सम्पादकीय
कृषि क्षेत्र भन्नासाथ प्रायःमान्छेहरु हर्षित भएको पाइदैन । के गर्नुहुन्छ पेशा भन्दा कृषि भन्ने जवाफ आयो भने प्रश्न राख्नेले मुख खुम्च्याउँछ । कृषिमा संभावना नै छैन, दुखै दुख मात्र छ भन्ने भाष्य स्थापित छ । कृषिमा भविष्य नै छैन भन्नेहरु अधिकांश छ । त्यहि चुनौतिका बीच कृषिमा भविष्य खोजिरहेका छन्, बिर्तामोडका प्रदिप खनाल । जसले कृषि गर्छुभन्दा उर्जा पनि दिन्छन् । कृषिमा करोडको व्यापार गर्ने स्थानीय किसान प्रदिप खनाल कृषिक्षेत्रकै लागि प्रेरणा हुन् । तरकारी खेतीमा जमेका खनालको मेहनत र परिश्रमले स्थानीय कृषि र किसानको आत्मविश्वास बढाउन मद्दत गरिरहेको छ । बिर्तामोड–७ का किसान प्रदिप खनालको तरकारी खेती लोभलाग्दो छ । त्यो खेती हेर्दा खेतीमा लागौंलागौं बनाइदिएका छन् ।
विगत ८ वर्षदेखि तरकारी खेती गर्दै आएका खनालको १६ विघामा तरकारी खेती छ । १५ विघामा फलफूल छ । वीउ उत्पादन गरिरहेका छन् । त्यसैले पनि उनी कृषि क्षेत्रका लागि समाजमा प्रेरणाको स्रोत बनेका छन् । बजारको अनिश्चितताले धेरै किसान खेती छोड्न बाध्य छन् । उनले ति सबै चुनौति सामना गर्दै निरन्तर उत्पादन, रोजगारी र आम्दानी बढाउँदै अघि बढिरहेका छन् । यसको प्रमुख कारण हो, बिर्तामोडमा व्यवस्था गरिएको तरकारी विक्री केन्द्र । बिर्तामोड नगरपालिकाको किसानमैत्री नीति र बजारको सुनिश्चितताका कारण उत्पादित कृषिवस्तु विक्रीमा समस्या छैन । वर्षेनी तरकारी उत्पादनमा नगरपालिकाले समेत प्रोत्साहन गरिरहेको छ ।
बिर्तामोड नगरपालिकाले ‘पारीको होइन, बारीको खाउँ’ भन्ने नारासहित सुरु गरेको तरकारी बिक्री केन्द्रले किसान र उपभोक्ताबीचको दूरी घटाएको छ । खनालजस्ता किसानले उत्पादन गरेको तरकारी सीधै बिक्री केन्द्रमा पुग्दा न त बिचौलियाको मार सहनुपरेको छ, न त मूल्यको चिन्ता छ । यसले किसानलाई उत्पादन बढाउन थप हौसला दिएको छ । उनले गरिरहेको काम आत्मविश्वासको उपज भन्न सकिन्छ । सक्दिन, हुदैन , के होला र भन्ने मानसिकता भएपछि मात्र हो, असफल हुने । मेहनत गर्नेहरुका लागि आफ्नै माटोमा ‘सुन’ फल्नेछ । खेतीलाई व्यवसायमा रूपान्तरण गर्दा रोजगारी सिर्जना भएको छ । गत वर्ष मात्रै करोडौँको कारोबार हुनु र घाटामा परेको बेला नगरपालिकाबाट राहत पाउनु सकारात्मक छ । यि र यस्ता किसानहरुलाई राज्यको तर्फबाट सधैं सहयोग गर्न आवश्यक छ । कृषिमा काम गर्न इच्छुकहरुलाई पनि सहयोगको खाँचो छ । तरकारी खेतीमा अथाह संभावना प्रस्तुत गरेका खनालबाट सबैले सिक्न जरुरी छ ।







प्रतिक्रिया