सम्पादकीय

नेत्र पार्क निजी क्षेत्रलाई देऊ

नेत्र पार्क निजी क्षेत्रलाई देऊ


सम्पादकीय

झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेको पर्यटकीय गन्तव्य नेत्रपार्क फेरि सञ्चालनको तयारी भइरहेको छ । वितेको १० वर्षमा करोडौं लगानी गरिएको नेत्र पार्कबाट आम्दानी शून्य छ । पार्क सञ्चालनका लागि अहिले नयाँ वन समितिले पहल गरिरहेको छ । सरसफाई, मर्मत र रंगरोगन गर्ने काम जारी छ । केहि महिनाअघि स्वीमिङ पुल मर्मत गरेर छोटो समय सञ्चालन समेत गरिएको थियो । पार्कमा बालबालिकाहरु खेल्ने ठाउँ, स्वीमिङ पुल, डाइनोसर, पोखरी, पिकनिक स्पट निर्माण गरिएको थियो । नियमित सञ्चालन नहुँदा निर्माण गरिएका अधिकांश संरचनाहरु विग्रिएको छ । सहिद नेत्र घिमिरेको स्मृतिमा निर्माण गरिएको पार्कमा राज्यको करोडौं लगानी हुँदा पनि सञ्चालनमा आउन नसक्नु दुखद् छ ।

नेत्र पार्क निर्माणको सुरुवाती चरणदेखि हालसम्म आर्थिक पारदर्शिता नभएको आरोप छ । कारोबार सम्बन्धी मुद्दाहरु छन् । निर्माण समिति, वन समितिसँग स्थानीयवासीका कयौं प्रश्नहरु छन् । कारोवार फरफारक नभई कृष्ण प्रसाद लिम्बुको नेतृत्वले जिम्मेवारी लिएको छ । सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको मातहतमा रहेको उक्त पार्क सञ्चालन गर्न सोचेजस्तो सजिलो छैन । नयाँ समितिले नै करिव २० लाखको काम गरिरहेको जनाएको छ । यसरी निर्माण नै गरिरहने हो भने पार्कमा लगानी मात्र भईरहन्छ । हरेक वर्ष लगानी गर्ने तर, प्रतिफल नआउने पुरानै समस्या दोहोरिरहन्छ । त्यसैले अब पार्क सञ्चालनका लागि फरक हिसावले अघि बढ्नुपर्ने देखिन्छ ।

बिर्तामोड नगरपालिकाभित्र रहेको एउटा ‘हिरा’ हो, नेत्र पार्क । नेत्र पार्कलाई यहाँको स्थानीय सरकारले चिन्न सकेन । वन समिति र पार्क निर्माण समितिले महत्व नै बुझेन । पार्क चलाउनको लागि मात्र चलाउनुको अर्थ छैन । त्यसलाई व्यवस्थित र मुख्य गन्तव्य बनाउन सक्नुपर्छ । राज्यको तर्फबाट लगानीका लागि बजेट मात्र दिएर पनि हुदैन । पार्क सञ्चालनको लागि रणनीतिक योजना चाहिन्छ । यहि अवस्थाबाट वन समितिले पार्कलाई चलाउन सक्दैन । बिर्तामोड नगरपालिकाले अब, वनसँगको समेत समन्वयमा निजी क्षेत्रलाई चलाउन दिनुपर्छ । जसले आम्दानी सुनिश्चित गर्छ । राम्रो पर्यटन गन्तव्य बन्न सक्छ । स्थानीयलाई रोजगारीको समेत ग्यारेन्टी हुन्छ । पार्कमा व्यर्थै लगानी नगरौं । हरेक वर्षको लगानी, वेअर्थ भइसकेको छ । यसैले अब, लगानी रोकेर निजी क्षेत्रसँग आवश्यक प्रक्रिया अघि बढाएर सञ्चालनको वातावरण तयार गरौं ।

शेयर गर्नुहोस :

108
Shares