सम्पादकीय
हिजोआज औपचारिक कार्यक्रममा सहभागीहरु लामो समय बस्न रुचाउदैनन् । कार्यक्रम छरितो र व्यवस्थिति नहुँदा सहभागीलाई अढ्याउन असाध्यै गाह्रो हुन्छ । बिर्तामोड उद्योग वाणिज्य संघ ४४ औं वर्ष पुगेको अवसरमा शुक्रवार अतिथि सदनमा भव्य कार्यक्रमको आयोजना गरियो । वाणिज्य संघले स्थापना दिवसको अवसरमा पहिलो पटक वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको थियो । खुशीयालीमा केक समेत काटियो । ४४ औं वार्षिकोत्सव कार्यक्रममा संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो । नेवार समुदायको धिमि बाजा बजाएर कार्यक्रममा रौनक थियो । स्थापनाको ४४ औं वर्ष व्यवसायीहरुका लागि उत्सव थियो ।
वार्षिकोत्सव कार्यक्रमको सुरुवातमा सहभागिता राम्रो थियो । अतिथिहरु बोल्न थालेपछि सहभागीहरु एक, दुई गर्दै निस्किन थाले । ४ हजार सदस्य रहेको वाणिज्य संघमा सहभागिता अन्तिमतिर लाजमर्दौ भयो । प्रमुख अतिथिले बोल्ने समयमा हल लगभग खाली भयो । मञ्चमा आयोजक, अतिथि र मञ्च तल केही सम्मानितहरु, कार्यालयका कर्मचारी र प्राविधिकहरु थिए । एक जना अतिथिले कुर्सीलाई शुभकामना दिनुपर्ने भयो भने । वाणिज्य संघ मात्र होइन, पछिल्लो समय कार्यक्रमहरुमा मान्छे बस्नै चाहादैनन् । किन भने, कार्यक्रमको ढाँचा पुरानो छ । कार्यक्रमलाई समय सापेक्ष बनाउन सकिएको देखिदैन ।
वाणिज्य संघको कार्यक्रम निर्धारित समयभन्दा धेरै ढिलो भयो । समयमा सुरु हुन्छ भनेर आएका सहभागीहरु ढिलो सुरु भए पछि बस्दैनन् । अझ, कार्यक्रममा लामो भाषणले सहभागीहरुलाई खल्लो हुन्छ । आसन र भाषणको दिग्दारी सहभागीहरुलाई हुने गरेको छ । जसका कारण हल विस्तारै खाली हुदै जान्छ । राजनीतिक दल, संघ संस्था सबैको कार्यक्रममा यो समस्या देखिएको छ । त्यसैले अब कार्यक्रम व्यवस्थापनका लागि ढाँचा नै बदल्नुपर्छ । समयका कार्यक्रमहरु सुरु गर्नुपर्छ । भाषणका कार्यक्रम असाध्यै कम गर्नुपर्छ । निर्धारित समयमा सम्पन्न गर्नुपर्छ । सहभागीहरुलाई पनि कार्यक्रम आफ्नै भन्ने अनुभूति गराउनुपर्छ । आयोजकहरुले कार्यक्रम आयोजना गर्दा सामुहिक निर्णय कार्यक्रम आयोजना गर्नुपर्छ । कार्यक्रम सफल बनाउन सबैको साथ सहयोग लिनुपर्छ ।







प्रतिक्रिया