प्रदीप परियार
बिर्तामोड । आधुनिक मनोरञ्जनका माध्यम भएसँगै बडादशैंमा पिङ हाल्ने चलन घट्न थालेको छ । बडादशैंमा चाडवाडको रौनक ल्याउने पिङ बनाउन गाउँघर खासै अग्रसर देखिएन ।
बडादशैंमा रमाइलोका लागि मुख्य आकर्षण मानिने लिङ्गे पिङ विगत वर्षहरुमा गाउँदेखि शहर र चोक–चोकमा खेलेको देख्न पाइन्थ्यो । यो वर्षको दशैंमा पिङ खेल्न खोजी नै गर्नुपर्ने अवस्था बनेको छ ।

गाउँभर जताततै पिङ देखिने बनियाँनीमा यो वर्ष न्यून संख्यामा पिङ देखिएको स्थानीय अगुवा नविन ढुङगानाले जानकारी दिए । बाल आधारभुत विद्यालयका शिक्षक ढुङगानाले मनोरञ्जनको अन्य साधन भएकाले संख्या घटेको हुन सक्ने बताए ।
ढुङगानाले सितागडी, कमलवस्ती, बालुबाडी, घिमिरे गाउँ, कार्की डाँडामा पिङ खेलेको आफ्नो बाल्यकाल स्मरण गरेका छन् । उनी भन्छन्, जताततै पिङ खेल्न पाइन्थो, यो वर्ष सिमलबाडीमा मात्रै पिङ हालेको देखें । उनले पिङको डोरी बनाउन जुटको पनि अभाव रहेको सुनाए । गाउँभर जुट भेला गरेर पिङ बनाउने चलन थियो, अहिले जुट पनि छैन, बनाउने युवाहरु पनि छैन ।
यस्तै, गौरीगञ्ज १ महाभारा क्षेत्रमा पनि गाउँ–गाउँमा पिङ हाल्ने चलन सपना जस्तै भएको छ । केही वर्षअघि सम्म जताततै पिङ खेल्न पाइने महाभारा क्षेत्रमा यो वर्ष पिङ नै नहालेको स्थानीय युवा प्रकाश राईले जानकारी दिए । भन्सार तिर पिङ हालेको भन्ने सुनेको छु, स्याङडाँगी क्षेत्रमा यसपाली हालिएन, उनले भने । पहिले स्याङगाँडीको २÷३ ठाउँ, महाभारा चोक, बजार, ११ नं., सबै तिर पिङ हाल्ने गरिन्थ्यो ।
कनकाई – १ का विजय पाण्डेले पिङको बारेमा बुझ्दा विगतमा रातभर बसेर लठारो बाटेको स्मरण गरे । उनीहरुले यस वर्ष त्यसरी बाट्नु परेन । बजारमा पाउने रेडिमेट लठारोबाटै पिङ हालिएको सुनाए । विगतमा जस्तो बाक्लो गरी पिङ नदेखेको उनको भनाई छ ।
पत्रकार तीर्थ तिम्सिनाले गाउँमा पिङको संख्या अति कम भएको जानकारी दिए । बुद्धशान्ति ३ स्थित ७ नं. चोक दक्षिणमा एउटा पिङ बनाएको उनको भनाई छ । पहिले माझी गाउँ, दुई रिङे टोल, जगत गुरु मार्ग सबैतिर पिङ बनाउने गरन्थ्यो ।
अर्जुनधारा – २ गाजाबारीका युवाहरुले बाटेकै डोरीबाट पिङ हालेका छन् । पत्रकार तिलक योञ्जनका अनुसार युवाहरुको अगुवाईमा पिङ लगाइएको छ । अरुबेला जस्तो पिङको माहोल गाउँमा नभएको उनले स्वीकार गरे ।
यस्तै, हरेक वर्ष अर्जुनधारा –६ का युवाहरुले हाउजिङ नजिकैको खाली मैदानमा पिङ बनाउने गर्थे । यो वर्ष देश नै शोकमा भएकाले पिङ नलगाएको स्थानीय अगुवा घनेन्द्र डाँगीले जानकारी दिएका छन् ।

मानवशास्त्री टंक सुब्बाले पिङको संख्या घट्दै जानुलाई सांस्कृतिक परिवर्तनको रुपमा लिएका छन् । मेची बहुमुखी क्याम्पस भद्रपुरमा कार्यरत सुब्बाले पिङ लगाउने चलन विस्तारै लोप हुन थालेको बताए । अघिल्लो र अहिलेको पुस्ताको मनोरञ्जनको साधनमा फरक भएकाले लोप हुन थालेको उनको भनाई छ ।
पिङमा अधिकतम बालबालिका र युवा युवतीहरु मनोरञ्जन गर्ने गर्थे, मानवशास्त्री सुब्बा भन्छन् – त्यो पुस्ता अहिले डिजिटल मनोरञ्जनमा जोडिएको छ । चाडवाडमा भेला हुने चौतारीसँगै अर्को पिङ थियो । जमिनबाट परसम्म हेर्ने, मच्चिन प्रतिष्पर्धा गर्ने पिङहरु अहिले कमै मात्रमा बनाउने गरिएको छ ।
उनका अनुसार समुदायबीच घुलमिल गराउने र सार्वजनिक स्थानमा भेला हुने साधन बनेको थियो,पिङ । पछिल्लो समय लठ्ठा बनाउन पाटाको पनि अभाव छ, उनी भन्छन् – पहिले स्थानीय उत्पादन संकलन गरेर लठ्ठा बनाइन्थ्यो । त्यसको पनि समस्या छ ।







प्रतिक्रिया