आर्थिक

भारतीय नीतिको कारण संकटमा नेपाली चिया व्यवसाय

भारतीय नीतिको कारण संकटमा नेपाली चिया व्यवसाय


झापा । चालु आर्थिक वर्षको चैत्रसम्ममा कुल निर्यातमा उत्कृष्ट १० अन्तर्गत चिया एक हो । यस अवधिसम्ममा नेपाललबाट कुल ४२ अर्ब ५९ करोड ९१ लाख ७८ हजार रुपैयाँबराबरको चिया निर्यात भएको छ ।

जसअनुसार भारतमा मात्रै एक अर्ब दुई करोड ६३ लाख रुपैयाँबराबरको चिया निर्यात भएको छ । यो नेपालको कुल चिया निर्यातको झन्डै दुई प्रतिशत हो । कुनै बेला चियाको मुख्य गन्तव्य भारत भए पनि अहिले भने यसबाहेकका दर्जनौँ मुलुकमा पनि नेपाली चिया निर्यात हुँदै आएको छ ।

पछिल्लो आठ दिन यता भारत सरकारले नेपाली चिया निर्यातमा ल्याब परीक्षणको व्यवस्थामा कडाइ गरेको छ । जसले गर्दा उत्कृष्ट १० निर्यातित वस्तुमध्येको चिया निर्यात पूर्ण रूपमा ठप्प छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पछिल्लो तथ्यांकअनुसार नेपालमा २० हजार ७६० हेक्टर हाराहारीमा चिया खेती हुँदै आएको छ ।

उक्त चिया खेतीबाट करिब दुई करोड ६९ लाख ८३ हजार १७५ किलोग्राम चिया उत्पादन हुँदै आएको बोर्डले जनाएको छ । सरकारले पनि विशेषगरी नेपालको पूर्वी भेगमा झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलामलाई चिया क्षेत्र घोषणा गरेको थियो ।

नेपालमा विशेषत तीन प्रजातिका चिया खेती गरिन्छ । आसामी, कम्बोडियाल र चिनियाँ प्रजातिको चियो उत्पादन हुन्छ ।

भारत सरकारले नेपालबाट निर्यात हुने चियामा वैशाख १८ (मे १, २०२६) देखि लागु हुने गरी शतप्रतिशत ल्याब परीक्षण गर्ने नयाँ नियम ल्यायो । भारतको संसदीय समितिको सिफारिसका आधारमा अन्य मुलुकबाट आयात हुने चियाको निगरानी र नियन्त्रण गर्ने नीतिअनुसार कडाइ गरेको जनाएको छ ।

जसअनुरुप भारतले अबदेखि नेपालबाट जाने हरेक चियाको पटकैपिच्छे पूर्ण ल्याब परीक्षण अनिवार्य थालेको छ । जबकि यसअघि चियाको निकासी जोखिममा आधारित परीक्षण व्यवस्थाबमोजिम हुने गर्दथ्यो ।

भारतले गुणस्तर नभएको चियाको वितरण रोक्न र आयातमा कडाइ गर्न भन्दै यो प्रावधान ल्याएको दाबी गरे पनि यसले नेपाली व्यवसायीलाई ठूलो आर्थिक भार र मानसिक तनाव दिएको छ ।

नेपाल चिया उत्पादक संघका पूर्वअध्यक्ष सुरेशकुमार अग्रवाल विगत १० दिनदेखि भारतले प्रत्येक ट्रकको छुट्टाछुट्टै ल्याब परीक्षण अनिवार्य गरेपछि नेपाली चिया उत्पादक–व्यवसायीहरू ठूलो समस्यामा परेको गुनासो गरे ।

उनका अनुसार, यसअघि नेपाली चियाले पाउँदै आएको प्राथमिकता वा सहुलियतपूर्ण व्यवहारको सट्टा अहिले थप सर्त र कडाइ गरिएकाले निर्यात प्रक्रिया प्रभावित भएको छ । उनी भन्छन्, ‘नयाँ व्यवस्थाअनुसार, निर्यातका लागि लगिएका प्रत्येक ट्रकबाट नमुना संकलन गरी परीक्षणका लागि कोलकाता वा सिलिगुडीस्थित आधिकारिक ल्याबमा पठाउनुपर्ने हुन्छ । उक्त परीक्षणको रिपोर्ट आउन १० देखि १५ दिनसम्म लाग्छ । रिपोर्ट नआउन्जेलसम्म चिया बिक्री गर्न पाइँदैन । यो नयाँ प्रावधानले व्यवसायीहरूलाई आर्थिक भार थपेको छ ।’

मित्तल टी स्टेटका निर्देशक समेत रहेका अग्रवालका अनुसार, एउटा नमुना परीक्षणका लागि करिब ११ हजार ७५० रुपैयाँ शुल्क बुझाउनुपर्छ ।

व्यवसायी अग्रवाल लागत जोखिम बढेको गुनासो गर्छन् । भारतको पानी ट्यांकी नाकामा गोदामको व्यवस्था नहुँदा ट्रकहरू सडकमै उभिनुपर्ने बाध्यता रहेको उनी बताउँछन् । एक ट्रकले प्रतिदिन आठदेखि १० हजार रुपैयाँसम्म ढिलासुस्ती शुल्क लिने गर्छन्, जसले गर्दा १० दिनमा झन्डै एक लाख रुपैयाँसम्म अतिरिक्त लागत बढ्ने उनले जानकारी दिए ।

सडकमा ट्रक रोकेर राख्दा वर्षाले चिया भिज्ने र चोरी हुने उच्च जोखिम रहेको व्यवसायीहरूको गुनासो छ । यदि कुनै व्यवसायीले चियालाई ‘बन्डेड वेयरहाउस’मा राख्ने गरी एउटा बन्ड पेपर साइन गरेर लैजान चाहेमा लैजान सक्ने व्यवस्था भए पनि रिपोर्ट नआएसम्म बिक्री वितरणमा भने रोक लगाइएको छ ।

यस्तै, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दिपक खनाल भारतले आफ्नो सरकारी प्रयोगशाला ‘फसाई’मा परीक्षण गरेर उत्तीर्ण भएपछि मात्रै चिया लैजान पाउने व्यवस्थाले नेपाली उत्पादन बिक्रीमा ठूलो असर परेको बताउँछन् ।

उनका अनुसार, यसअघि एकपटक गरिएको नमुना परीक्षणले १५ दिनसम्मका लागि काम गर्ने गरेकोमा, अहिले हरेक पटक निर्यात हुने चियाको छुट्टाछुट्टै नमुना परीक्षण गर्नुपर्ने नियम लगाइएको छ । जसले गर्दा चिया निर्यात प्रक्रियालाई खर्चिलो, झन्झटिलो र समय लाग्ने बनाएको छ ।

पहिलोपटकको ल्याब परीक्षणका लागि नेपाली करिब १८ हजार रुपैयाँ शुल्क लाग्ने गर्दछ । यदि, पहिलो पटकको परीक्षण सफल भएन र व्यवसायीले पुनः परीक्षणको माग गरेमा दोस्रो पटकको शुल्क बढाएर २८ हजार रुपैयाँ पु¥याइएको छ ।

चियामा गुणस्तर परीक्षणको बहानामा कडाइ गरेपछि नेपाली चिया व्यवसाय संकटमा पर्न थालेको व्यवसायीहरूको गुनासो बढेको छ ।

 

शेयर गर्नुहोस :

27
Shares