्ठान बनाइएको थियो । स्तम्भ सरकारी बजेटमा निर्माण गरिएको थियो । विभिन्न आन्दोलन, खवरदारी गर्नका लागि मुक्तिचोक सबैको साझा बनेको छ । गिरीजा प्रसाद कोइरालाले नै विनियोजना गरेको २३ लाख बजेटबाट संरचना निर्माण गरिएको थियो । त्यसमध्येबाट अहिले पनि ८ लाख रुपैयाँ बचत रहेको प्रतिष्ठानका महासचिव हरिचरण शिवाकोटीले जानकारी दिए । मुक्तिचोकको पहिचान अब नयाँ संचरना निर्माणसँगै मेटिने भएको छ ।

स्तम्भको उद्घाटनका दिन बिर्तामोडमा तनाव भएको लेखक सिग्देलले जानकारी दिए । लिम्बूवानको आन्दोलन चलिरहेको थियो, लेखक सिग्देल भन्छन् – आन्दोलनको प्रतिकका रुपमा बनाइएको महिला र पुरुषको मुर्तिमा उनीहरुले चित्त बुझाएका थिएनन् । मुर्तिमा ‘बाहुनको जस्तो नाक’ बनाएको भनेर आन्दोलनरत पक्षले कार्यक्रममा तनाव दिएका थिए । कडा सुरक्षाका बीच गिरीजाप्रसाद कोइरालाले स्तम्भको उद्घाटन गरेका थिए ।

शेयर गर्नुहोस :

2.9k
Shares