लक्ष्मी उप्रेती
मेचीनगर । देशमा रोजगारीका पर्याप्त अवसर नहुँदा दैनिकजसो हजारौँ युवा वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य छन् । बेरोजगारी समस्या बढ्दै जाँदा नेपाली युवा युवती रोजगारी, अध्ययन तथा अन्य अवसरको खोजीमा विदेशी भूमितर्फ पलायन हुने क्रम अझै तीव्र बनेको छ । युवापलायन रोक्ने प्रभावकारी नीति सरकारले लिन नसकेको भन्दै आलोचना पनि बढ्दै गएको छ ।
नेपालमा अहिले पनि हजारौँ शिक्षित युवायुवती बेरोजगार छन् । देशमै भविष्य नदेखेका धेरै युवाहरू विदेश जान बाध्य भएका छन् । देशका विमानस्थलहरूमा दैनिक देखिने भीडले पनि यो यथार्थ पुष्टि गर्छ । अधिकांश युवा जीविकोपार्जनका लागि विदेश जान बाध्य छन् भने केही शहरतिर पलायन भएका उदाहरण पनि प्रशस्तै छन् ।

यद्यपि झापाको मेचीनगर र आसपासका क्षेत्रमा भने केही युवाहरू गाउँघरमै बसेर विभिन्न सीपमूलक काम गर्दै स्वरोजगार बनेका छन् । कोही इलेक्ट्रिसियन, कोही प्लम्बर त कोही काठसम्बन्धी काम गरेर राम्रो आम्दानी गरिरहेका छन् ।
उनीहरूका अनुसार गाउँमै रोजगारीका अवसर सिर्जना गर्न सके दक्ष जनशक्ति स्वदेशमै प्रयोग गर्न सकिन्छ ।
मेचीनगर नगरपालिका–६ काँकरभिट्टाका सुजन श्रेष्ठ इलेक्ट्रिसियन र प्लम्बरको काम गरेर गाउँमै स्वरोजगार बनेका छन् । उनीजस्तै अन्य युवाहरू पनि विदेश जाने सोच त्यागेर गाउँमै काम गरेर आत्मनिर्भर बनेका छन् ।
काँकरभिट्टा कै राजीव काठसम्बन्धी काममा व्यस्त छन् । उनले डाइनिङ टेबल–कुर्सी, बक्स पलङ, आल्ना लगायतका आकर्षक फर्निचर तयार गर्छन् । साथै घर निर्माणसम्बन्धी काममा पनि उनी दक्ष छन् । मिस्त्री कामबाटै उनले दैनिक हजारौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यहाँका धेरै युवाहरूले गाउँमै बसेर मासिक २० देखि २५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेको उनीहरू बताउँछन् ।
राजीव गाउँमा झ्याल–ढोका बनाउनेदेखि सरकारी तथा गैरसरकारी कार्यालयका भौतिक संरचना निर्माणका काममा व्यस्त रहने गर्छन् । त्यस्तै धनबहादुर श्रेष्ठ पनि विद्युत् तथा खानेपानी जडानको काममा दक्ष छन् । गाउँघरमा नयाँ घर निर्माण हुनेबित्तिकै उनलाई कामका लागि बोलाइने गरेको छ ।
मनोजका लागि पनि सीप नै आम्दानीको मुख्य आधार बनेको छ। उनी एसी र वासिङ मेसिन जडानदेखि विद्युत् तथा खानेपानीसम्बन्धी काममा अनुभवी छन् । “मेहनत गर्न सके गाउँमै पनि रोजगारी सिर्जना गर्न सकिन्छ,” मनोज भन्छन्, “विदेशिनु भन्दा आफ्नो सीप प्रयोग गरेर आफ्नै माटोमा काम गर्नु राम्रो हुन्छ ।”
उनीसँगै काम गर्ने श्रवण कार्की पनि विदेश जानुभन्दा स्वदेशमै काम गर्न सकिने बताउँछन् । “विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै मेहनत गर्न सके रोजगारको कमी छैन,” उनी भन्छन् । मेचीनगर मात्र होइन, झापाका अन्य पालिकामा पनि धेरै युवाहरूले विभिन्न सीप सिकेर स्वरोजगारको बाटो रोजेका छन् । बेरोजगार युवाहरू अहिले बाख्रापालन, सिलाइकटाइ, दुना–टपरी उत्पादन, च्याउखेती, अचार उत्पादन, ढाका बुनाइ, व्युटी पार्लर सञ्चालन तथा झोला उत्पादनजस्ता काममा सक्रिय छन् ।
मेचीनगर–७ की ३५ वर्षीया चन्दा रिजाल च्याउखेतीमार्फत राम्रो आम्दानी गर्दै अन्य युवाका लागि प्रेरणाको स्रोत बनेकी छन् । उनले गाउँमै च्याउखेती गरेर वार्षिक तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन् । च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले यसलाई व्यवसायका रूपमा अघि बढाएको बताइन् ।
उनले सञ्चालन गरेको फर्ममा प्याकेजिङका बेला ७–८ जनाले रोजगारीसमेत पाउने गरेका छन्। दैनिक च्याउ टिप्ने, बजारसम्म पु¥याउने र फर्मको हेरचाह गर्ने काममै उनको दिन बित्ने गरेको छ । स्थानीय सरकारले प्रदान गर्ने तालिमले पनि आफूलाई धेरै सहयोग पुगेको उनले बताइन् ।
मेचीनगर–८ की लक्ष्मी धिमालले पनि तालिमबाट प्राप्त सीप प्रयोग गर्दै ‘लिजा एण्ड एमी व्याग झोला लघुउद्यम’ सञ्चालन गरिरहेकी छन् । सिलाइकटाइ तालिमपछि उनले आफ्नै व्यवसाय सुरु गरेर आत्मनिर्भर बन्न सफल भएको बताइन् ।
महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीपमूलक तालिमले महत्वपूर्ण भूमिका खेलेको स्थानीयको भनाइ छ । सिलाइकटाइ लगायतका तालिमले घरमै सीमित महिलाहरूलाई व्यवसाय सञ्चालन गर्न प्रोत्साहन दिएको बताइन्छ । मेचीनगर–६ काँकरभिट्टास्थित ‘प्रंसा टेलर्स’ का सञ्चालक भवानी खड्का सिलाइ कटाई तालिमबाट विशेषगरी महिलाहरू लाभान्वित भएको बताउँछन् । उनका अनुसार तालिम लिएपछि धेरै महिलाहरूले व्यक्तिगत फर्म दर्ता गरेर उत्पादनमूलक काम सुरु गरेका छन् ।
समाजशास्त्री बैकुण्ठ कार्की युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्न तीनै तहका सरकारले पहल गर्नुपर्ने बताउँछन् । उनका अनुसार स्थानीय सम्भावनाको पहिचान गरी व्यवसायिक विकास गर्न सके युवापलायन रोक्न सकिन्छ । त्यस्तै, केही महिनाअघि खाडी मुलुक कतारबाट फर्केका गोविन्द निरौला अहिले कृषि पेशामा लागेका छन् । कृषि कर्मबाट खाडी मुलुकमा कमाएको भन्दा दुई गुणासम्म आम्दानी गर्न सफल भएको उनी बताउँछन् । उनका अनुसार व्यवसाय गर्न चाहने तर पूँजी अभाव भएका कारण धेरै युवाहरू विदेश जान बाध्य भएका छन् । स्थानीय स्तरमा रहेका सम्भावनालाई उपयोग गरी युवालाई रोजगारीका अवसर उपलब्ध गराउन आवश्यक रहेको उनले बताए ।
वैदेशिक रोजगारीका नाममा अझै पनि धेरै नेपाली दलालबाट ठगिने र विदेशमा कष्टकर परिस्थितिमा काम गर्न बाध्य हुने अवस्था रहेको भन्दै यस क्षेत्रमा सुधार आवश्यक रहेको उनको भनाइ छ । उनले सुधारका लागि भाषणभन्दा व्यवहारिक कदम आवश्यक रहेको बताए ।







प्रतिक्रिया