मुख्य समाचार

मानवसेवा आश्रमद्वारा समुदाय लक्षित मनोपरामर्श सेवाकेन्द्र सञ्चालनमा

मानवसेवा आश्रमद्वारा समुदाय लक्षित मनोपरामर्श सेवाकेन्द्र सञ्चालनमा


बिर्तामोड । मानसिक स्वास्थ्य सेवालाई समुदायको सहज पहुँचमा पु¥याउने उद्देश्यसहित मानवसेवा आश्रमले समुदाय लक्षित मनोपरामर्श तथा मनोवैज्ञानिक सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । सेवाकेन्द्रको बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

मानवसेवा आश्रमले नेशनल प्रोग्राम सेन्टरका निर्देशक तथा विगत दुई दशकदेखि मानसिक स्वास्थ्य क्षेत्रमा क्रियाशील डा. सुशील कँडेलको नेतृत्व र सहकार्यमा उक्त सेवाकेन्द्र सञ्चालनमा आएको हो। उद्घाटन कार्यक्रममा बोल्दै डा. कँडेलले नेपालमा मानसिक स्वास्थ्य समस्याको अवस्था दिनानुदिन गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको समयमै उपचार, परामर्श र व्यवस्थापन अपरिहार्य रहेको बताउनुभयो ।

डा. कँडेलले आश्रममा आश्रित मानसिक रोगी व्यक्तिहरूलाई आजीवन औषधिमा निर्भर बनाउने सोचभन्दा माथि उठेर उपचारपछि आत्मनिर्भर बनाउँदै पारिवारिक पुनर्मिलन गराउनु नै सेवाकेन्द्रको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो । उहाँले आगामी १५ वर्षभित्र आमाबुवाहरू आश्रमको शरण लिन नपर्ने अवस्था सिर्जना गर्ने दीर्घकालीन सोचसहित यो सेवा सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले उक्त सेवालाई मानवसेवा आश्रमप्रतिको उपहारका रूपमा समर्पण गरिएको बताउँदै आश्रमसँग सम्बन्धित व्यक्तिहरूलाई निःशुल्क तथा सर्वसाधारण नागरिकहरूलाई सशुल्क रूपमा सेवा प्रदान गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका उप–प्रमुख सुशीला अधिकारीले सेवाकेन्द्र सञ्चालनप्रति खुसी व्यक्त गर्दै नगरपालिका र नगरबासीको तर्फबाट आवश्यक सहकार्य र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। उहाँले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै समुदायस्तरमै सेवा विस्तार गर्नु समयसापेक्ष र प्रशंसनीय कार्य भएको उल्लेख गर्नुभयो ।

उद्घाटन कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, समाजसेवी, चिकित्सक, मानवसेवा आश्रमका अभिभावक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यस सेवाबाट मानसिक स्वास्थ्य समस्याबाट ग्रसित आश्रितका साथै सर्वसाधारण नागरिकहरूले समेत मनोपरामर्श सेवाको लाभ लिन सक्नेछन्। सेवामार्फत संकलित सम्पूर्ण रकम मानवसेवा आश्रमको सेवा, संरक्षण तथा व्यवस्थापन कार्यमा सदुपयोग गरिने आश्रमले जनाएको छ । सेवाकेन्द्र प्रत्येक सोमबार र बिहीबार सञ्चालन हुनेछ ।

मानवसेवा आश्रमले विगत १३ वर्षदेखि नै सडकआश्रित, बेसहारा तथा मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिहरूको उद्धार, उपचार, पुनस्र्थापना तथा पारिवारिक पुनर्मिलनमा निरन्तर योगदान दिँदै आइरहेको छ । नयाँ सेवाकेन्द्र सञ्चालनसँगै आश्रमको मानवीय सेवामा थप आयाम थपिएको छ ।

शेयर गर्नुहोस :

27
Shares