सम्पादकीय
देश विस्तारै निर्वाचनतिर जाँदैछ । निर्वाचन आयोग निर्वाचनको तयारी गरिरहेको छ । कार्यतालिका बमोजिम निर्वाचन आयोगले दलहरुलाई प्रक्रियामा सामेल गराइरहेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरुले बन्द सुचीमा उम्मेदवारहरुको नाम पेश गरेका छन् । आयोगले अन्य तयारीहरु पनि गरिरहेको छ । दलहरु उम्मेदवार छनौटमा लागिसकेका छन् । समानुपातिक पछि दलहरु प्रत्यक्ष उम्मेदवारहरुको नाम तयारीमा लागेका छन् । कसलाई कुन क्षेत्रबाट उम्मेदवार बनाउने भन्नेबारे दलहरुभित्र व्यापक छलफल पनि भइरहेको छ । निर्वाचनमय माहोलले दलहरुलाई समेत एक ठाउँमा ल्याउने काम गरिरहेको छ ।
भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको छ । बालेन रास्वपामा भित्रिने सहमतिले नेपाली राजनीतिमा चर्चाको विषय नै बनिरहेको छ । रास्वपाले बालेनलाई आगामी निर्वाचनपछि प्रधानमन्त्री बनाउने कागज नै गरेको छ । पार्टीभित्र दोस्रो बरियता दिने समेत सहमति भइसकेको छ । निर्वाचन हुनुभन्दा पहिले प्रधानमन्त्री कसलाई बनाउने भन्ने बारे सम्झौता हुनुले आश्चर्य बनाएको छ । यसलाई अहिले नै नकारात्मक रुपमा लिन हुदैन । तर, कुन स्वार्थबाट को–को कसरी मिलिरहेको छ भन्नेबारे आम नागरिक सचेत हुनुपर्छ । देशको स्वार्थ र कुनै स्वार्थ समूहको योजनालाई नागरिकले गहिरो ढंगबाट बुझ्नपर्छ ।
निर्वाचनको माहोल बन्दै गर्दा सबैले साथ सहयोग गर्नुपर्छ । देशलाई निर्वाचनकै माध्यमबाट निकास दिन सकिन्छ । निर्वाचनले देशमा नयाँ नेतृत्व चयन गर्ने हो । नयाँ नेतृत्व चयन गर्दा देश बचाउनेहरुलाई निर्वाचित गर्नुपर्छ । देशमा परिवर्तन ल्याउने र जनताको स्वतन्त्रताका लागि लडेकाहरुलाई मतदाताले मत दिनुपर्छ । देश बचाउने सन्दर्भमा हरेक मतदाताको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले जनताको एक मतमा देशको भविष्य जोडिएको हुन्छ । देशलाई कसले नेतृत्व गर्न सक्छ, जनताको खुशीका लागि कसले काम गर्न सक्छ । त्यसलाई बुझ्नुपर्छ । देशमा योगदान गरेकाहरु र योगदान गर्न आएकाहरुलाई राम्रोसँग अध्ययन गरेर निर्वाचित गराउनु मतदाताको दायित्व हो ।







प्रतिक्रिया