सम्पादकीय

पठन संस्कृति वर्ष घोषणा सकारात्मक प्रयास

पठन संस्कृति वर्ष घोषणा सकारात्मक प्रयास


सम्पादकीय

डिजिटल जीवनशैलीसँग जब विश्व जोडियो, तब पठन संस्कृति हराउँदै गयो । सामाजिक सञ्जालको बढ्दो प्रयोगले पाठ्यपुस्तकको बिक्री होस् वा पत्रपत्रिकाको प्रकाशन, ती सबै खुम्चिँदै गए । पढाइलाई ज्ञानभन्दा अङ्कसँग जोड्ने परीक्षा केन्द्रित शिक्षा प्रणालीको प्रभाव पनि पठन संस्कृतिमा देखियो । पठन अभ्यास केवल अङ्क प्राप्तिको सीमामा कैद भयो । सामाजिक सञ्जालमा देखिने छोटो भिडियो, रिल र स्टोरीले पठन अभ्यासलाई संकुचित बनाउँदै लग्यो । लामो लेख वा पुस्तक पढ्ने धैर्यताको अभाव हुन थाल्यो । पठन संस्कृति हराउनुका पछाडि अरु यावत कारणहरू होलान् । तर, त्यसलाई खोज्ने र पठन अभ्यासलाई निरन्तरता दिने सवालमा व्यक्तिगत वा संस्थागत पहलहरू भएनन् । पुस्तकालयमा समेत मानिसको पहुँच कम हुँदै गयो । इच्छाशक्तिको अभाव देखियो ।

पठन अभ्यास हराउँदै गएको पृष्ठभूमिमा झापामा एउटा सकारात्मक अभियान प्रारम्भ भएको छ । १०० भन्दाबढी संस्थाहरूको सहभागितामा पठन अभ्यासलाई संस्कृतिका रूपमा स्थापित गर्ने पवित्र उद्देश्यका साथ अभियान घोषणा गरिएको छ । जसको अगुवाई अभियानका लागि अभियन्ता, विरता रिडर्स, रिडर्स अभियान नेपाल, झापाली साहित्य समाजले गरेको हो । सन् २०२६ लाई पठन संस्कृति वर्षका रुपमा मनाउने घोषणा आफैँमा परिवर्तनको एउटा संकेत हो । सामूहिक र साझा प्रयत्नले एउटा परिणाम अवश्य दिन्छ । पढ्ने बानीको विकास गर्न सकियो भने मानिसको ज्ञानको दायरा अझै फराकिलो हुन्छ भन्नेमा दुई मत छैन । सानो उमेरदेखि पढ्ने बानी बसाल्ने हो भने ज्ञान, सीप र क्षमताको विकासमा नयाँ आयाम थपिन्छ ।

पढ्नका लागि निश्चित समय छुट्याइनु पर्छ । यसका लागि हरेक घरबाट सुरुवात गर्न सकिन्छ । पठन संस्कृतिको विकासका लागि किताब उपहार दिने संस्कारलाई विकास गरिनु पर्छ । प्रकाशित किताबहरूका विषयमा सामूहिक चर्चा परिचर्चा कार्यक्रमले समेत पठन संस्कृतिको विकास गर्न सहयोग गर्छ । मुख्य कुरा पुस्तकलाई जीवनसँग जोड्ने शैलीको विकास चुनौतीको विषय हो । विकसित भएको डिजिटल प्लेटफर्मलाई माध्यम बनाउने हो भने पनि पठन संस्कृतिको विकास हुन सक्छ । डिजिटल प्लेटफर्मलाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्रै बुझ्ने विकसित संस्कार अन्त्य हुनुपर्छ । हरेक विद्यालयले पठन संस्कृति प्रवद्र्धन कार्ययोजना बनाएर लागू गर्ने हो भने पनि अहिलेको परिस्थिति फेरिन सक्छ । पठन संस्कृति विकासमा सामाजिक संस्था र स्थानीय सरकारले समेत आफ्नो साझा प्रयास र प्रयत्नलाई जारी राख्न सक्छन् ।

शेयर गर्नुहोस :

27
Shares