सम्पादकीय
चिसो र हुस्से मौसममा यात्रा गर्न कठिनाई हुन्छ । विशेषगरी बिहान र बेलुकाको समयमा लाग्ने बाक्लो हुस्सेले राम्रोसँग बाटो देख्न सकिन्न । जसका कारण सवारी साधन चलाउन कठिन हुन्छ । सडक नदेखिनु, अगाडिको सवारीको दूरी अनुमान गर्न नसक्नु र ट्राफिक संकेत स्पष्ट नदेखिनु जस्ता समस्याले यो मौसममा दुर्घटनाको जोखिम अत्यधिक हुन्छ । राजमार्ग, ग्रामीण सडक र सहरी क्षेत्रमा हुस्सेका कारण साना–ठूला दुर्घटनाका घटना हरेक भइरहेको छ । धेरैजसो दुर्घटनाको कारण तीव्र गति, लापरवाही, प्राविधिक खराबी तथा मौसमअनुकूल सावधानी नअपनाउनु नै हो । यस्तो अवस्थामा सवारी चालक र यात्रु दुवै सचेत हुनु अत्यन्त आवश्यक छ ।
यस्तो मौसममा चालकले हेडलाइट, फग लाइट र ब्रेक प्रणाली ठीक अवस्थामा छन् कि छैनन् भन्ने सुनिश्चित गर्नुपर्छ । हुस्सेमा सवारीको गति कम राख्नु, सुरक्षित दूरी कायम गर्नु र ओभरटेक नगर्नु जस्ता आधारभूत नियमको पालना अनिवार्य हुनुपर्छ । यात्रुले पनि चालकलाई सावधानी अपनाउन आग्रह गर्नु र आवश्यक परे यात्रामा ढिलाइ स्वीकार गर्ने धैर्य राख्नुपर्छ । यसका साथै, राज्य पक्षले सडक सुरक्षा अभियान, चेतनामूलक कार्यक्रम र मौसमअनुसार ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्छ । प्रविधिको प्रयोग गर्दै सूचना प्रणाली सुदृढ गरेमा जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
हुस्से मौसममा सुरक्षित यात्रा सम्भव छ । त्यसका लागि सबै पक्ष जिम्मेवार र सजग बनेर अघि बढ्नुपर्छ । केहि देनिदेखि बाक्लो हुस्सेका कारण आवतजावतमा कठिनाई भइरहेको छ । विशेष गरि विहान र बेलुकाको समयमा हिडडुल गर्न जोखिम छ । अगाडिबाट आइरहेको सवारी राम्रोसँग देखिदैन । जसले दुर्घटना निम्त्याउन सक्छ । अगाडिको भागमा राम्रोसँग ठम्याउन सकिएन भने दुर्घटना हुन्छ । दुर्घटनाको जोखिमलाई ख्याल गरेर यतिवेला ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गर्नुपर्छ । चेकजाँच गर्दै चालक र पैदल यात्रीहरुलाई सजग रहन आग्रह गर्नुपर्छ । यदि नागरिक तहमै सचेत गराउन सकियो भने दुर्घटनालाई केहि मात्रामा न्यूनिकरण गर्न सकिन्छ । आफ्नो ज्यान समेत सुरक्षित रहन्छ ।







प्रतिक्रिया