Banner news

बन्द रहेका ९९ चिया उद्योग खुले

बन्द रहेका ९९ चिया उद्योग खुले


इलाम – भारतले नेपाली तयारी चिया आयातमा कडाइ गरेपछि बन्द रहेका पूर्वका चिया उद्योग खुलेका छन्। भारतीय पक्षसँग कूटनीतिक पहल नगरेको भन्दै ९९ चिया उद्योगले बन्द घोषणा गरेका थिए।

उद्योग बन्द भएपछि सरकार, चिया उद्योग, किसान तथा श्रमिकका समस्याको दीर्घकालीन समाधान खोज्न गठित उच्चस्तरीय कार्यदललगायतले देखाएको चासोप्रति सकारात्मक आशा गर्दै खुलाइएको उद्योगीले जनाएका छन्।

सूर्याेदय अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसनले विज्ञप्ति जारी गर्दै उद्योग खुला भएको घोषणा गरेको छ। एसोसिएसनका ५३ उद्योग असार १ देखि र अन्य ४६ उद्योग असार ४ देखि बन्द थिए।

‘उच्चस्तरीय कार्यदलको सक्रियता र सूर्योदय नगरपालिकाको सकारात्मक पहल अनि सरोकारवाला निकायको निरन्तर सहकार्यप्रति हामी आभार व्यक्त गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल सरकार, स्थानीय सरकार तथा सम्बन्धित निकायले चिया क्षेत्रका समस्या समाधान गर्न देखाएको प्रतिबद्धता र सकारात्मक पहलबाट हामी उत्साहित एवं आशावादी भएका छौं।’

एसोसिएसनले सरकारी पहलले नेपाली चिया उद्योगको दीर्घकालीन हित, बजार विविधीकरण, गुणस्तर अभिवृद्धि तथा निर्यात प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको जनाएको छ।

‘उद्योगले गुणस्तरीय चियामात्र प्रशोधन गर्ने, किसान र किसानको समूहबाट सोझै उद्योगमा हरियो पत्ती ल्याउने वातावरण तयार गर्ने तथा किसानलाई प्रत्यक्ष मूल्य दिने वातावरण तयार हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘विषादीरहित र गुणस्तरीय चिया प्रशोधन गर्नुपर्ने र दीर्घकालीन समाधानको बाटो पनि यही भएको महसुस गरी सरकारको कार्यलाई आत्मसात् गरी अगाडि बढ्ने प्रतिबद्धता गरेका छौं।’

एसोसिएसन महासचिव गोपाल कट्टेलले सरकारले चिया व्यापारको दीर्घकालीन बाटो खोजिदिन्छ भन्ने आशा पलाएको बताए। ‘हामीले पटक–पटक गुहार मागिसकेका छौं, मागिरहेका छौं, अब चाहिँ चिया निर्यातको बाटो सहज हुन्छ कि भन्ने आशा छ,’ उनले भने, ‘सरकारले पुनः बेवास्ता गरे हाम्रो दबाब निरन्तर रहने नै छ।’

१ मे २०२६ मा भारतीय चिया बोर्डले नेपालबाट आयात गरिने चियामा स्टेन्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) लागू गरेको छ। यो अवधारणाअनुसार प्रत्येक गाडीमा लगिएको चियाको गुणस्तर परीक्षण अनिवार्य गरिएको छ।

एसओपी लागु गरिएपछि यसको रिपोर्ट आउन २० दिनभन्दा बढी लाग्ने, रिपोर्ट नआउञ्जेल बेच्न नपाइने, रिपोर्ट राम्रो आए बेच्न पाउने नत्र त्यही नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता नेपाली चियालाई छ।

एक पटक नमुना परीक्षणमा फेल भए पुनः ३ साताभन्दा बढी समय गाडी त्यहीं रोकेर, दोस्रो पटक त्यति नै शुल्क लिएरमात्र गुणस्तर परीक्षण गर्नेगरी कडाइ गरिएको उद्योगीको भनाइ छ।

शेयर गर्नुहोस :

81
Shares