सम्पादकीय
स्थानीय स्तरमा किसानले प्राङगारिकभन्दा धेरै रसायनिक मल प्रयोग गर्ने गरेका छन् । प्राङगारिक मल उत्पादनमा राज्य र किसान दुवै पक्ष अग्रसर नहुँदा रसायनिक मलको प्रयोग अनिवार्य भएको छ । सँगसँगै विषादीको बढ्दो प्रयोगले जनजीवनलाई कठिन बनाएको छ । किसानले रसायनिक मल विना उत्पादन गर्न सक्ने हिम्मत गरिएको पाइदैन । त्यसमा विषादी अनिवार्य बनाइएको छ । पर्याप्त उपलब्धता नभए पनि किसानले रसायनिक मलको प्रयोग घटाउन सकेका छैनन । विषादीको प्रयोग पनि उस्तै छ । यसले मानीवय स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । मानवीयसँगै वातावरण र जीवजन्तुमा समेत नकारात्मक असर गरिरहेको छ । त्यसको एउटा उदाहरण हो, बुद्धशान्तिको पछिल्लो घटना ।
रसायनिक मलसँगै प्रयोग हुने विषादीले मौरी किसान पीडित बनेका छन् । हालै बुद्धशान्ति गाउँपालिकाभित्र मौरी र अन्य उपयोगी मित्र जीवहरूको नाशका बारेमा कृषक समूहले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले गराएको ध्यानाकर्षण र चासो अत्यन्त महत्वपूर्ण छ । जथाभावी रूपमा प्रयोग गरिएका विषादीहरूले कृषि प्रणालीको मूलभूत अंग, मौरी र परागण प्रक्रियामा नकारात्मक असर पुर्याइरहेको छ । कृषकहरूले अव्यवस्थित रूपमा किटनाशक र विषादी प्रयोग गर्दा यसको प्रभाव प्रत्यक्ष रूपमा मौरीपालन व्यवसायमा देखिएको छ । जसले मौरीमालक किसानलाई लाखौंको आर्थिक क्षति निम्त्याएको छ ।
मौरीहरूमाथि विषादीको प्रकोपले आम्दानी मात्र घट्ने होइन । यसले समग्र वातावरण र कृषि उत्पादनमा पनि गम्भीर असर गर्छ । जनचेतना अभावका कारण कृषकहरूले विषादी प्रयोगका सन्दर्भमा आवश्यक सावधानी नअपनाएको गुनासो गरेका छन् । जसले गर्दा, मौरीहरूको जैविक विविधता खतरामा परेको छ । यसलाई सरोकारवालाले गम्भीरताका साथ सम्बोधन गर्न आवश्यक छ । त्यसका लागि बुद्धशान्ति गाउँपालिकाको भूमिका महत्वपूर्ण छ । कृषक समूहले उठाएको निवेदनमा उचित र सुरक्षित विषादी प्रयोगको लागि ध्यानाकर्षण गराइएको छ । मौरी उड्ने समय र फूल फुल्ने अवधिमा विषादी प्रयोग नगर्न, सुरक्षित र सिफारिस गरिएका विषादीको प्रयोगको बारेमा सचेत गराउन जरुरी भएको छ । मौरी संरक्षण सबैको दायित्व भएकाले गाउँपालिकाले तत्कालै जथाभावी विषादी प्रयोगमा रोक लगाउनुपर्छ ।







प्रतिक्रिया