अम्बिका भण्डारी
झापा, ८ जेठ – मेचीनगर नगरपालिका(५ को एउटा साँघुरो र अँध्यारो कोठा, बाहिर जेठको चर्को घाम लागे पनि त्यो कोठाभित्र भने एउटा परिवारको ओइलाएको जिन्दगी छटपटाइरहेको छ । सत्ताइस वर्षकी विष्णुमाया राई ओछ्यानमा पल्टिरहनुभएको छ, हलचल गर्न नसक्ने अवस्थामा ।
हालै उहाँको दाहिने खुट्टा शल्यक्रिया गरेर फालिएको छ । पति अनिस राईले आफैँले पकाएर ल्याइदिएको जाउँलो उहाँ त्यही अँध्यारो कोठामा बसेर निल्ने चेष्टा गर्नुहुन्छ । घाउ अझै आलो छ, दुखाइ उत्तिकै टन्टनाउँदो । दिसापिसाब गर्नसमेत अरूकै सहारा चाहिन्छ उहाँलाई । उहाँको संसार अहिले त्यही एउटा सानो ओछ्यानमा खुम्चिएको छ ।

विष्णुमायाको परिवारमा पति अनिस, सासुआमा पवित्रा राई र पाँच वर्षको छोरा सुगम राई छन् । नजिकैको टोकला चिया बगानमा मजदूरी गरेर जीविकोपार्जन गरिरहेका उक्त परिवारमा एक वर्षयता विष्णुमायालाई क्यान्सर सङ्क्रमण पुष्टि भएपछि बज्रपात परेको छ ।
विष्णुमाया बिरामी हुनुअघि अनिसले ज्यालादारी मजदूरीको आर्जनबाट घर खर्च चलाउनुहुन्थ्यो । “पत्नी बिरामी भएपछि उपचार र घरधन्धामा लाग्नु परेकाले बगानमा मजदूरी गर्न जान भ्याइएको छैन”, उहाँले भन्नुभयो, “कहिले भद्रपुर र कहिले भरतपुर अस्पताल धाउँदाधाउँदै ठिक्क छ । काममा कतिखेर जानु रु”
विष्णुमायाको यो पीडादायी यात्रा डेढ वर्षअघि सुरु भएको थियो । जब उहाँको दाहिने घुँडामा एउटा अप्रत्याशित ठक्कर लाग्यो । “सामान्य चोट हो नि भनेर उपेक्षा गरिएको त्यही घाउ विस्तारै बल्झिँदै गयो, फैलँदै गयो । भद्रपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकहरूले क्यान्सरको आशंका गरे । अन्ततः भरतपुरको विपी कोइराला क्यान्सर अस्पतालले विष्णुमायालाई क्यान्सर भएको पुष्टि गर्यो”, अनिसले भन्नुभयो । उहाँका अनुसार दिनभरि मजदूरी गरेर कमाएको आम्दानीले सहज रूपमा जीविकोपार्जन भइरहेको थियो ।
अनिसले पुराना दिनहरू सम्झदै भन्नुभयो, “क्यान्सर लाग्यो भनेर डाक्टरले सुनाउँदा मेरा लागि आकाश खसेझैँ भयो । गरिबी त छँदै थियो, त्यसमाथि रोगले पनि हामीलाई पीर पार्यो ।” अनिसमाथि परेको बज्रपात यतिमा मात्र सीमित छैन । परिवारमा अर्को पनि ओछ्यान छ, जहाँ ४८ वर्षीया आमा पवित्रा राई हलचल गर्न नसक्ने गरी पल्टिरहनु हुन्छ । टोकला चिया बगानमा २५ वर्षसम्म रगत पसिना बगाएर अवकाश पाउने बेलामा आमालाई पक्षाघात ९प्यारालाइसिस० भएको उहाँले जानकारी दिनुभयो ।
एकातिर पक्षघातले थलिएकी आमा, अर्कोतिर क्यान्सरले खुट्टा गुमाएकी पत्नी । दुई जना गम्भीर बिरामीको स्याहार, उपचार र घरधन्धाको सम्पूर्ण भारी एक्ला अनिसको काँधमा छ । यही आँसुको भुमरीबीच पाँच वर्षीय छोरा सुगमको बाल्यकाल नखोसियोस् भनेर अनिसले उनलाई हेरचाहका लागि इलामको फिक्कलस्थित मावली घर पुर्याउनुभएको छ ।
सरकारी ऐलानी १३ धुर जग्गामा उभिएको अनिस परिवारको आकाश छेल्न असमर्थ झुपडी बर्खामा जतिबेला पनि चुहिन सक्छ । “वडा कार्यालयले विपन्न परिवार मानेर घरको छानोका लागि जस्तापाता दियो, तर भित्ता टाल्न बाँकी छ । छिमेकीहरूको श्रमदानमा बन्दै गरेको भुइँघरको टाटीबेरा नहुँदा त्यो उदाङ्गो छ । त्यही खुला र उदाङ्गो घरको एउटा छेउमा बिरामी आमा सुत्नुहुन्छ”, अनिसले भन्नुभयो ।
अस्पतालले विष्णुमायाको खुट्टा काट्यो, तर क्यान्सर शरीरभरि फैलिन नदिन तुरुन्तै ‘किमोथेरापी’ सुरु गर्नुपर्ने जनाएको छ । बिडम्बना, अनिससँग अब अस्पतालको शय्याको शुल्क तिर्ने पैसासमेत बाँकी छैन, त्यसैले उहाँले पत्नीलाई घर फर्काउन बाध्य हुनुभयो ।
“साथीभाइ, छिमेकी र दाताहरूले दिने एक(दुई सय रुपैयाँ जम्मा गरेर शल्यक्रिया ग¥यौँ, सबै पैसा सकियो”, विष्णुमायाको उपचारमा हालसम्म रु दुई लाख ५० हजार खर्च भएको जनाउँदै अनिसले भन्नुभयो, “अस्पतालले अब किमो लगाउने पैसा खोजेर ल्याउनु भनेको छ । तर, अब कहाँबाट पैसा जुटाउनु ? किमो चढाउन ढिलो भइसक्यो, पैसा नभएर अस्पताल जान सकिएको छैन ।”
यो सङ्कटको घडीमा अनिसको बलियो सहारा भनेकै उहाँका श्रमजीवी छिमेकीहरू हुन् । आफैँ चिया बगानमा ज्यालादारी गर्ने मजदूरहरूले आफ्नो गाँस काटेर भए पनि विष्णुमायाको उपचारका लागि एक(दुई सय रुपैयाँ चन्दा जुटाइदिएका छन् ।
“न उपचार गर्ने पैसा छ, न बिहान बेलुका खाने अन्न । यो परिवारको बिजोग भएको छ”, सिटी सफारी चलाउँदै आउनुभएका अनिसका छिमेकी कृष्ण विश्वकर्माले भन्नुभयो, “हामी छिमेकी पनि सबै मजदुर हौँ । तैपनि अलिअलि चन्दा उठाएर उपचारमा पठायौँ । खानका लागि चामल र दाल पनि सरसहयोग मागेरै ल्याइदिने गरेका छौँ ।”
मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विजय डालमियाले यो परिवारको कारुणिक अवस्था आँखाले देखेकाले आफूले सक्दो पहल गर्ने बताउनुभयो । “म आफैँ घरमा पुगेर बिरामीको अवस्था हेरेर आएँ, सक्दो पहल पनि गरिरहेको छु”, उहाँले भन्नुभयो, “शल्यक्रिया गरेको महिना दिन मात्र भएको छ, यस्तो बेला बिरामीलाई घरमा होइन, अस्पतालमा राख्न जरुरी छ । चिकित्सकले तत्काल किमो चढाउन भनेका छन् ।” गरिब भएकै कारण कसैले पनि उपचार पाउनबाट वञ्चित हुने अवस्था आउन दिन नहुने भन्दै उहाँले विष्णुमायाको जीवन रक्षाका लागि मन खोलेर सहयोग पुर्याउन सबैसँँग अनुरोध गर्नु भएको छ ।
सिटी सफारीको हर्न र चिया बगानको चहलपहल भइरहने मेचीनगरको यो कुनामा विष्णुमायाको जिन्दगीले एउटा अँध्यारो कोठाबाट सहयोगको प्रतीक्षा गरिरहेको छ । सहयोगको सानो हातले मात्र पनि यो परिवारको निभ्न लागेको आशाको दियोलाई पुनर्जीवन दिन सक्छ ।






प्रतिक्रिया