सम्पादकीय
झापा खेलकुद प्रतियोगिताको आयोजनामा अग्रस्थानमा छ । अर्जुनधारामा हालै सम्पन्न महिला भलिवलको रौकनले सबैलाई अचम्मित बनाएको छ । धेरै जसो फुटबल आयोजना हुने झापामा भलिवलमा देखिएको आकर्षणले आयोजकलाई पनि हर्षित बनायो । जिल्लामा सधैं फुटबल आयोजना हुने गरेको छ । झापा गोल्डकप, भद्रपुर गोल्डकप, कनकाई गोल्डकप, काँकरभिट्टा गोल्डकपले खेलकुद आयोजनामा जिल्लालाई सधैं अगाडि सावित गरेको छ । खेलकुद क्षेत्रमा यहाँका आम नागरिक, उद्योगी व्यवसायीहरुको साथ सहयोग पनि प्रशंसायोग्य छ । खेल क्षेत्रको उन्नयनमा झापाले गरिरहेको अगुवाईमा झापावासीको बलियो साथ छ । त्यसको एउटा बलियो उदाहरण हो, झापा महिला गोल्डकप ।
विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने आयोजकहरुले नाफा भएको वा बचत भएको विवरण विरलै मात्र प्रस्तुत गर्छन् । तर, झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा सम्पन्न झापा महिला गोल्डकपले बचत सार्वजनिक गरेको छ । प्रतियोगिताबाट ५० लाखभन्दा बढी रकम बचत हुनु यसको व्यवस्थापन, पारदर्शिताको उत्कृष्ट उदाहरण हो । खेलप्रेमीहरुको सहयोगका कारण झापा महिला गोल्डकपले सफलता हासिल गरेको छ । यति धेरै रकम बचत गरेर महिला गोल्डकपको सार्थकता पनि पुष्टि गरिएको छ । यसले झापामा खेल प्रतियोगिता आयोजना गर्नका लागि उत्साह समेत थप गरेको छ ।
यसरी झापालाई फुटबलको हब बनाउन सधै योगदान गर्नेहरुलाई आयोजकले विर्सनु हुदैन । खेलप्रेमीहरुको साथ र सहयोगबाट आयोजकहरुले यहाँको खेल क्षेत्रमा नयाँ खेलाडी उत्पादन गर्न पनि सहयोग गर्नुपर्छ । हरेक वर्ष विभिन्न गोल्डकपहरु आयोजना गरेर खेलक्षेत्रको संवद्र्धनसँगै खेलाडी उत्पादनमा पनि योगदान गर्न अपरिहार्य छ । नाफा हुन वा बचत हुनु एउटा सकारात्मक पाटो हो । हरेक वर्ष आयोजनाहरु मात्रै गर्ने, खेलाडि उत्पादन र उनीहरुको संरक्षणमा चासो नदिने हो भने अन्याय हुने छ । शिवसताक्षीमा समितिले आगामी वर्षहरूमा कम्तीमा एक करोड रुपैयाँको कोष निर्माण गर्ने लक्ष्य राखेको छ । त्यसले प्रतियोथिता आयोजनासँगै खेलाडी उत्पादनमा योगदान गर्नुपर्छ । खेलप्रेमीहरुको साथ र सहयोगबाट गोल्डकप आयोजकले समाजलाई त्यो योगदान गर्न जरुरी छ ।







प्रतिक्रिया