सम्पादकीय
मुलुकमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने तयारी भइरहेको छ । जेनजी आन्दोलनपछिको बनेको सरकारले प्रतिनिधिसभा विघटन गरेको थियो । जनताले पाँच वर्षका लागि निर्वाचित गरेको संसदलाई संविधानको बाटो बाहिरबाट विघटन गरिएको थियो । जेनजी आन्दोलनले तत्कालिन सरकारलाई अपदस्त गरिदियो । नेपाली सेनाको समन्वयमा तत्कालिन परिस्थितिलाई मध्यनजर गर्दै असंवैधानिक प्रक्रियाबाट नयाँ प्रधानमन्त्रीका रुपमा सुशिला कार्कीलाई नियुक्त गरियो । कार्की सरकारलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार नियुक्त गरेका हुन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन हुँदै आएका थिए ।
जेनजी आन्दोलन पछि बनेको सरकारले सबै प्रकारका जटिलताहरुको गाँठो फुकाउने अपेक्षा थियो । सहजै तोकिएको समयमा निर्वाचन गर्न सक्छ भन्ने आशा पनि थियो । तर, सरकारको गतिविधि सजिलोसँग अघि बढ्न सकेको छैन । फागुन २१ को प्रतिनिधिसभाको निर्वाचन तोकेअनुसार हुने संभावना देखिदैन । सरकारले निर्वाचन गर्ने भनेर मात्र हुदैन । निर्वाचनसँग मुख्य सरोकार राख्ने राजनीतिक दलहरु नै निर्वाचन हुने कुरामा ढुक्क छैनन् । पछिल्लो समय सरकार समेत दलहरुलाई देखाएर निर्वाचन समयमा हुन नसक्ने संकेत गरिरहेको छ । सरकार चलाउन सबैको साथ सहयोग चाहिन्छ । त्यो सहयोग अहिलेको सरकारले पाएको छैन । विगतमा पनि सरकारले सहयोग नपाएकै कारण काम गर्न सकेका थिएनन् ।
विस्तारै मुलुकमा प्रतिनिधिसभा पुनस्र्थापनाको माग बलियो बन्दै गइरहेको छ । ठुला दलहरु पुनस्र्थापनाको रिट लिएर सर्वोच्च गइसकेका छन् । त्यो मागलाई अन्य दलहरुले पनि सहयोग गर्ने क्रम बढिरहेको छ । संसदीय व्यवस्थामा गैरसंवैधानिक बाटोबाट बनेको सरकारले निर्वाचन गर्न सक्ने संभावना कम नै छ । किनभने, यो सरकारलाई राज्य अन्य संरचनाहरुले जिम्मेवार पूर्वक साथ दिन पनि सक्दैनन् । त्यसैले संविधान विपरित संसद् विघटन भएको हुँदा पुनस्र्थापना हुन जरुरी छ । संसद् पुनस्र्थापना गरेर संविधान संशोधन गरी नयाँ बन्ने सरकारले मात्र निर्वाचन गर्न सक्छ । यो सरकारले फागुन २१ मा निर्वाचन गर्न सक्दैन । मुलुकमा निर्वाचनको माहोल पनि छैन । डर, त्रास र असुरक्षाकाबीच भयरहित निर्वाचन संभव छैन । यहि परिस्थितिका बीच मुलुकले समेत निकास पाउन सक्दैन । तोकिएको समयमा निर्वाचन गर्न नसकेपछि नैतिकताका हिसावले यो सरकार असफल सावित हुने छ । त्यसैले निकासका लागि समयमै संवैधानिक बाटो अपनाउनु नै उपयुक्त हुनेछ ।







प्रतिक्रिया