सम्पादकीय
झापामा पछिल्लो समय प्रहरीले दिनप्रतिदिन अवैध माछा नियन्त्रणमा लिइरहेको छ । मेचीनगर, भद्रपुर, कनकाईबाट माछा नियन्त्रणमा लिइएको छ । भारतबाट नेपाल ल्याइने अवैध माछाको तस्करी विभिन्न जिल्लामा भइरहेको छ । भन्सार छलि गरेर ल्याइने माछा अस्वस्थ्यकर छ । मरेका माछा भित्राएर व्यापारका नाममा उपभोक्ताको स्वास्थ्यमाथि समेत खेलवाड भइरहेको छ । मंगलवार मात्रै झापाबाट पठाइएको माछा ताप्लेजुङमा सशस्त्र प्रहरीले नष्ट गरेको छ । ६३० केजी माछा खाल्डोमा पुरियो । बिलमा भएको माछाभन्दा फरक माछा भेटिएपछि नष्ट गरिएको थियो । स्थानीय जातको माछामा भारतबाट अवैध रुपमा ल्याइएको माछा मिसाइएको फेला परेको थियो ।
भारतबाट अवैध रुपमा हुने माछा आयातले स्थानीय कृषकहरूलाई प्रभावित बनाएको छ । अवैध माछा स्थानीय किसानका लागि चुनौति बनेको छ । भन्सार छलेर कम मुल्यमा ल्याइएको माछाले यहाँको स्थानीय बजारमा किसानको माछा विक्री नहुने अवस्था सिर्जना भएको छ । अवैध आयातका कारण किसानले आफ्ना उत्पादनमा चित्तबुझ्दो मूल्य नपाउने परिस्थिति बनेको छ । जसका कारण उत्पादन र विक्रीमा कठिनाइ भोगिरहेका छन् । व्यापारीहरूले भारतका तस्करी गरिएका माछा कम मूल्यमा किनेर महंगोमा विक्री गर्दा, स्थानीय किसानको उत्पादन निकै प्रभावित भएको छ । यस्तो अवस्थामा, किसानहरूको मेहनत र लगानीलाई जोखिममा पार्ने काम भएको छ ।
अवैध र अस्वस्थ्यकर माछाको भन्सार प्रक्रियामा चासो नदिएरका कारण किसानहरूलाई ठूलो नोक्सान पुगेको छ । खुला सीमाका कारण माछा आयात गर्न सहज छ । यसले राज्यको राजश्वलाई समेत गम्भीर क्षति पुराइरहेको छ । स्थानीय प्रशासन, भन्सार र सुरक्षा निकायले अविलम्ब अवैध आयातलाई नियन्त्रण गर्नुपर्छ । किसानहरूको उत्पादनलाई प्राथमिकता दिनुपर्छ । उत्पादन र स्वास्थ्यमाथि ध्यान दिदैं स्थानीय कृषकलाई प्रोत्साहन गर्नुपर्छ । किसानलाई विभिन्न आर्थिक भार बोकाउने, माछा आयातमा नियन्त्रण गर्ने हो भने सबैको लगानी बालुवामा पानी हुनेछ । भन्सार गरेर मात्रै स्वस्थ्यकर माछा आयात गर्न दिऔं, अवैध र अस्वस्थ्यकरण पूर्ण रुपमा नियन्त्रण गरौं ।







प्रतिक्रिया